काठमाडौं, भदौ ८ । नेपाल विद्युत प्राधिकरणको ११ अर्ब २० करोड २१ लाख ७९ हजार तीन रुपैयाँ बराबरको विद्युत्त महसुल उठ्न बाँकी रहेको पाइएको छ । उक्त बक्यौता रकम नतिरे सिंहदरबारदेखि गाउँसम्मको विद्युत्त लाइन काटिने निर्देशन ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले दिएका छन् ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार ग्राहस्थ तर्फ नै सबैभन्दा बढी महसुल बक्यौता बाँकी रहेको छ ।
ग्राहस्थ तर्फ चार अर्ब ६६ करोड ६३ लाख ४५ हजार चार सय ७८ रुपैयाँ बक्यौता रहेको छ । यस्तै काठमाडौं महानगरपालिकालगायतका नगरपालिकाले सडक बत्ती प्रयोग गरे वापत प्राधिकरणलाई तिर्नुपर्ने रकम मात्रै तीन अर्ब ६० करोड ७६ लाख ६६ हजार तीन सय १८ रुपैयाँ रहेको छ ।
त्यस्तै गैर ग्राहस्थतर्फ ३१ करोड ७९ लाख ७ हजार सात सय ६४ रुपैयाँ, व्यापारिक तर्फ २९ करोड ९७ लाख ५७ हजार ६ सय ३० रुपैयाँ उठ्न बाँकी रहेको छ ।
यस्तै गैर व्यापारिक तर्फ ३० करोड ९९ लाख १७ हजार आठ सय १९ रुपैयाँ, मनोरञ्जन तर्फ ४४ लाख ९ सय ११ रुपैयाँ, औद्योगिक तर्फ एक अर्ब २१ करोड ७६ लाख २० हजार ९ सय ५५ रुपैयाँ, सिंचाई तर्फ १४ करोड ८४ लाख २७ हजार ३२ रुपैयाँ रहेको छ ।
खानेपानी तर्फ ६३ करोड ४१ लाख ६ सय २८ रुपैयाँ, यातायात पाँच लाख ३६ हजार २७ रुपैयाँ, मन्दिर तर्फ १४ करोड ६९ लाख ६१ हजार सात सय ५१ रुपैयाँ, सामुदायिक तर्फ १० करोड ११ लाख चार हजार २ रुपैयाँ, अस्थायी लाइन लिएका तर महसुल नतिरेका १५ करोड ७३ लाख १९ हजार ६९ रुपैयाँ बक्यौता रहेको छ ।
प्राधिकरणकाअनुसार आन्तरिक तर्फ ८४ लाख ७४ हजार सात सय ५८ रुपैयाँ, चुहावट ५ लाख १३ हजार दुई सय ६४ रुपैयाँ बाँकी रहेको छ । यस्तै लामो समय विद्युत् महसुल नतिरेपछि प्राधिकरणले कालो सूचिमा राखेका ग्राहकबाट ५७ करोड चार लाख नौ हजार दुई सय ६० रुपैयाँ उठ्न बाँकी छ ।
आर्थिक वर्ष २०७३ र ७४ मा ९७ करोड रुपैयाँ मात्रै घाटामा रहन सफल भएको प्राधिकरणले बक्यौता रहेको रकम मात्रै उठाउने हो भने पनि झण्डै दश अर्ब रुपैयाँ बढी नाफा हुनेछ ।
ऊर्जा मन्त्रालयले पटक पटक बाँकी बक्यौता असुल उपर गर्न निर्देशन दिए पनि प्रभावकारी रुपमा कार्यान्वयन गराउन सकेको छैन । मंगलबार मात्रै ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणलाई पुनः बक्यौता असुल गर्न कडा निर्देशन दिएका छन् ।