क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन र यसका कार्यभारहरु

क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन र यसका कार्यभारहरु

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलन यही असोज २२ देखि पोखरामा सम्पन्न हुँदैछ । सम्मेलनको मुख्य नारा यस प्रकार छ : ‘साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गरौं, दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्दै, नयाँ एकताबद्ध र क्रान्तिकारी पार्टीको निर्माण गर्न ऐतिहासिक राष्ट्रिय सम्मेलन सफल पारौं ।’

यो मुख्य नाराबाट प्रष्ट हुन्छ कि राष्ट्रिय सम्मेलनको मुख्य दुई वटा कार्यभार रहेका छन् । एउटा नयाँ जनवादी क्रान्तिको तयारी गर्ने र अर्को नयाँ एकतावद्ध र क्रान्तिकारी पार्टीको निर्माण गर्ने । नयाँ जनवादी क्रान्तिको तयारी गर्न साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका विरुद्ध निर्मम संघर्ष गर्न जरुरी रहेको छ । साम्राज्यवाद, विस्तारवाद र सामन्तवादविरोधी सम्पूर्ण शक्तिहरुलाई गोलबन्द गर्न जरुरी छ । नेपालको सन्दर्भमा साम्राज्यवाद र विस्तारवादको विरुद्ध संघर्ष गर्ने भनेको तीनका दलालहरुका विरुद्ध पनि संघर्ष गर्नु हो । नेपालको राज्यसत्ता अहिले पनि मूलतः दलाल नोकरशाह पुँजीपति तथा सामन्त वर्गको हातमा नै छ । यसमा पनि दलाल तथा नोकरशाह पुँजीपति वर्ग हाबी छ । अहिले सरकारमा सहभागी र प्रमुख प्रतिपक्षी दलहरुले यिनै दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गको स्वार्थको पक्षमा काम गरिरहेका छन् र साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन् र उनीहरुको अगाडि आत्मसमर्पण गरिरहेका छन् । प्रचण्ड र शेरबहादुर देउवाले प्रधानमन्त्रीको हैसियतले भारत भ्रमण गर्दा गरेको सहमति यसका उदाहरण हुन् । साम्राज्यवाद र विस्तारवादका दलालहरुका विरुद्ध पनि संघर्ष गर्न नित्तान्त जरुरी छ । त्यसकारण राष्ट्रिय सम्मेलनमा साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका विरुद्ध संघर्ष गर्न कुन प्रकारको नीति र कार्यक्रमहरु बनाउने भन्ने विषयमा केन्द्रित हुनेछ र हुनुपर्छ । त्यसका साथै साम्राज्यवाद र विस्तारवादका दलालहरु को को हुन्, त्यसको पहिचान गर्ने, तिनको विरुद्ध गर्ने संघर्षको योजना बनाउने कुरामा सम्मेलनमा गम्भीर रुपमा छलफल गर्ने र नेपालको वस्तुगत यथार्थसँग मेल खाने सही नीति र कार्यक्रम बनाउने कुरामा प्रतिनिधिहरुले विशेष ध्यान दिनुपर्छ । दुश्मनकाविरुद्ध संघर्ष गर्दा मुद्दाहरु के उठाउने र संघर्षका मोडेलहरु के के हुनसक्छन्, यि विषयमा गम्भीर ध्यान दिन जरुरी छ ।

नयाँ जनवादी क्रान्तिको तयारी गर्दा साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका विरुद्ध उभिनसक्ने सबै शक्तिहरुलाई हामीले गोलबन्द गर्नेपर्दछ । संयुक्त मोर्चाद्वारा हामीले साम्राज्यवाद तथा सामन्तवादविरोधी शक्तिहरुलाई गोलबन्द गर्न सक्छौं । यसरी गोलबन्द गर्नका लागि साझा विषयहरु के के हुनसक्छन् ?, मोर्चाको संरचना कस्तो बनाउने ? कति हदसम्म लचिलो हुने ? र कुन कुन कुरालाई हामीले छाड्नै नहुने हो ? ति विषयहरुमा पनि सम्मेलनमा गम्भीरतापूर्वक छलफल गर्नुपर्छ र एउटा सही निश्कर्षमा पुग्नुपर्दछ ।, नयाँ जनवादी क्रान्ति भनेको साम्राज्यवाद र सामन्तवादविरोधी क्रान्ति हो, त्यसकारण साम्राज्यवाद र सामन्तवादविरोधी सबै शक्तिहरुको बिचमा मोर्चा बनाउन जरुरी छ । क्रान्तिका तीन जादुगरी हतियारमध्ये संयुक्त मोर्चा एउटा हो । त्यसकारण हामीले क्रान्तिकारी संयुक्त मोर्चा कसरी बनाउने ? कस्तो बनाउने भन्ने विषयमा एउटा सही नीति र योजना बनाउनुपर्दछ ।

नयाँ जनवादी क्रान्तिका लागि क्रान्तिकारी नीति पहिलो शर्त हो भने दोस्रो शर्त हो, क्रान्तिकारी पार्टीको निर्माण । क्रान्तिकारी पार्टी निर्माण गर्न सकेनौं भने क्रान्तिकारी नीति कागजमा मात्र सीमित हुनेछ । त्यसकारण नयाँ एकतावद्ध र क्रान्तिकारी पार्टी निर्माण गर्ने कुरालाई राष्ट्रिय सम्मेलनले प्राथमिकतामा राखेको छ । तर, क्रान्तिकारी पार्टीको निर्माण कसरी हुनसक्छ ? क्रान्तिकारी पार्टी निर्माणका लागि सबैभन्दा पहिले पार्टीका नेता तथा कार्यकर्ताहरु यतिसम्म कि आम पार्टी सदस्यहरुसम्म क्रान्तिकारी सिद्धान्त र नीतिमा प्रतिबद्ध भएको हुनुपर्दछ । यसका लागि दक्षिणपन्थी अवसरवादको विरुद्धको भण्डाफोर अभियानलाई तिव्र पार्न जरुरी छ । हुन त वामपन्थी अवसरवाद पनि त्यत्तिकै खतरनाक हुन्छ तर नेपालको अहिलेको सन्दर्भमा दक्षिणपन्थी अवसरवाद नै मुख्य खतरा हो । त्यसकारण दक्षिणपन्थी अवसरवादका विरुद्ध भण्डाफोर अभियान चलाउन जरुरी छ । दक्षिणपन्थी अवसरवादका विरुद्ध भण्डाफोरर अभियान चलाउने भनेर मात्र भण्डाफोर अभियान चल्दैन । त्यसैले भण्डाफोर अभियानका माध्यमहरु के के हुनसक्छन् ? त्यसका रुपहरु के के हुन् ? र त्यसलाई व्यवहारमा कसरी लागु गर्छौ ? यि विषयमा पनि हामीले राष्ट्रिय सम्मेलनबाट सही नीति र कार्ययोजना बनाउन सक्नुपर्छ । दक्षिणपन्थी अवसरवादी र हाम्रो बिचमा व्यवहारले नै प्रष्ट रेखा कोरिएको हुनुपर्दछ । व्यवहार भनेको जनता मुख्यतः शोषित उत्पीडित जनता र शोषक वर्गसँग गरिने व्यवहार हो । जनताले व्यवहारबाटै प्रस्ट बुझ्ने गरेर हामीले आफ्ना क्रान्तिकारी व्यवहार देखाउन सक्नुपर्छ ।

क्रान्तिकारी पार्टी निर्माणका लागि दक्षिणपन्थी अवसरवादका विरुद्ध, भण्डाफोर अभियान त चलाउनै पर्छ तर त्यतिले मात्रै पुग्दैन । स्वयम् पार्टीभित्र रहेका गैरसर्वहारावादी प्रवृतिका विरुद्ध पनि संघर्ष चलाउनुपर्दछ । पार्टीभित्र पनि दक्षिणपन्थी वा उग्रवामपन्थी सोच, प्रवृत्तिहरु आइरहन्छन् । त्यसकारण पार्टीभित्र पनि त्यसप्रकारका प्रवृत्तिविरुद्ध संघर्ष गर्नु जरुरी छ । व्यक्तिगत एवं. पारिवारिक लाभ, पद, प्रतिष्ठा भन्दा माथि उठेर पार्टी र क्रान्तिका लागि समर्पित हुन सक्ने, व्यक्तिहरुको संगठन बनाउन सक्यौं भने मात्र हामीले क्रान्तिकारी पार्टीको निर्माण गर्न सक्नेछौं । पदका लागि हरेक पार्टीमा बार्गेनिङ गर्ने, जुन पार्टीमा ठूलो पद दिन्छ त्यसैमा गइहाल्ने खालका व्यक्तिहरु संगठनमा रहँदासम्म क्रान्तिकारी पार्टी बन्न सक्दैन । त्यसकारण हामीले कुन खालको नीति र योजनाबाट क्रान्तिकारी पार्टी बनाउन सकिन्छ भनेर सम्मेलनमा बहस, छलफल र निर्णयहरु गर्नुपर्छ । संगठनभित्र देखिने अराजकता, अनुशासनहीनता र आर्थिक अपारदर्शितालाई कसरी समाप्त पार्न सकिन्छ, त्यसबारे पनि छलफल गरी सही नीति तय गर्नुपर्दछ ।

पार्टी क्रान्तिकारी हो कि होइन भन्ने कुरा संघर्षमा परीक्षण गरिन्छ । संघर्षको बिचबाट मात्रै पार्टी क्रान्तिकारी बन्दैजान्छ । त्यसकारण वर्गसंघर्षलाई कसरी उठाउने र विकास गर्ने त्यसको ठोस योजना बनाउन जरुरी छ । वास्तममा हामीले वर्गसंघर्ष उठाउन सकेका छैनौं । वर्गसंघर्षलाई उठाउने ठोस योजनाहरु हामीसँग हुनै पर्दछ । पुरानो राज्यसत्तालाई बलपूर्वक ध्वस्त पारेर मात्र हामीले जनताको राज्यसत्ता निर्माण गर्न सक्छौं । त्यो काम स्वतस्फूर्त रुपमा हुँदैन । त्यसकारण प्रतिक्रियावादी राज्यसत्तालाई बलपूर्वक ध्वस्त बनाउनका लागि पनि हामीले आवश्यक फोर्सको तयारी योजनाबद्ध ढंगबाट गर्दै जानुपर्दछ । संघर्षको भट्टीमा खारिएर मात्रै पार्टी क्रान्तिकारी बन्दै जानेछ । त्यसकारण नेपालका आम शोषित पीडित जनताको हितलाई केन्द्रमा राखेर संघर्षका ठोस योजनाहरु बनाउनुपर्दछ । अन्त्यमा यो ऐतिहासिक राष्ट्रिय सम्मेलन नयाँ जनवादी क्रान्तिको तयारी गर्न र नयाँ एकताबद्ध क्रान्तिकारी पार्टी निर्माण गर्न सफल हुनेछ ।