कास्की, ५ । पोखरा लेखनाथ महानगरपालिकाले पोखरालाई स्मार्ट सिटी बनाउन अध्ययनका लागि जापानी संस्थासँग सम्झौता गरेको छ । महानगर र जापानको ‘न्यू आईटी भेञ्चर’ कर्पोरेशनबीच बुधवार पोखरामा सम्झौता भएको हो । सम्झौतामा महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल र संस्थाका कार्यकारी निर्देशक तदासी मोरीले हस्ताक्षर गरे ।
उक्त संस्थाले २ वर्षभित्रमा पोखरालाई कस्तो स्मार्ट सिटी बनाउने भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ । महानगरमा सूचना–प्रविधिमा आधारित सेवा विस्तार गर्ने, लगानीको वातावरण बनाउने, महानगरलाई वातावरण अनुकूल, शान्त र सुरक्षित बनाउने, स्मार्ट सिटी हब बनाउनेलगायतका विषयमा अध्ययन गरी प्रतिवेदन बनाइने संस्थाका निर्देशक मोरीले बताए । भेञ्चरले निःशुल्क अध्ययन प्रतिवेदन तयार पारेर महानगरलाई बुझाउनेछ । संस्थाले जापानी तथा स्वदेशी अनुसन्धानकर्ता एवम् विज्ञहरूलाई स्थलगत भ्रमण गराउने र आवश्यक सुझाव लिने जानकारी दिएको छ ।
अध्ययनपछि पोखरालाई स्मार्ट सिटी हब बनाउन कस्तो प्रविधि भित्राउने र कुनकुन पूर्वाधारको विकास गर्ने भन्नेबारे योजना बनाउने पौडेलले बताए । महानगरका मेयर मानबहादुर जिसीले पोखराका पानी, सडक, विद्युत् सेवा सबैलाई स्मार्ट बनाउन प्रतिवेदनले सहज हुने विचार व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलगायतले पोखरालाई अन्तरराष्ट्रिय र स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताएका थिए ।