स्थानीय तहमा चुनिए ३५ हजार ४१ जनप्रतिनिधि

स्थानीय तहमा चुनिए ३५ हजार ४१ जनप्रतिनिधि

काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि समानुपातिक उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक गरेको हो । शुक्रवार आयोगले आधिकारिक रुपमा सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार तीन चरणमा गरेर देशभर जम्मा ३५ हजार ४१ जनप्रतिनिधि चुनिएका छन् ।

समग्र निर्वाचन परिणामले नेपालका राजनीतिक दलहरुको आकार परिवर्तन गरिदिएको छ । संविधानसभा २०७० को निर्वाचनबाट पहिलो बनेको नेपाली कांग्रेस २०७४ को स्थानीय चुनावबाट दोस्रो बनेको छ ।

२०७० को चुनावमा दोस्रो बनेको एमाले यसपटक पहिलो बनेको छ । माओवादी केन्द्रले आफ्नो तेस्रो स्थान कायमै राखेको छ भने २०७० मा चौथो शक्ति बनेको राप्रपा नेपाल हाल पार्टी एकीकरणबाट राप्रपा बनेपछि सातौं स्थानमा धकेलिएको छ ।

राप्रपाको चौथो स्थानमा संघीय समाजवादी फोरम पुगेको छ भने पाँचौ स्थानमा राजपा पुगेको छ । बिजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम छैटौं स्थानमा रहदा राप्रपा भने सातौं स्थानमा पुगेको छ । आठौं स्थानमा राष्ट्रिय जनमोर्चा रहेको छ भने नवौं स्थानमा नेपाली जनता दल, दशौंमा नेपाल मजदूर किसान पार्टी र एघारौं स्थानमा नेपाल मजदूर किसान पार्टी रहेको छ ।