निर्वाचन सेरोफेरो

निर्वाचन सेरोफेरो

भरतपुर ब्यारियर !

निर्वाचन मतगणना अवधिभर भरतपुर ब्यारियरको निकै चर्चा भयो । यो नयाँ नेपालमा भएको नौलो प्रयोग थियो । नयाँ र नौला कुराहरु विकसित हुँदै गरेका चेतनाका उपज मानिन्छन् । ती नौला प्रयोगहरु शासकहरुको शासकीय मानसिकताबाट सिर्जित हुन्छन् । ती प्रयोगलाई ‘चमत्कार’ भनिन्छ र लाटासोझा जनताद्वारा चमत्कारका रुपमा स्वीकार गरिन्छ ।

नेपालमा नौलो प्रयोगमा आएको भरतपुर ब्यारियरको कसैले मुक्त कण्ठले प्रशंसा गरे त कसैले निन्दा पनि गरे । कसैले गम्भीर समीक्षा पनि गरे । कसैले शान नै ठाने त कसैले अपमान । तर निर्वाचन मतगणना ब्यारियरभित्रै सम्पन्न भयो ।

उम्मेदवार र प्रतिनिधिहरुले तारजालीभित्र मतगणना गरिरहेका गणकहरुलाई चिडियाखाना भित्रका चिम्पान्जीहरुले जस्तै गरी चियाइरहेका थिए । विदेशी पर्यवेक्षकहरुको टोली मुसुमुसु हाँसेर हाम्रो समाज विकास र चेतनास्तरलाई गम्दै विचराको आँखाले धन्यवाद दिइरहेका थिए । जनयुद्ध कालमा सरकारी ब्यारेका तारजाली क्रस गर्न बुलेटले पनि नसकेको प्रचण्ड अनुभव व्यालेटमा पनि प्रयोग गरिएको भनी मतगणना हल थर्कने गरी हाँसोको फोहरा पनि छुट्ने गरेका थिए ।

आजको एक्काईशौं शताब्दीको विश्वमा विद्युतीय प्रणालीद्वारा ‘क्लिक’ गरी मत प्रदान गर्ने प्रचलन प्रयोगमा आइसकेको छ । तर नेपालमा भने विभिन्न चिन्हहरु अङ्कित कागज समाएर शुभ चिन्ह छ्याप्प लगाए मात्र मत प्रदान गरेको स्वीकार गरिन्छ । आजको विकसित प्रविधिको तुलनामा अरुलाई ‘एक्सपायर’ जस्तै भए पनि नेपाली शासकलाई यो ‘ओल्ड इज गोल्ड’ नै हो । तर पनि युवा पुस्तामा प्रविधिको प्रयोगबारे राम्रै बहस चल्दै नचलेको भने होइन ।

यस्ता कुरा गर्दै गर्दा समीक्षकहरुबाट के सम्म पनि आयो भने ‘मतदानको यो पुरानो प्रक्रिया भयो, तर तारजालीको बार चाहिं नयाँ । क्या गजबको चमत्कार र चामत्कारिक आविष्कारको प्रयोग । यो नयाँ प्रयोगका आविष्कारक नेपाली काङ्ग्रेस र माओवादी केन्द्रलाई नेपाली जनताको तर्फबाट धेरै धेरै धन्यवाद ! सुल्टो अगाडि जान नसके पनि उल्टो क्रमभङ्ग र छलाङ त मा¥यो ! क्या बात् ! एक्काईशौं शताब्दीको प्रजातान्त्रिक क्यारियर !’

खड्गको खड्को !

मत गणनाको क्रम सकिएपछि भरतपुर ब्यायिरको बाहिर अनेकन आँकलन खेरखार भए । कसैले भने ‘वाम सरकार भारतको चाहना’ हो । कसैले भने ‘होइन यो त बाहना’ हो । चाहना र बाहनाबीच हानथाप नै भयो । चाहना पक्षधरले तर्कमाथि तर्क गरे– ‘भारतले नेपालमा वाम सरकार गठन गरेर चीनसँगको सम्बन्ध सुधार गर्न चाहन्छ, केपी ओलीको सरकार ढलाएको समीक्षा गरेको छ दिल्लीले, वामको सरकार हुने भइसक्यो के गर्छ उसले ?’

अर्कोतिर बाहनाका पक्षधरहरुले तर्क गरे– ‘दिल्लीले केपी ओलीको काँधमा संविधान संशोधनको क्षेप्यास्त्र पड्काउँदै छ । कुरा यसो पनि हो, वामको जित, ओली आत्मघाती अस्त्रले सुसज्जित । दिल्लीले काङ्ग्रेसलाई एक्लै अघि बढाएर प्रजातान्त्रिक धार उजिल्याउन चाहन्छ । भारतले प्रचण्डलाई एक्लै खेल्न नदिई एमाले बनाउन चाहन्छ ।’

चाहनाका पक्षधर र बाहनाका पक्षधरहरुबीच हानथाप चलिरहँदा तारबारभित्रबाट बाहिर निस्कदै गरेका एक कर्मचारी बोले– ‘अबको डेढदुई वर्षपछि मध्यावधि निर्वाचन’ ।

बाम साथ, देव अन्तरघात !

देशमा वामपन्थी गठबन्धनले सजिलो बहुमत हासिल गर्दा वाम गठबन्धनका हस्ति भनिने नेता वामदेवले चुनाव हारे । हार्नुका पछाडि अनेकन लख काटिए । कसैले ‘वामघात’ भने त कसैले ‘देवघात’ । तर कसैले पनि जनघातका कुरा भने उठाएनन् । जनताले भोट त दिएकै हुन्, तर भित्रैकाले अन्तरघात गरे भन्ने सुन्नमा आयो ।

वामदेव आफैमा या त प्रधानमन्त्री या त नवनिर्मित पार्टीका अध्यक्ष भनी आँकलन गरिएका नेता पनि हुन् । उनी एमाले नेता हुन् तर प्रचण्डका निकै निकटस्थ पनि । वाम राजनीतिक बजारमा यो पनि हल्ला थियो कि प्रचण्ड नवनिर्मित पार्टीका अध्यक्ष र वामदेव गौतम प्रधानमन्त्री । यसले खाँटी एमाले वृत्तभित्र भूइँचालो नै ल्यायो । नवनिर्मित पार्टी देख्दा र भन्दा एमाले तर चलखेल प्रचण्डको हुने भएपछि बित्यास त प¥यो नै !

आशङ्का, लख र खासखुसको बाक्लो झाडीभित्र एकालाप गर्दै गर्दा वामदेवले एकाबिहानै एक्कासी चिन्ताको चुरोट ‘स्वाँक्क’ ताने । त्यसैबेला ऋषिधमलाको फोन आयो ः ‘वामदेवजी जनता जान्न चाहन्छन् वाम गठबन्धनले बहुमत ल्याएपछि प्रधानमन्त्री को ?’ वामदेवको चिन्ताको चुरोटले तताएको पारोले जिब्रो फड्कार्न लगाइहाल्यो– ‘म’ । ‘कसरी र केका आधारमा ?’ धमलाको आवाज नसिद्धिदै वामदेव जङ्गिए– ‘तात्कालिन माले र माक्र्सवादी मिलाएर एमाले बनाउने मै, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पहल गर्ने मै, वाम गठबन्धन निर्माणको सेतु मै, अहिलेसम्मको स्वच्छ छवी मेरै, पार्टीमा सिनियर नेता पनि मै, म नभएर को हुन्छ ?’ थाह नपाएरै उनको हातबाट ननिभेको चिन्ताको चुरोट झाडीमा खस्यो ।

एफएम् सुन्ने धेरैले त वामदेवको चिन्ताको चुरोट पिउने अब्जसी थुतुनोलाई दोषी देखे । तर कोठाभित्र चुरोट सल्काइएको प्रचण्ड इन्भर्टरको भने कसैले पत्तो पाएनन् । बरु आँखाले देखे– वाम साथ देव अन्तरघात !

सिटौला कि सिलौटा ?

एक जमाना थियो । सिटौला सेतु थिए, सिकलेस पुगी माओवादीलाई काठमाडौंका लागि अन्माउँदा । उनी त्यसताकाका हाई गृहमन्त्री ! उनी काङ्ग्रेसी सिलौटामाथि अकबरे खुर्सानी, दिल्लीवाले नून र दरवारे कागती मिसाएर स्वादिलो राजनीतिक अचार बनाउन कास्कीको सिकलेस पुगेका थिए । उनको ठूलो हर्कबढाइँ गरिएको थियो त्यहाँ ।

माओवादी काठमाडौं सिंहदरवारका लागि अन्मिए । शान्ति प्रक्रिया अघि बढ्यो । उनी चर्चामै रहे । यस अवधिमा संविधानसभाका दुईदुईवटा निर्वाचन भए । कागति हरायो । सिंहदरवारमा देखिने गरी मिसिन नपाएको मालदार भेंडे खुर्सानी क्रमशः राजनीतिक रङ्गमञ्चमा अघि बढ्न थाल्यो । तर नून र अकबरे खुर्सानी काङ्ग्रेसी सिलौटामाथि निकै धस्काई धस्काई पिधिरहियो । काङ्ग्रेसी रुखहरुमा अकबरे खुर्सानी फलाउनसम्म पनि प्रयास गरियो ।

विडम्बना ! क्रमशः दिल्लीवाले नून अलि चर्को गरी पठाउन थालियो । नूनको बढ्दो मात्राअनुसार अकबरे र भेंडे खुर्सानी मिसाइएको छ । चर्कै नून परेको नयाँ अचार तयार भएको छ । अचार पिधिसकेपछि सिकलेसका सिटौलालाई सिलौटा बनाई एक कुनामा घोप्ट्याएर राखिएको छ । देउवा अब देऊ बा !

वामपन्थी सरकार बन्ने भएपछि नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सङ्कटको भूमरीमा धकेलिएका छन् । दिल्लीले आशिर्वादका लागि उठाइरहने दाहिने हातको सट्टामा यसपटक देब्रे हात उठाएपछि देउवा धर्मसङ्कटमा पर्न गएका हुन् ।

कोइराला परिवारको विरासतमा चलेको काङ्ग्रेस देउवाको नेतृत्वमा आउँदा थप प्रजातान्त्रीकरण हुनेछ भन्ने जनसाधरणको अपेक्षा विपरीत देउवा अब ‘देऊ बा’ मा परिणत हुन थालेका छन् । उनलाई तुरन्त राजीनामा दिन दबाब बढेको छ, पार्टीभित्रैबाट ।

काङ्ग्रेसभित्र रहेको अमेरिकी लबीको नेतृत्व गर्ने भनिएका देउवासँग दिल्ली बेखुशी छ र नेतृत्व परिवर्तन गरी कोइराला खानदानलाई पुनः ल्याउने योजनामा रहेको चर्चा पनि कम छैन । आन्तरिक रुपमा चुनावको दुखद् परिणाम र बाह्य रुपमा दिल्लीको कोपभाजनमा परेका देउवा अब राजीनामा ‘देऊ बा’ मा परिणत हुन थालेका छन् ।

गर्जने प्रचण्डको ‘चें में’

‘प्रधानमन्त्री को बन्ने ?’ यो वाम गठबन्धनको पिरलो बनेको छ अहिले । नपाउँदा एक वाम एक ठाम, पाएपछि मैले खाम । कुरा ठूलाकै सही । ठूलाले पहिले खाने, त्यसपछिको पुरा सानाको भाग ।

घम्साघम्सी निकै छ । ‘पछि आएर माझमा सुत्ने ?’ ‘भाग खानेलाई भन्दा जुठो खानेलाई हतार !’ फेसबुकका वालहरु धेरै बोलिसकेका छन् यसबारे । ‘ओलीले बोली सम्हाल्नु पर्ने’, ‘प्रचण्ड साइजअनुसार गर्जने ठाउँमा म्याउँ गर्नुपर्ने’ जस्ता प्रतिस्पर्धात्मक शब्दवाण पनि निरन्तर चलिरहेकै छन् । प्रचण्डको ‘गो हेल एण्ड वि ह्वेल’ को सूत्र काम नलाग्ने बनेपछि एमाले समर्थकहरुले प्रचण्डको चें में गर्ने ठाउँ नरहेको सार्वजनिक गर्दै हिंड्न थालेका छन् ।