काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै कुराकानी नभएको बताएका छन् ।
उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग पार्टी एकता हुन नसकेपछि माओवादी केन्द्रसँगै एकताका लागि भट्टराईले कुराकानी अघि बढाएको खबर आइरहेका बेला उनले माओवादी केन्द्रसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका हुन् ।
पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने, ‘प्रचण्डले के भन्नुभयो मलाई थाहा छैन । उहाँले सपना देखेको पनि हुनसक्छ । तर, पार्टी एकताबारे मेरो कुनै कुरा भएको छैन ।’
माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय सचिवालयको बिस्तारीत बैठकले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकतामा आउन आह्वान गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा भट्टराईले संघीय समाजवादी फोरमसँगको एकता प्रयास पनि असफल भएको स्वीकार गरे ।
उनले यादवको पार्टीसँग केही वैचारिक राजनीतिक विषय र पार्टीको नाम तथा संंगठनात्मक संरचनामा पनि सहमति हुन नसकेका कारण एकता प्रयास सफल हुन नसकेको उनको भनाई थियो ।
यद्यपि पार्टी एकता नभए पनि प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावमा तालमेलको प्रयास हुने उनले जानकारी दिए ।