झर्रोटर्रो : ‘मुख्यमन्त्री फेशन शो रनिङ सिल्ड’

झर्रोटर्रो : ‘मुख्यमन्त्री फेशन शो रनिङ सिल्ड’

यतिखेर नेपाल मण्डलका सात प्रदेशमा ‘मुख्यमन्त्री फेशन शो रनिङ सिल्ड’का लागि म्याराथन दौड प्रतियोगिता चलिरहेको छ । यो खेलमा सूर्यछाप क्लव, गोलघेरे क्लव, मशालछाप क्लव र छाता क्लवले मुख्य रूपमा भाग लिएका छन् । यसमा चारतारे क्लव पनि तयारी अवस्थामा रहेको छ । सो क्लव अहिले रिजर्व फोर्सका रूपमा तैनाथ छ । यो प्रतियोगितामा सूर्यछाप र गोलघेरे क्लवका बिचमा झगडा परेर रिङ आउट भएका खण्डमा चारतारे क्लवलाई च्याखे परेर प्रथम हुने झिनो सम्भावना पनि छ । त्यसैले चारतारे क्लव यतिखेर माखेदाउमा बसेको छ । उसले सूर्यछाप र गोलघेरेका बिचमा घम्साघम्सी परेर मारामार, कुटाकुट, लुछालुछ, चिथोराचिथोर परे हुन्थ्यो भन्दै विभिन्न मठमन्दीरमा पूजाअर्चना पनि गरिरहेको छ । गोलघेरे र सूर्यछापका धावकहरूलाई उकास्ने, फकाउने र मच्चाउने काममा पनि चारतारे क्लव लागिपरेको समाचार छ ।

यो ‘मुख्यमन्त्री फेशन शो रनिङ सिल्ड’ प्रतियोगितामा दुई नम्बर प्रदेशमा भने मशालछाप क्लव र छाताछाप क्लव मध्य एउटाले हात पार्ने कुरा सुनिश्चित देखिन्छ । त्यहाँ अरू क्लवहरू दर्शकका रूपमा मात्र खेलमा सहभागी हुनेछन् । बाँकी छ वटा प्रदेशहरूमा सूर्यछाप र गोलघेरे धावकहरूकै बर्चस्व रहेकाले ती दुई क्लवहरूले नै यी प्रदेशहरूमा मुख्यमन्त्री रनिङ सिल्ड हात पार्ने सुनिश्चित छ । तथापि यिनै दुई क्लवहरू नै म्याराथनमा भाग लिएको हुनाले प्रतियोगिता रोचक बनेको हो । अझ रोचक कुरा त एउटै क्लवका दुईदुई जनाले उक्त फेशन शो म्याराथनमा सहभागिता जनाएर मैदानमा उत्रिएको हुनाले खेल रौनक बनेको हो । यो प्रतियोगिता नेपालको इतिहासमा पहिलो पटक आयोजना गरिएको हुनाले पनि खेल रोचक र निकै चर्को प्रतिष्र्धायुक्त हुने देखिएको छ । पहिलो इतिहास कायम गराएर लोकसेवाका जाँच तथा विभिन्न हाजिरीजवाफ प्रतियोगिताहरूमा आफ्नो नाम समावेस गराउने होडबाजी भएकाले एउटै क्लवबाट पनि दुईतीन जना आकाङ्छी धावक मैदानमा उत्रिएका हुन् ।

यो प्रतियागितामा रेफ्रिको भूमिकामा छनोट भएका छन् मिस्टर सुप्रिमो र मिस्टर उखानप्रसाद । यी दुवै रेफ्रिहरूले नै ‘मुख्मन्त्री फेशन शो रनिङ सिल्ड’मा सहभागी धावकहरूलाई विजेता घोषणा गर्ने छन् । यिनीहरू छ वटा प्रदेशका लागि मात्र रेफ्रिमा छनोट भएका हुन् । उता दुई नम्वर प्रदेशका खेलमा रेफ्रिको भुमिकामा छ जना सण्ड, मुसण्ड, उग्रचण्डहरू भएकाले त्यहाँ अन्तर्राष्ट्रिय रेफ्रिले नै विजेता घोषित गर्ने छन् । यसरी अन्तर्राष्ट्रिय रेफ्रिका रूपमा छिमेकी गुज्जर भैयाका मुलुकबाट गुज्जर भैयाले तोकि पठाएका लैनचौर निवासी सरदार बाबुले छाया रेफ्रिको भूमिका निभाउने छन् । छाया रेफ्रिले नाम छनोट गरेर सिफारिस गरेपछि मात्रै छ जना सण्ड, मुसण्ड, उग्रचण्ड रेफ्रिहरूले लालमोहर लगाएर घोषणा गर्ने छन् । यसरी छनोट भएका विजेता धावकहरूले सिल्डको मुकुट पहिरिने छन् र ‘फेशन शो हिरो’ बन्ने छन् । उनीहरूले फेशन शोको मुकुट बिचमा कुनै भूकम्प वा ज्वालामुखी विष्फोट भई विघ्नबाधा उत्पन्न भएर क्लव तोडफोड नभएमा पाँच वर्षका लागि पहिरिने छन् ।

यसरी छनोट भएका ‘फेशन शो हिरो’हरूले पाँच वर्षसम्म फेसन प्रदर्शन गर्नका लागि आफ्नो सहयोगी टीम निर्माण गर्न लाग्ने छन् । सहयोगी टिमका सदस्यहरू पनि तुरुन्तै छनोट हुने छैनन् । त्यहाँ पनि अर्को ‘प्रदेश मन्त्री फेशन शो’ म्याराथन दौडको आयोजना गरिने छ । त्यसमा भने एउटै क्लवबाट पनि दर्जनौ धावकहरूले भाग लिने छन् । यो दोस्रो चरणको खेलमा रेफ्रिलाई परिक्रमा गर्ने, उनीहरूलाई प्रभु मानेर भजनकिर्तन गाउने, सके तत्क्षण नजराना चढाउने नभए पछि चढाउन प्रतिवद्धता जनाउने, सकेसम्म रेफ्रिको नातागोता भित्र परेको, नभए गोत्रसम्म मिल्नेहरू नै पहिलो छनोटको आधारमा छानिने छन् । त्यसपछि दोस्रो आधारमा आधिआकासका हकदारे धावकहरूलाई र तेस्रो आधारमा खैरे कुइरेका मुलुकतिरबाट दानदक्षिणा लिएर चलाइएका एनजिओ आइएनजिओहरूबाट उक्साइएका र पालित पोषित ‘दलित’ ‘सिमान्तकृत’ जाति जनजातिका एकादुई धावक छनोट हुने छन् । यो टीम सात प्रदेशमा फरकफरक सङ्ख्याको हुनेछ । सकेसम्म जमानाअन्सार जन्ती आकारका बनाइने छन् । किनकि यो पहिलो पटक प्रयोगमा ल्याइएको खेल भएकाले सङ्क्रमण कालीय शुत्रको प्रयोग हुनेछ । यसरी यो मुख्यमन्त्री तथा प्रदेशमन्त्री फेशन शो प्रतियोगिता यस अवधिका लागि समाप्त हुनेछ ।
१४ माघ २०७४