काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीबीएस अध्यापन गराउन पाउने गरी काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्ने निर्णय गरेको छ ।
अस्पताल संचालनको अनुमति नै नपाएको कलेजलाई नियम विपरित मेडिकल शिक्षाको अनुमति दिएको भन्दै विरोध भएपछि गठन भएको छानबिन टोलीको प्रतिवेदनका आधारमा खारेजीको निर्णय गरिएको बताइएको छ ।
यसअघि त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन भन्दै कलेजलाई एमबीबीएस अध्यापनको अनुमति दिएको थियो ।
सो कलेजमा न बिरामी, न डाक्टर, न कुनै सुविधा रहेको भन्दै उसलाई दिएको सम्बन्धनको सबैतिर आलोचना भैरहेका बेला त्रिभुवन विश्वविद्यालयले आफ्नो पहिलेको निर्णयलाई बदलेको छ ।
त्रिविले गठन गरेको छानबिन समितिको प्रतिवेदन पछि बुधबार बसेको परिषद बैठकले त्यस्तो निर्णय गरेको बताइएको छ । छानबिन समितिको प्रतिवेदनमा काठमाडौं नेशनल मेडिकल कलेजमा कमजोरी देखिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले बताए ।
यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उसलाई सम्बन्धनको अनुमति दिइएको त्रिवि पदाधिकारीहरुले बताएका थिए । सो कलेजलाई मेडिकल शिक्षाका लागि दिएको सो सम्बन्धन अखिल (क्रान्तिकारी) लगायतले खारेज गर्नुपर्ने माग गर्दै आएका थिए ।