काठमाडौँ । पुँजीवाद र समाजवादका कतिपय मान्यताहरुलाई घालमेल पार्दै ‘सामाजिक लोकतन्त्र’को नारामा नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराई पूर्णतः असफल देखिएका छन् । उनी असफल हुनुको मुख्य कारण उनले लिएको वैचारिक तथा राजनीतिक लाइन नै हो । उनले नयाँ भने पनि विगतमा प्रयोग भइसकेको र असफलसिद्ध असंगतिपूर्ण विचार, सिद्धान्त र त्यसै अनुसारको अस्पष्ट तथा अवसरवादी राजनीतिक लाइन लिएकै कारण उनी एकपछि अर्को असफल हुँदै गए । उनलाई विभिन्न राजनीतिक पार्टीबाट विभिन्न स्वार्थ र अभिलाषा बोकेर आएका नेताहरु नयाँ शक्तिलाई छाडेर धमाधम पुरानै शक्तिमा फर्किन थालेका छन् । एमालेबाट आएकाहरु एमालेमै फर्किएका छन्, तत्कालीन एमाओवादीबाट आएका नेताहरु अहिलेको माओवादी केन्द्रमा फर्किदैछन् । विभिन्न पेशा व्यवसाय छोडेर आएका एकाडेमिक फिगरका मान्छेहरु पनि पुरानै पेशा व्यवसायमा फर्किदै छन् । 

बिहीबार मात्रै नयाँ शक्तिका संगठन विभाग प्रमुख समेत रहेका नेता देवेन्द्र पौडेल ‘सुनिल’ लगायत १५ जना नेताहरुले पार्टीका संयोजक बाबुराम भट्टराईले लिएको ‘लाइन’प्रति असन्तुष्टि जनाउँदै राजधानीमा पत्रकार सम्मेलन गरे । उनीहरुले पत्रकार सम्मेलनमा पार्टी सुधारका लागि भन्दै १० बुँदे अपिलसमेत जारी गरे पनि र पौडेलले आफूहरुले पार्टी छाड्न नभएर पार्टीको सुधारका लागि पत्रकार सम्मेलन आयोजना गरेको स्पष्ट पारे पनि उनीहरु माओवादी केन्द्रमा फर्किने वातावरण निर्माणमा लागेको नयाँ शक्तिका एक उच्च पदस्थ नेताले भने ।  पौडेलले पार्टीले तयार गरेको दस्तावेज र पार्टीले लिएको लाइन अमूर्त भएको आरोप लगाएका छन् ।  उनले भनेका छन्, ‘मात्र सम्बृद्धिको कुरा गरेर वा पाँच ‘स’ को कुरा गरेर मात्र हुँदैन । कसको लागि सम्बृद्धि, कस्तो सम्बृद्धि ? त्यो स्पष्ट हुनुपर्यो । हामीले नयाँ शक्ति भनेर पार्टी त बनायौँ । तर, अहिले हाम्रो पहिचान के हो भन्ने अलमल छ । हामी कता हराएको जस्तो भएका छौँ ।’ 

नेता पौडेलले बाबुराम भट्टराई सीमित व्यक्तिहरुको घेराबन्दीमा परेको पनि आरोप लगाए । ‘वहाँ बढी एकाडेमिक साथीहरुको प्रभावमा पर्नुभएको छ । वहाँ सीमित व्यक्तिको घेराबन्दीमा पर्नु भएको छ,’ उनले भने, ‘हामी बाबुराम भट्टराईलाई नेता बनाउन चहान्छौँ । तर, यसरी सीमित घेरामा बसेर हुँदैन । यो वहाँकै हितमा छ । उनले पार्टी श्रमजीवी र उत्पीडित वर्गको हितमा हुनुपर्नेमा भट्टराईको दस्तावेजमा त्यो कुरा उल्लेख नभएको बताउँदै पार्टी एनजिओ जस्तो भएको पनि आरोप लगाएका छन् । पौडेलले नयाँ शक्तिसहित परिवर्तनकारी शक्तिहरुबीच ध्रुवीकरण हुनुपर्नेमा पनि जोड दिए । ‘प्रचण्ड, बाबुराम, किरण, विप्लव, उपेन्द्र, जनजातिहरुको ध्रुवीकरण हुनुपर्छ भन्नेकुरा बाबुरामजीले बुझ्नुपर्छ । नत्र परिवर्तन सम्भव छैन,’ उनको भनाइ छ । पौडेलसहित महेन्द्र पासवान, बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, हिसिला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अनसारी, लाल किरण, शमिर्ली लामा, रत्न राणा र रविन्द्र सुनुवारको हस्ताक्षरमा अपील समेत जारी गरेका छन् । ०७२ साल असोज ९ गते डा. बाबुराम भट्टराईले बानेश्वरको इन्द्रेणी फुडल्यान्डबाट तत्कालीन एकीकृत माओवादी परित्याग गरेर नयाँ शक्तिको गठनमा लागेका थिए ।  ०७३ साल जेठ ३० गते राजधानीको दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गरेका बाबुरामले कर्मचारी, प्रहरीबाट अवकाश पाएका व्यक्तिहरू, स्वनामधन्य कलाकारहरू र विभिन्न पार्टीबाट आएका असन्तुष्ट व्यक्तिहरूलाई मिलाएर नयाँ शक्ति पार्टीको निर्माण गरेका थिए । तर बाबुरामको सैद्धान्तिक असंगति र पार्टी संचालनको शैलीप्रति असन्तुष्टी जाहेर गर्दै क्रमशः नेताहरुले पार्टी परित्याग गर्दै आए । 

क–कसले छाडे भट्टराईलाई ?

गत चैत १ गते सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वअर्थसचिव रामेश्वर खनालले आफू नयाँ शक्तिमा नरहेको घोषणा गरे। खनाल बाबुरामले पार्टी घोषणा गर्नुअघि नै गठित केन्द्रीय परिषदका संस्थापक सदस्य मध्येका एक थिए ।उनले नयाँ शक्ति पार्टीका आर्थिक निति र योजना तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पार्टीको आर्थिक नीति विभागमा रहेर काम गरेका खनालले ट्वीटरमा लेखे, ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ।’गत असोजमा नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य मुमाराम खनालले पनि एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरे। विज्ञप्तिमा उनले भनेका थिए, ‘हामीले १७९ वटा दलहरूको बीचमा एउटा थपेर १८० औं बनाउन खोजेका होइनौँ । तर, नयाँ शक्ति पार्टीको विकासक्रमले एउटा नयाँ थपिएर १८० औं बन्नुवाहेक अर्को सम्भावना देखिएन।’ यद्यपि नयाँ शक्तिले भने खनाललाई कारबाही गरिएको जनाएको थियो । यस्तै, लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेर नयाँ शक्ति प्रवेश गरेका पुराना नेता महेश कोर्मचाले पनि नयाँ शक्ति पार्टी परित्याग गरे । उनलाई नयाँ शक्तिले सहसंयोजक बनाएको थियो। उनी विजयकुमार गच्छादार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेश गरे। स्थानीय तह निर्वाचनमा नयाँ शक्तिको परिणाम निराशाजनक रहेपछि पार्टी परित्याग गर्ने क्रम झनै बढेको छ। पूर्व माओवादीहरू ‘पुरानै घर’ फर्किने क्रम तीव्र बनेको छ।

पार्टी छाडेको लगत्तै डा. भट्टराईले माउ पार्टी माओवादीलाई ‘रातो स्टिकर टाँसेको’ घर भनेका थिए । गत असार ७ गते नयाँ शक्ति विद्यार्थी युनियनकी संस्थापक संयोजक ओमकुमारी पौडेलसहित ठूलो संख्यामा युवा विद्यार्थीको समूह माओवादी केन्द्रमा फर्कियो । पौडेलसहित स्ववियु विभाग प्रमुख युवराज दाहाल, विद्यार्थी युनियन प्रदेश नम्बर ४ का संयोजक सुमन आचार्य, नयाँशक्ति निकट प्रेस सोसाइटीका केन्द्रीय सदस्य नवराज बराल लगायत ठूलो संख्यामा युवा विद्यार्थीहरू लाजिम्पाट पुगेर माओवादी केन्द्र प्रवेश गरे।गत चैत ६ गते नयाँ शक्ति नेपाल मलेसियाका संस्थापक सदस्य राजु ढुंगाना ‘प्रनिल’ सहित २६ जना सदस्यले नयाँ शक्ति परित्याग गरे। उनीहरूले नयाँ शक्ति बाबुराम भट्टराईको निजी कम्पनीजस्तो भएको र बाहिर भनेअनुसारको राजनीतिक बातावरण नरहेको आरोप लगाएका थिए।यतिबेला नयाँ शक्ति छाड्ने क्रम अझ बढेको छ । बिहीबारमात्र नयाँ शक्तिसँग असन्तुष्ट एउटा पक्षले नेता देवेन्द्र पौडेलको नेतृत्वमा पत्रकार सम्मेलन गरेको छ। यसरी पत्रकार सम्मेलन गर्नेमा पौडेलसहित कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षत्री लगायतका नेताहरू छन् भने उता नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा पनि पार्टी परित्याग गर्ने अन्तिम तयारीमा रहेका छन् । उनी माओवादी केन्द्र वा एमाले प्रवेश गर्ने तयारीमा रहेका छन् । दशवर्षे जनयुद्ध परित्याग गर्दै शान्तिप्रक्रियामा आउने वित्तिकै ‘राजनीतिक क्रान्तिको युग सकियो, अब आर्थिक क्रान्तिको युग आयो’ भनेर अभिव्यक्ति दिएका बाबुरामको यो असफलताले पनि के पुष्टि गरेको छ भने नेपालमा राजनीतिक क्रान्ति नै पूरा भएको छैन । त्यसैले आर्थिक क्रान्ति होइन, नेपालमा फेरि पनि राजनीतिक क्रान्तिको नै खाँचो छ । त्यो भनेको नयाँ जनवादी क्रान्ति नै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर