
काठमाडौं, २७ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा हवाई उडानमा चाप बढेको छ । खुम्बु भ्रमण गर्न आउने पर्यटकहरुको चाप बढेसँगै जहाज र हेलिकोप्टर कम्पनीहरुले दैनिक एक सय भन्दा बढी उडान गरिरहेको लुक्ला विमानस्थलका म्यानेजरले जानकारी दिए । ‘पर्यटकीय सिजन सुरु भएसँगै अक्टोबरदेखि पर्यटकको चाप बढेको छ’, उनले भने ।
लुक्लाका होटल व्यवसायी तोया श्रेष्ठ भन्छन्, ‘अक्टोबर सुरु भएपछि पर्यटकहरुको चाप अत्याधिक छ । पाहुनाको स्वागत गर्नै भ्याइनभ्याई छ ।’ सुरुवातमै पर्यटकको आगमन राम्रो भएकाले होटल व्यवसायी उत्साही छन् ।
लुक्ला विमानस्थलमा तारा एयर, समिट एयर, सीता एयरलाइन्सले र हेलीकोप्टरहरुले उडान भर्ने गरेका छन् । पर्यटकको चाप बढेसँगै लुक्लामा तारा एयरलाईन्सले उडान संख्या बढाएको छ । पर्यटक आउने मध्य सिजन भएकाले हवाई उडानमा चाप बढेको एयरलाइन्स कम्पनीहरु बताउँछन् । अन्य समयमा भन्दा यो सिजनमा लुक्ला विमानस्थल व्यस्त बन्ने गरेको ताराका लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले बताए ।




अधिकांश पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल हुँदै तेन्जिङ हिलारी विमान स्थल लुक्ला आउँछन् । कतिपय पर्यटक पैदलबाट फाप्लु हुँदै नाम्चे पुगेका छन् । भदौको अन्तिम सातादेखि नै पर्यटकहरु खुम्बु प्रवेश गर्न थालेका हुन् । सिजन सुरु भएसँगै खुम्बु फर्किएका व्यवसायीहरु पर्यटकको चाप बढेपछि व्यस्त बनेका छन् । पर्यटकको संख्या बढेसँगै सुरक्षालाई मजबुद बनाउन थप १० जना प्रहरी गस्तीमा खटाइएको ईलाका प्रहरी कार्यलय नाम्चेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । ‘पर्यटन प्रहरीको संख्या कम छ, पर्यटकको चाप धेरै भएपछि हामीले शंकास्पद स्थलहरुमा प्रहरीहरुलाई खटाएका छौं’, उनले भने ।
वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्र्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । पर्यटक नआउने महिना असार÷साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायी समेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल बढेको छ । सुन्दर हिमश्रृङ्खला देखिने यो मौसममा अल्टिच्युट सिकनेस कम हुने स्थानीयको भनाइ छ ।