भैरहवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व

भैरहवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व

भैरहवा, १४ माघ । भैरहवा भन्सारले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा झण्डै १२ प्रतिशत कम राजश्व संकलन गरेको छ । राजस्व संकलनको गती यही रहे बिभागले दिएको बार्षिक लक्ष्य पुरा गर्न भैरहवालाई मुस्किल पर्नेछ ।

भन्सार विभागले पुस मसान्तसम्म भैरहवा भन्सारलाई ३७ अर्ब ४६ करोड १२ लाख राजश्व असुलीको लक्ष्य दिएको थियो । तर भैरहवाले सो अवधीमा लक्ष्य भन्दा साढे ४ अर्ब कम राजश्व संकलन गरेको छ । कार्यालयले पौष मसान्तसम्म ३३ अर्ब ४ करोड ९९ लाख राजश्व संकलन गरेको हो । जुन लक्ष्यको ८८ दशमलब २३ प्रतिशत हो ।

चालु आर्थिक बर्षकालागि बिभागले भैरहवालाई ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकेको छ । तर आर्थिक बर्षको ६ महिनामा तोकिएको लक्ष्यभन्दा करिब साढे ४ अर्ब कम राजश्व संकलन भएपछि बार्षिक लक्ष्य पुरा नहुने संकेत देखिएको हो । गत आर्थिक बर्ष २०७३÷०७४ को पुस मसान्तसम्म ३४ अर्ब १८ करोड ७१ संकलन भएको थियो ।

गत बर्षको तुलनामा सवारी साधनको आयातमा कमी आउँदा त्यसको असर राजश्व संकलनमा परेको भैरहवा भन्सारका सूचना अधिकृत कलिराम पौडेलले बताए । आयातमा आएको कमीसंगै अघिल्लो बर्षको तुलनामा यो बर्ष लक्ष्य बढी तोकीएकाले पनि ६ महीनामा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको सूचना अधिकृत पौडेलले बताए । उनका अनुसार पोहोरको तुलनामा यो बर्ष जीप, कार, भ्यान जस्ता सवारी साधनको आयात घटेको छ ।

भन्सारको तथ्यांक अनुसार आबमा भन्सार शुल्कबाट १३ अर्ब ४५ करोड ६० लाख, मूल्य अभिबृद्धि करबाट १२ अर्ब ४७ करोड २५ लाख र अन्तशुल्कबाट ७ अर्ब १२ करोड १४ लाख राजश्व संकलन गरेको छ ।

असोज महिनामा मात्रै राजश्व लक्ष्य पुरा भएको छ । असोजमा लक्ष्यभन्दा १२ दशमलब ८९ प्रतिशत बढी राजश्व संकलन भएको छ भने साउन महिनामा लक्ष्यभन्दा ८.५९, भदौमा ५.६७, कार्तिकमा १८.५५, मंसिरमा २३.६७ र पुस महिनामा २३.५३ प्रतिशतले राजश्व संकलनमा कमी भएको छ । आयातको तुलनामा निर्यात नगन्य रहेको यो नाकाबाट यो बर्ष बिगतको भन्दा निर्यात केही बढेको छ । भैरहवा नाकाबाट अदुवा र सुठो,चोकर भुस, पिना, फापर कोदो र अन्य खाद्यान्न, जडिबुटी, रद्धी कागज, काँच र डण्डी ट्युबहरू, सेन्थेटिक यार्न, बोरा झोला जस्ता बस्तु निर्यात हुने गर्दछ ।