किन आउँदैछिन् भारतीय विदेशमन्त्री सुष्मा स्वराज ?

किन आउँदैछिन् भारतीय विदेशमन्त्री सुष्मा स्वराज ?

काठमाडौं । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको भारतकी विदेशमन्त्री सुष्मा स्वराज आकस्मिक रुपमा नेपाल भ्रमणमा आउने भएकी छन् । उनी विहीबार (१८ माघ) नेपाल आउन लागेकी हुन् । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार बन्न लागेको बेला हुन लागेको स्वराजको यो भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । स्वराजको भ्रमणलाई भारतीय विदेश मन्त्रालयले द्विपक्षीय भेटघाटको परम्पराको रुपमा व्याख्या गरेपनि अब बन्ने सरकारलाई आफ्नो स्वार्थनुकूल निर्माण गर्ने उद्देश्यले उनको भ्रमण हुन लागेको राजनीतिक वृत्तमा चर्चा छ ।

एउटा सरकार विदा भएर अर्काे सरकार बन्न लागेका बेला हुन थालेको स्वराजको भ्रमणलाई सरकारी अधिकारीहरुले नै अस्वभाविक रुपमा हेरेका छन् । उनी भावी एमाले नेतृत्वको सरकारसँग सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दूत बनेर नेपाल आउन लागेको बताइएको छ ।

एमाले अध्यक्ष केपी ओली नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै रहेको अवस्थामा स्वराज नेपाल आउन लागेकी हुन् । भ्रमणका क्रममा नेपाल–भारतबीचको साझा चासो, आपसी हित र सम्बन्धका विषयमा स्वराजले राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भारतीय विदेशमन्त्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष केपी ओलीलाई दुई पटक सम्म टेलिफोन गरेर प्रधानमन्त्रीका लागि अग्रिम शुभकामना दिएका थिए । भारतीय राजदूत मञ्जितसिंह पुरीले ओलीलाई पटक पटक भेटेर मोदीसँग सम्बन्ध सुमधुर बनाउन भूमिका खेलेका थिए । ओलीले उपचारको क्रममा बैंकक गएका बेला पनि रअका प्रमुखसँग भेटभघाट गरेपछि ओलीलाई मोदीले फोन गरेर प्रधानमन्त्रीको रुपमा दिल्लीमा स्वागत गर्न आफू आतुर रहेको कुरा बताएका थिए ।

भारतीय पक्षले विरगन्जको छपकैयामा ५० विघाभन्दा बढी नेपाली भूमि अतिक्रमण गर्दा पनि एमाले–माकेले कुनै प्रतिक्रिया दिएका छैनन् । पछिल्ला यी घटनाक्रमको विश्लेषण गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले भन्नुभएको छ, “भारतले ओलीलाई नयाँ एजेण्टको रुपमा प्रयोग गर्न खोजिरहेको छ ।”