काठमाडौं, २८ पुस । सरकारले धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त घटनामा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । छिन्ताङमा २०३६ कार्तिक २७ गते पञ्चायतविरूद्ध सांस्कृतिक कार्यक्रममा सहभागीहरुलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
छिन्ताङ हत्याकान्डका बेला स्व. सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । यस काण्डका मुख्य दोषी थापा भनेर आरोप लगाएका छन् । यद्यापि थापाले यस काण्डबारे कुनै खुलासा गरेनन् ।
छिन्ताङ काण्डमा गोपालआनन्द राई, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, गम्भीरमान दर्जी, गंगाबहादुर राई, टंकबहादुर विश्वकर्मा, धनवीर दमाई, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, पुत्रमान थुलुङ, श्रीमाया राई, झगेन्द्र राई र रामकुमारी राई मारिएका थिए ।
घटनामा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने माग यसअघि पटकपटक उठ्दै आएको थियो । स्थानीय र राजनीतिक दलको दबावमा सरकारले छिन्ताङमा मारिएकाको स्मृतिमा शहीद पार्क निर्माण गरिसकेको छ । पार्कमा शहीदका अर्धकदका सालिक राखिएका छन् ।