एनआरएनका आईसीसी सदस्य अनुज थापा पक्राउ

एनआरएनका आईसीसी सदस्य अनुज थापा पक्राउ

काठमाडौं । ठगी मुद्दामा उजुरी परेपछि गैरआवासीय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनमा सहभागी हुन आएका एनआरएनका आईसीसी सदस्य अनुज थापा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले लैनचौरबाट पक्राउ गरेको हो । थापामाथि जापानी प्रोफेसर यामामोतो हिराकुको ६ करोड रुपैयाँ ठगेको आरोप छ । एनआरएनको एक कार्यक्रममा सहभागी भइरहेका बेला परिसरबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो ।

जापानमा रेस्टुरेन्ट विजनेस गर्ने थापाले प्रोफेसर हिराकुलाई नेपालमा शिक्षाको अवस्था दयनीय रहेको भन्दै स्कुल खोल्नका निम्ति आर्थिक सहायता लिएका थिए । प्रहरीका अनुसार थापाले स्कुल निर्माणका लागि भन्दै ६ करोड रुपैयाँ लिएलगत्तै प्रोफेसर हिराकुसँग सम्पर्क बाहिर रहेका थिए । सम्झौता अनुसार स्कुल नबनाई उनले निजी घर गाडी खरिद गरेका थिए । स्कुल निर्माण भएको झुटो आश्वासन दिँदै आएका थापाले स्कुलबारे कुनै प्रगती विवरण नदिएपछि प्रोफेसर हिराकु आफुमाथि विश्वासघात भएको र रकम ठगिएको निष्कर्षमा पुगेको थिए । प्रोफेसर हिराकुले आफ्नो रकम फिर्ता दिन वा स्कुलको अवस्थाबारे बताउन आग्रह गरेपछि थापा जापानको रेस्टुरेन्ट भाडामा लगाएर बीचको केही समय नेपाल फर्केका थिए । बारम्बार झुक्याउँदै हिडिरहेका थापालाई पक्रिन हिराकुले लामो समयदेखि प्रयत्न गरिरहेका थिए ।
एनआरएन सम्मेलनमा भाग लिनका निम्ति थापा नेपाल आएको थाहा पाएर प्रोफेसर हिराकुले प्रहरी परिसर काठमाडौंमा जाहेरी दरखास्त दिएका थिए । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।