काठमाडौं । चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगन गर्ने निर्णय गरेपनि सम्बन्धन खारेज गर्नुपर्ने माग नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले राखेको छ ।
घट्टकुलो स्थित नेसनल मेडिकल कलेजलाई अवैध रुपमा शैक्षिक माफियाहरुसँगको साँठगाँठमा एमबीबीएस अध्यापन स्वीकृति दिएको भन्दै सम्बन्धन खारेजीको माग राखेर भदौं ११ मा क्रान्तिकारीले त्रिवी कुलपतिलाई विरोध पत्र बुझाएको थियो भने भदौं १६ गते खारेजीकै पक्षमा ‘काठमाडौं नेश्नल मेडिकल कलेजको सम्बन्धनको विवाद र खारेज’ विषयक अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो ।
शिक्षा क्षेत्रमा निजीकरण, व्यापारीकरण, माफियाकरण र विदेशीकरण बढेर गएको भन्दै क्रान्तिकारीले शैक्षिक माफियाहरुले अवैधरुपमा संचालन गर्दै आएका शैक्षिक संस्थाहरुमाथि भौतिक कारबाही गर्दै आएको छ ।
क्रान्तिकारी अध्यक्ष सेवन्त राज भण्डारीले भने, ‘शैक्षिक माफियाहरुको अबैध साँठगाँठमा दिइएको काठमाडौं नेश्नल मेडिकल कलेजको सम्बन्धन स्थगन होइन, तत्काल खारेज गरिनुपर्दछ ।’
त्रिवि कार्यकारी परिषद्को शनिबार बसेको आकस्मिक बैठकले कलेजको सम्बन्धन हाललाई स्थगन गरेको छ । स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले काठमाडौं नेसनलको शिक्षण अस्पताल वैध नभएको भनी प्रतिवेदन दिएपछि त्रिविले सम्बन्धन स्थगन गर्ने निर्णय गरेको हो ।
गत साउन १२ को परिषद् बैठकले काठमाडौं नेसनललाई सम्बन्धन दिएको थियो । शनिबारै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तावित कलेजको शिक्षण अस्पताल पनि बन्द गराउने निर्णय गरेका छन् ।