एजेन्सी । सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् । व्यस्त बजारस्थित एक होटलको प्रवेशद्धारमा रहेको ट्रक विस्फोट हुँदा सो घटना भएको हो । ट्रकमा विस्फोटक पदार्थ जडान गरिएको पाईएको स्थानीय सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
सुरक्षा अधिकारीहरुका अनुसार मृत्यु हुने र घाइते हुनेहरुको संख्या अझ बढ्न सक्छ । विस्फोटबाट होटल पूरै ध्वस्त भएकोले त्यसमा मानिसहरु पुरिएको हुन सक्ने सुरक्षा अधिकारीहरुको अनुमान छ । विस्फोटको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । पछिल्लो समय त्यहाँको सरकार अलकायदा सम्बद्ध अल सबाब समुहसंग संघर्ष गरिरहेको छ ।































