आमाका उपचारमा गएका नेपाली युवा गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा पक्राउ

आमाका उपचारमा गएका नेपाली युवा गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा पक्राउ

काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप लगाउँदै भारतको सिलिगुडीमा आमाको उपचारका लागि गएका नेपाली युवालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

आमाको पेटको उपचारका लागि सिलिगुडीस्थित फेमिली क्लिनिकमा पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ वर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुडीको मेट्रोपोलिटन प्रहरीले क्लिनिक परिसरबाट नै पक्राउ गरेको हो ।

गत जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जिलिङको सुकुनामा भएको झडपमा उनी सामेल भएको आरोपमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनकी दिदी साधना फागोले गोर्खाल्याण्ड आन्दोलनप्रति कुनै संलग्नता नभएको र विनाकारण फागोलाई पक्राउ गरेर भारतीय प्रहरीेले अत्याचार गरेको भन्दै तत्काल रिहाइको माग गरेकी छन् ।

मंगलबार फागोलाई भेट्न गएका परिवारका सदस्यलाई सम्पर्कमा आउन समेत नदिएको दाजु शरन फागोले बताए । पक्राउपछि नेपाली भएको प्रमाण पेश गर्न भनेको प्रहरीले मंगलबार पाँचवटा मुद्धा सहित अदालतमा उभ्याएको फागोले बताए ।

उनलाई हतियार प्रयोग गरेर सरकारी काममा अवरोध पु¥याएको, सरकारी सम्पती नष्ट गरेको लगायतका मुद्धा लगाइएको भारतीयसञ्चार माध्यमले जनाएका छन् ।

दिदी साधनाले भनेकी छन्, ‘हामीलाई गोर्खाल्याण्ड आन्दोलनबारे सरोकार नै छैन, यता आइरहनु जरुरी पनि छैन तर उपचारका क्रममा आउँदा प्रहरीले गम्भीर मानवअधिकारीको उल्लघंन गरेको छ’,उनले भनिन– मेरो भाईलाई तत्काल रिहा गरियोस ।’

गोर्खाल्याण्ड आन्दोलनमा नेपालीको घुसपैठ भएको आरोप लगाउँदै आएको बंगाल सरकारले पहिलो पटक नेपाली युवा फागोलाई पक्राउ गरेको हो ।

सुकुनामा भएको आन्दोलनमा प्रदर्शनकारीहरुले खुकुरी जुलुस निकालेका थिए ।
सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं प्रहरी घाइते भएका थिए ।