सिंगो नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलन (असोज २२ देखि २६ सम्म) ऐतिहासिक रुपमा सम्पन्न भएको छ । सम्मेलन नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध पार्न सफल भएको क्रान्तिकारी माओवादीले संश्लेषण गरेको छ ।
सम्मेलनले नेपाली समाज अहिले पनि अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेको अर्थात् नयाँ जनवादी क्रान्तिको चरणमा रहेको विश्लेषण गरेको छ भने क्रान्तिका दुई मोडल दीर्घकालीन जनयुद्ध र आम सशस्त्र विद्रोहमध्ये सूचना प्रविधिले नेपाली जनजीवनमा ल्याएको फेरबदललगायतका विशेषताहरुलाई पकड्दै क्रान्तिका सबै मोडलहरुको प्रयोग गरेर जान ढोका खुल्ला गरेको छ । विश्व कम्युनिष्ट आन्दोलनको अनुभव र नेपाली कम्युनिष्ट आन्दोलनको आफ्नै अनुभवबाट पाठ सिकेर नेपाली विशिष्टतामा आधारित भएर क्रान्तिको मोडल प्रयोग गर्दै जाँदा नयाँ मोडलको विकास गर्न सकिने पनि सम्मेलनले निचोड निकालेको छ ।
सम्मेलनले तत्कालीन कार्यनीतिको सवालमा निर्वाचनको क्रान्तिकारी उपयोगको नीतिलाई निरन्तरता दिएको छ । निर्वाचन बहिस्कार भन्दा उपयोग गरेर जाँदा तुलनात्मक रुपमा प्रतिक्रियावादी संसदीय व्यवस्था, सत्ता र संविधानको प्रभावकारी रुपमा जनतामा गएर भण्डाफोर गर्न सकिने, संगठन निर्माणको आधार निर्माण गर्न सकिने र सिंगो पार्टी पंक्तिलाई गतिशिल रुपमा परिचालन गर्न सकिने विश्लेषण गरेको छ ।
क्रान्तिका निम्ति क्रान्तिकारी पार्टी निर्माणको अनिवार्यतालाई सम्मेलनले ठीक ढंगले पकडेको छ । पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति निर्माणका सम्बन्धमा पूर्णकालीन हुनुपर्ने, सैद्धान्तिक, वैचारिक र सांगठानिक रुपमा प्रष्टता भएको हुनुपर्ने, कम्तिमा विगत दशवर्षदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशिल भएको हुनुपर्ने, साम्राज्यवादी, विस्तारवादी तथा प्रतिक्रियावादीको लगानीमा रहेका एनजिओ, आइएनजिओमा बसेर काम गरेको हुन नहुने, खटाएको ठाउँमा जहाँ पनि जान तयार हुनुपर्ने आदि लगायतका पाँचवटा मापदण्ड सम्मेलनले पारित गरेको छ । सम्मेलनबाट निर्वाचित पूर्ण केन्द्रीय सदस्यहरुको हकमा मापदण्ड लागू गर्ने सवालमा ६ महिनाको समयावधि पनि प्रदान गरेको छ ।
कम्युनिष्ट मूल्य, मान्यता, आदर्शलाई लत्याउँदै प्रतिक्रियावादी संसदीय व्यवस्थाका मतियार र वैदेशिक प्रतिक्रियावादका दलालकको रुपमा परिणत भएका दक्षिणपन्थी संशोधनवादी तथा अवसरवादीहरुले निर्माण गरेको एमाले नेतृत्वको कथित बामपन्थी गठबन्धन र कांग्रेस नेतृत्वको कथित प्रजातान्त्रिक गठबन्धनको भ्रमलाई चिर्न र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता तथा ध्रुवीकरण निर्माण गर्ने दिशामा पनि सम्मेलनले महत्वपूर्ण समझदारी बनाएको छ । आफ्नो आन्तरिक एकतालाई मुजबुत बनाउँदै मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच पार्टी एकता तथा ध्रुवीकरणका लागि सम्मेलनले मार्ग प्रशस्त गरेको छ र एक कदम अगाडि बढेर पहलकदमी पनि लिएको छ । सम्मेलनको उद्घाटन सत्रमा यी तीनवटै पार्टीका नेताहरुको उपस्थिति र उनीहरुले पार्टी एकता तथा ध्रुवीकरणको पक्षमा राखेको विचारले यसलाई पुष्टि गरेको छ ।
दशवर्ष लामो जनयुद्धको नेतृत्व गरेर आएको तत्कालीन नेकपा (माओवादी)को मुख्य नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामहरुले धोका दिंदा र गद्दारी गर्दा रणनीतिक प्रत्याक्रमणको दोस्रो चरणसम्म पुगेको नेपाली नयाँ जनवादी क्रान्तिले सेटब्याक खान पुग्यो । क्रान्ति रक्षात्मक चरणमा धकेलियो । चौतर्फी रुपमा प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुको ठूलै हावाहुरी चलिरहेको अवस्थामा मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले फेरि नयाँ जनवादी क्रान्तिको तयारीलाई सापेक्षिक रुपमा अगाडि बढाउन खोजेको छ र त्यसै उद्देश्यलाई केन्द्रविन्दुमा राखेर ऐतिहासिक रुपमा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । नयाँ जनवादी क्रान्तिका पक्षधर सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु, देशभक्त तथा आमूल परिवर्तनमा पक्षधर जनसमुदायका लागि यो खुशीको कुरा हो । यस दृष्टिबाट क्रान्तिकारी माओवादीको सम्पन्न राष्ट्रिय सम्मेलनको ऐतिहासिकताको बोध सबै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले गर्न जरुरी छ ।