

निर्वाचित राष्ट्रपति जर्ज विआ
काठमाडौं, १४ पुस । लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी जर्ज विआ निर्वाचित भएका छन् । विआले ६१ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति जोसेफ बोआकाइले ३८ प्रतिशत मत पाएका छन् ।
‘मेरा लाइबेरियाली साथीहरु, मैले सिङ्गो देशको भावनालाई गहिरो रुपमा महसुस गरिरहेको छु,’ चुनावी नतिजा घोषणा गरिएपछि सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन् ।
पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि मंगलवार फेरि भएको चुनावको थियो । विआ विजयी भएको समाचार प्रकाशमा आएपछि उनका समर्थकहरुले राजधानी मुनरोभियाका सडकमा खुसियाली मनाउन थालेका छन् ।
विआले वर्तमान राष्ट्रपति एलेन जोनसन सरलीफको स्थान लिनेछन् । उनी लाइबेरियाली संसद्को सिनेटर पनि हुन् । विआको जितसँगै दशकौंयता पहिलोपटक त्यहाँ लोकतान्त्रिक सत्ता हस्तान्तरण हुनेछ ।
गोराहरुको दासत्वबाट मुक्त, अमेरिकीबाट स्थापित लाइबेरियामा सन् १९४४ यता सहज ढंगले एउटा निर्वाचित राष्ट्रपतिबाट अर्कोमा सत्ता हस्तान्तरण हुन सकेको छैन ।

युवा अवस्थामा जर्ज
विआलेको खेल जीवन
ब्रिटेनमा चेल्सी र म्यानचेष्टर युनाइटेडका लागि केही समय खेलेका उनले युरोपका महँगा क्लबहरुमा खेलेका थिए । फिफा विश्व खेलाडी र प्रतिष्ठित बालन डोरबाट सम्मानित हुने उनी पहिलो अफ्रिकी फुटबल खेलाडी हुन् । उनले आफ्नो खेल जीवनमा थुप्रै ‘ट्रफी’ समेत जितेका छन् । उनी लाइबेरियाका फुटवल स्टार हुन् । सन् २००२ मा खेलबाट सन्यास लिएपछि विआ राजनीतिमा प्रवेश गरेका थिए ।