चितवन । नेकपा (क्रान्तिकारी माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा पार्टी महासचिव मोहन वैद्य किरणद्वारा प्रस्तुत गरिएको तात्कालिक राजनैतिक प्रस्तावमाथि आज ४२ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

अधिकांश केन्द्रीय सदस्यहरुले वर्तमान राजनैतिक परिस्थिति, संसदीय निर्वाचनको समिक्षा, आगामी कामको योजना लगायतका विषयहरुमा केन्द्रीत रहेर आफ्नो धारणा राखेका थिए । चुनावमा ब्यापक रुपमा पैसाको खोलो बगाई संसदवादीहरुले निर्वाचन परिणाम आफ्नो पक्षमा पारेको विश्लेषण गर्दै केन्द्रीय सदस्यहरुले देजमोले प्राप्त गरेको समानुपातिक र प्रत्यक्ष तर्फको मतलाई संगठित गरी क्रान्तिको तयारीलाई घनिभूत पार्ने योजना निर्माण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

बैठकमा सहभागी क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव कगेन्द्रका अनुसार ७५ जना केन्द्रीय सदस्य मध्ये बाँकी सदस्यहरुले शनिवार आफ्नो धारणा राख्नेछन् ।

चितवनको मंगलपुरमा जारी क्रान्तिकारी माओवादीको यस बैठकलाई आम पार्टी पंक्ति, कम्युनिष्ट क्रान्तिकारीहरु र देशभक्त शक्तिहरुले निकै महत्वका साथ हेरेका छन् ।

वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधानको विरोध तथा भण्डाफोर गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा रहेको यो पार्टीले आगामी योजना कस्तो ल्याउने हो भन्ने आमूल परिवर्तनका पक्षधर जनतामा चासो एवं जिज्ञासा रहेको देखिन्छ ।

मुलुकमा वाम गठबन्धनको रुपमा एमाले र माकेले ‘वाम’ र कम्युनिस्टको नाममा जनतालाई भ्रमित तुल्याई रहेको अवस्थामा सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुको नेतृत्व गर्दै जनवादी क्रान्तिका पक्षधर शक्तिहरुलाई गोलबन्द गर्ने अपेक्षा छरपस्ट अवस्थामा रहेका क्रान्तिकारीहरुले राखेको देखिन्छ ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्य बताउँछन्, ‘क्रान्तिकारी माओवादीले यस बैठकबाट सबै कम्युनिस्ट क्रान्तिकारी तथा नयाँ जनवादी क्रान्तिका पक्षधर शक्तिहरुलाई गोलबन्द गर्दै क्रान्तिको तयारी प्रक्रियालाई तीव्रता दिनेछ । संगठन विस्तार र सुदृढीकरणको अभियान चलाउँदै जनतामा जानेछ र कथित वामको खोल ओढेर एमाले–माकेहरुले जनतामा छरेको भ्रमलाई चिर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संघर्षलाई संगठित गर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर