
उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ एजेन्टको रुपमा प्रयोग गर्न खोजिरहेको बताउनु भएको छ । मंगलबार विहान क्रान्तिकारी पत्रकार महासंघ, जिल्ला समिति उदयपुरले जिल्लाको सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष गजुरेलले यस्तो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री हुनु अगावै पटक–पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओलाीलाई फोन गरेर भावी प्रधानमन्त्रीको रुपमा बधाई, शुभकामना दिनु र दिल्लीमा स्वागत गर्न आतुर छु भन्नु भनेको भारतले ओलीलाई नयाँ एजेन्टको रुपमा प्रयोग गर्न खोज्नु हो ।”
अध्यक्ष गजुरेलले एमाले र माके नक्कली वाम भएको टिप्पणी गर्दै वास्तविक कम्युनिष्ट र माओवादी भनेको क्रान्तिकारी माओवादी मात्रै रहेको दावी गर्नुभयो । पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले पार्टी एकताको लागि आव्हान गरेको प्रसंग कोट्याउँदै अध्यक्ष गजुरेलले नयाँ जनवादी क्रान्ति गर्न चाहने कम्युनिष्टहरुसँग मात्र पार्टी एकता गरिने स्पष्ट पार्नुभयो ।
एमाले र माकेले जनतामा कम्युनिष्ट र वामको रुपमा भ्रम छरेर चुनाव जितेको दावी गर्दै उहाँले भन्नुभयो, “एमाले माके नक्कली कम्युनिष्ट वाम हुन् । सक्कली कम्युनिष्ट र माओवादी त हामी मात्रै हौं ।”
पत्रकार सम्मेलनमा क्रान्तिकारी माओवादीका १ नं. प्रदेश सचिव अग्नीज्वाला, केन्द्रीय सदस्य मीनकुमार, अमर परियार, क्रान्तिकारी पत्रकार महासंघका सचिवालय सदस्य मधुकर थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
क्रान्तिकारी माओवादी उदयपुरको बैठक प्रशिक्षणका लागि गाईघाट पुग्नुभएका नेता गजुरेलले सोमबार जिल्लाका पार्टी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो । मंगलबार अर्थात् आज क्रान्तिकारी माओवादीको बैठक बसिरहेको छ । निर्वाचनको क्रान्तिकारी उपयोगको कार्यनीति पछि अहिले क्रान्तिकारी माओवादी तीन महिने संगठन तथा जनपरिचालन अभियानमा जुटेको छ । उदयपुर जिल्लाले पनि सबै गाउँपालिका, नगरपालिकाका वडासम्म संगठन विस्तार गर्ने योजना निर्माण गर्ने जिल्लाका नेताहरुले बताएका छन् ।