आन्दोलनले उग्र रुप लिएपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यु

आन्दोलनले उग्र रुप लिएपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यु

धनकुटा, ४ माघ । प्रदेश राजधानी माग गर्दै चर्किएको आन्दोलनले उग्र रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

बुधबार सरकारले प्रदेश एकको राजधानी विराटनगर तोकेपछि आक्रोशित भएका आन्दोलनकारीले बिहीबार क्षेत्रीय प्रशासन, मालपोत, हुलाक, उच्च अदालतमा तोडफोड गरेपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । ‘सरकारी कार्यालय, सवारी साधान एवं बजार तोडफोडका घटना हुन थालेपछि कफ्र्यु आदेश जारी गरिएको हो’, उनले भने ।

प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा घाइते हुनेको संख्या ७ पुगेको छ । आन्दोलनकारीले सरकारी कार्यालयमा लगाएको आगो निभाउन परिचालन भएको दमकल र को २ च ४३२ नम्बरको एम्बुलेन्स पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् । यसैगरी को १ ब १०६४ नम्बरको मोटरसाइकल एवं एसपी सुदीप राजभण्डारी सवार ना २ झ १३१४ नम्बरको सवारी साधन तोडफोड गरेका छन् ।