चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक आइतबार चितवनको मंगलपुरमा सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको उक्त बैठकले पार्टी महासचिव मोहन वैद्य ‘किरण’ले प्रस्तुत गरेको ‘तात्कालिक राजनीतिक प्रस्ताव’ र ‘सङ्गठन तथा जनपरिचालन अभियान’ आंशिक परिमार्जनसहित पारित गरेको छ ।
तीन महिना अघि गत कार्तिकमा पोखरामा सम्पन्न भएको राष्ट्रिय सम्मेलनपछि बसेको यो दोस्रो बैठकमा प्रतिनिधि तथा प्रदेश सभा चुनावको समीक्षा र आगामी कार्यक्रमको बारेमा ब्यापक छलफल भएको थियो ।
बैठकले चुनाव उपयोगको नीति सापेक्षतामा सही भएको समीक्षासहित यसले निर्माण गरेको राजनीतिक वैचारिक धरातलमा सङ्गठन निर्माण, सुदृढीकरण र जनपरिचालन अभियान ठोस गरेको छ । पार्टी कमिटीहरुलाई चुस्त, दुरुस्त र क्रियाशील बनाउँदै विकसित नयाँ परिस्थिति अनुसार संघर्ष सञ्चालन गर्न सक्ने बनाउन यो अभियान तय गरिएको बताइएको छ ।
कार्यक्रम तालिका अनुसार पौष महिना तयारीको महिना हुने छ । यो महिनामा पार्टी, मोर्चा तथा जनवर्गीय संगठनहरुको वैठक बसी सिध्याइने छ र कार्यक्रम अनुसार अभियानकर्ताहरुको कार्य विभाजन गरिसकिने छ । माघ महिनामा अभियान सुरु गरी गाउँ नगरका जनता, कारखानाका मजदूर, विद्यालयका विद्यार्थीहुँदै महिला, जनजाति आदिवासी तथा सीमान्तकृत वर्गहरुको माझ अभियानकर्ताहरुलाई पु¥याइने छ ।
स्रोतका अनुसार केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारहरु समक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई लिएर ज्ञापनपत्र दिइने छ । फागुन महिनाभर संगठन सुदृढीकरण अभियानलाई तीब्रता दिइने बताइएको छ । त्यसै गरी चैत्र महिनामा विचार, संगठन र संघर्षको संश्लेषण गरिने छ ।

‘चुनाव उपयोगको नीति वस्तुवादी रहेको ठहर’
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को चितवनमा बसेको केन्द्रीय समितिको वैठकले उक्त पार्टीको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले प्रदेश तथा प्रतिनिधिसभाको निर्वान उपयोग गर्ने भनी लिएको नीति सापेक्षिक र वस्तुवादी रहेको ठहर गरेको छ ।
मोर्चाका नीति तथा कार्यक्रमलाई जनताका बीचमा लैजान सकिएको, जनपक्षीय वैकल्पिक ध्रुव निर्माण र जनपक्षीय नेतृत्व स्थापित गर्न सफल भएको, आफ्ना मत र विचार संरक्षण गर्न सफल भएको र संसदवादी खेल र हर्कतहरुलाई ठाउँका ठाउँ धज्जी उडाउन सफल भएको कुरालाई आधार मान्दै चुनाव उपयोगको नीति सही भएको समीक्षा गर्न पुगेको छ ।
बहुदलीय व्यवस्थाका हिमायति भन्नेहरुले गरेका बहुलवाद विरोधी हर्कतहरु, दलीय सिण्डिकेट र गठबन्धनले अबको सत्ताभ्यासलाई क्रमशः फासिवादीकरणको दिशातर्फ लगिरहेको सङ्केतको रुपमा समीक्षा गरिएको बताइएको छ । पैसाको खोलो बगाएर जनमत प्रभावित पार्ने कामले संसदीय व्यवस्थाको संसदवादीहरुद्वारा नै माखौल उडाइएको पनि बताइएको छ ।
जनताको उचित र सम्मानजनक मूल्यांकन गरिइनु पर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै क्रान्तिकारी माओवादीले एमालेमाकेको गठबन्धनलाई कम्युनिष्ट भनेरै भोट दिएको तर उनीहरु कम्युनिष्ट भने नभएको ठहरमा पुगेको छ ।

‘सङ्घर्षको नयाँ आधार निर्माण हुँदै गएको’
चुनाव उपयोगसँगै देशभर पुगेका नेता तथा कार्यकर्ताको अथक परिश्रम, जनताको परिवर्तनप्रतिको आकर्षण र समर्थनका कारण अब संसदीय व्यवस्थाका विरुद्धमा जुनसुकै बेला पनि उठ्न र चल्नसक्ने संघर्षको नयाँ आधार बन्दै गएको निष्कर्षमा क्रान्तिकारी माओवादी पुगेको बताइएको छ ।
देशमा समाजवाद स्थापना गर्ने अफवाह फैलाएर जनतामाझ भोट माग्न पुगेको ‘वाम गठबन्धन’ का नेता केपी ओलीले आफूहरु संघीताको विरुद्धमा जाने र आरक्षणको प्रावधानलाई खारेज गर्ने कुरा सार्वजनिक गरेपछि जनताले ‘बाघको छालामा स्यालको रजाइँ’ भन्ने उखानको तात्पर्यलाई बल्ल बुझ्न पुगेका छन् ।
गठबन्धनका अर्का नेता पुष्पकमल दाहालले कांग्रेसले पनि समाजवाद, एमालेले पनि समाजवाद र माओवादी केन्द्रले पनि समाजवाद भनेकाले अब सबै मिलेर समाजवाद निर्माणको दिशामा अघि बढ्ने बताएपछि उनले भनेको बाघ, बाख्रा र ब्वाँसाले चाहेको एकै खाले समाजवाद कस्तो रहेछ भनी जनता छक्क पर्न पुगेका छन् । यसलाई क्रान्तिकारी माओवादीले अब चल्ने जनपक्षीय संघर्षको आधार बन्दै गएको अथ्र्याउन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर