
काठमाडौं । काठमाडौंबाट झापा जाँदै गरेको सुमो जीप शनिबार बिहान धनुषामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा नै ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । बा ९ च ३३१४ नम्बरको सुमो जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ कमलापुलनजिकै शनिबार बिहान २ः३० बजे दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, दुर्घटनामा संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी दाहाल र मोरङकै पह्लाह न्यौपानेको ज्यान गएको छ । त्यसैगरी, खोटाङका ज्ञानबहादुर चौहान, मोरङका खेमकुमार रानामगर र पाँचथरकी प्रनिता राईको पनि दुर्घटनामा परी मृत्यु छ । घाइतेमध्ये १ को अवस्था गम्भीर छ भने अन्य ३ जना साधारण उपचारपछि घर फर्केका छन् । गम्भीर घाइते १ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । तीव्र गतिमा रहेको सुमो अनियन्त्रित भई दुर्घटना हुन पुगेको जनाइएको छ ।
त्यसैगरी, पाँचथरको याङ्वरक गाउँपालिका–३ मा पनि गएराति ११ बजे जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु हुन पुगेको छ । पाँचथरकै बारिबुङ्गबाट योयाङ्ग बजारतर्फ यात्रु लिएर जाँदै गरेको ग १ ज ६० ८५ नम्बरको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ६ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा याङ्वरक गाउपालिका–३ का १९ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङयाको मृत्यु भएको हो ।