चिनियाँ मानव अधिकारवादी गान ८ वर्षको लागि जेल चलान

चिनियाँ मानव अधिकारवादी गान ८ वर्षको लागि जेल चलान

काठमाडौं, ११ पुस । चिनियाँ मानव अधिकारवादी वू गानलाई त्यहाँको अदालतले ८ वर्ष कारागारको सजाय सुनाएको छ । अनलाइनमा ‘सुपर भल्गर बुचर’को नामले प्रख्यात गानलाई त्यहाँको प्रशासनले सन् २०१५ मा सयौं वकिल तथा अधिकारवादीलाई नियन्त्रणमा लिए देखि हिरासतमा राखेको थियो । गानले सजाय सुनाइए लगत्तै उच्च अदालतमा न्यायको लागि अपिल गर्ने बताएका छन् । उनी अनलाइन मार्फत प्रशासनलाई लज्जित बनाउने कार्यका लागि चिनिन्छन् ।

चीनको तान्जीन प्रान्तको अदालतले उनलाई दोषी करार दिँदै गान अहिलेको राज्य संयन्त्रसँग असन्तुष्ट भई आफ्नै प्रकारको संयन्त्र बनाउन लागि परेको बताएको छ । यस्तै उनले झुठा सूचना प्रवाह गर्दै अनलाइन मार्फत अरुको बेइज्जत गरेको पनि बताएको छ ।

गानले राज्यका अधिकारीहरुद्वारा अन्याय गरिएकाहरुको मुद्दा लड्दै आएका थिए । यस्तै उनले अनलाइन मार्फत भ्रष्टाचारी अधिकारी विरुद्ध श्रंखलावद्ध रुपमा प्रचार समेत गर्ने गर्थे ।

२०१५ मा गरिएको ‘७०९ क्र्याकडाउन’ अन्तरगत पक्राउ गरिएका २ सयजना अधिकारवादी र वकिलहरु मध्ये उनी पनि एक थिए ।