काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई प्रहरीले पक्राउ गरेको छ । नेकपानिकट युवा जनस्वंयसेवकको तेश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न वली आइतबार विराटनगर जाँदै गर्दा राजबंशी चोक नजिकै उहाँ सवार प्राइभेट गाडि रोकेर प्रहरीले पक्राउ गरेको हो ।

उहाँसँगै नेकपाका पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ सहित स्थानीय नेता–कार्यकर्ताहरु पनि पक्राउ परेका छन् । पक्राउ गरिएका सबैलाई अहिले मोरङको तिनपैनीमा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिएको नेकपा श्रोतले जानकारी दिएको छ ।

यसैबिच खुल्ला जनसभालाई सम्बोधन गर्न गैरहेको वेला आफ्ना नेता–कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीले आपत्ति जनाउँदै बिनाशर्त रिहाईको माग गरेका छन् ।

यस गिफ्तारीको विरोधमा विराटनगरका विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनीकै क्रममा प्रहरीद्वारा बल प्रयोग गरी अरु १० जना पनि पक्राउ गरिएको छ । त्यस्तै सुनसरीबाट कार्यक्रममा भाग लिन विराटनगरतर्फ जाँदै गरेको चारवटा बसलाई मोरङको हात्तिमुढामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै विभिन्न ठाउँहरुबाट गरी ९ वटा बस प्रहरीले नियन्त्रणमा लिएको नेकपाको पुर्वी कमाण्ड कार्यालयले जनाएको छ ।

त्यसैगरी कार्यक्रममा सहभागी हुने आउने क्रममा जिल्लाका विभिन्न स्थान कानेपोखरी, वेलवारी, केराबारी विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवा लगायतका स्थानबाट प्रहरीले नेकपाका कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीले भने कार्यक्रममा सहभागी हुने आएकालाई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर