काठमाडौं, १ । जनकपुर भन्सार कार्यालयका कर्मचारीको सेटिङमा भारतीय सीमावर्ती नाकाहरूबाट धनुषामा खुलेआम तस्करी भइरहेको पाइएको छ । अवैध रूपमा बरामद गरिएका सामान मिलेमतोमा बरामद गरिएकै व्यापारीलाई दिँदै आएको आरोप कार्यालयका कर्मचारीहरूलाई लागेको छ ।
धनुषाको पूर्वीक्षेत्र बालगङ्गाबाट ज १ त २९१३ नम्बरको ट्याक्टरमा जनकपुरतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको हार्डवेयर तथा फलामका सामानहरू भन्सार कर्मचारीले नियन्त्रणमा लिएका थिए । कार्यालयका अधिकृत हेमचन्द्र शर्माले ट्याक्टर र मालसामानहरू जनकपुर भन्सार कार्यालयमा ल्याएको स्वीकारे । यद्यपि सो सामान कर्मचारीको मिलेमतोमा ज्यादै न्यून मूल्यमा तस्करलाई नै दिएको एक व्यापारीले बताए ।
अवैध रूपमा नेपाली बजारमा ल्याउँदै गरेको मालसामान पक्राउ परेको खण्डमा भन्सार कार्यालयले मूल्याङ्कन गरेर लीलाम गर्नुपर्ने कानूनी प्रावधान छ । तर, कार्यालयका कर्मचारी र तस्करको मिलेमतोमा सूचना नै ननिकाली गोप्यरूपमा उक्त सामान व्यापारीलाई दिएको कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
कार्यालयका नासु मण्डलले उक्त सामान लीलामका लागि ट्याक्टरको रू. २ लाख र मालसामानको २ लाख ५२ हजार रुपैयाँ न्यूनतम अङ्क रहने गरी असोज २५ गते दिउँसो १२ बजे कार्यालयमा सूचना टाँसिएको दाबी गरे । उक्त सूचनाबमोजिम मालसामान रू. २ लाख ५३ हजारमा विशाल इण्टरप्राइजेज जनकपुरलाई परेको उनको भनाइ छ ।
मालसामानका लागि सेटिङकै आधारमा सन्तनिरङ्कारी जेनरल स्टोर्स जनकपुरले २ लाख ५२ हजार र सञ्जु किराना पसलले २ लाख ५२ हजार ९ सय कबोल अङ्क राखी टेण्डर भरेका थिए । कम्तीमा ५ लाख मूल्यबराबरको सामान केही कर्मचारीको मिलेमतोमा ज्यादै कम रकममा लीलाम भएको कार्यालयका एक कर्मचारीको भनाइ छ । उनीहरुले ट्याक्टर रू. २ लाखमा विक्री गरेका हुन् ।
यसअघि पनि कर्मचारीले मिलेमतोमा अवैध सुर्ती ज्यादै न्यून मूल्यमा दिएका थिए । २ हजार किलो सुर्तीको प्रतिकेजी ८० रुपैयाँको दरले भन्सार महशुल हुन आउने भए पनि ज्यादै कम मूल्यमा दिएको एक व्यापारी बताउँछन् ।
‘तीनै जनाको सेटिङले आफूहरू लीलामको सूचना हेर्नसम्म पाउन सकेका छैनौं,’ स्रोतले भन्यो । लीलामीलाई मात्र पारदर्शी गर्न सकिए भन्सार राजस्वमा जारी ब्रह्मलुट बन्द हुने धनुषाको एक छोटी भन्सारमा कार्यरत कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । ‘हामीहरू मालसामान समातेर भन्सारलाई बुझाउँछौं, हाकिमले तस्करसँग मिलेर राजस्व नै खाइदिन्छन्,’ उनले भने ।