
क.माओले “युवाहरुको मुख्य काम सिक्नु हो” भन्नुभएको छ । हामीले राम्रा र नराम्रा कुरा सिकिरहेका हुन्छौं । राम्रा कुरा सिक्नु भविष्य उज्ज्वल बनाउनु हो, त्यसैले क्रान्तिकारी युवाहरुले राम्रा कुरा सिक्नु पर्दछ र नराम्रा कुराहरुलाई त्याग्नु पर्दछ । क्रान्तिबाट सिक्नु पर्दछ र प्रतिक्रान्तिबाट पनि सिक्नु पर्दछ । एउटा भनाइ छ “धेरै पल्ट हारेको सेनापतिले धेरै सिक्न सक्छ र अन्तिम विजय हासिल गर्न सक्दछ” । यो भनाइको तात्पर्य के हो भने धेरै पल्ट हारेर उसले धेरै सिकेको हुन्छ भन्ने अर्थ लाग्दछ, होइन भने आफ्नो कमजोरीलाई नसुधारिकन, गल्तीलाई नसच्याइकन जित्ने भन्नु सपना बाहेक अर्काे हुन सक्दैन ।
नेपालमा धेरै आन्दोलन, क्रान्ति भए तर पनि नेपाल र नेपाली जनताले वास्तविक अधिकार पाएका छैनन्, बदलामा सम्झौता–धोका भएको छ । नेपालमा सर्वहारा वर्गको राज्य स्थापना गर्न कम्युनिष्ट पार्टी गठन भयो तर समयअन्तरालसँगै टुट, फुट, विभाजनहरु भए । त्यसका बाबजुद पनि पटक पटक ठूल्ठूला संघर्षहरु र बलिदानहरु भए, तर ती सबै आन्दोलन, संघर्षहरु धोका र सम्झौतामा गएर टुंगिए । अन्ततः पुरानै व्यवस्था कायम रह्यो । क्रान्तिका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गर्नु अनिवार्य हुन आउँछ । सही क्रान्तिकारी पार्टी बनाउन नसक्दा नै विगतमा भएका क्रान्तिहरुले सेटब्याक खान पुगे । नेपाली कम्युनिष्ट आन्दोलन र विश्व कम्युनिष्ट आन्दोलनका नकार र सकार पक्षबाट हामी युवा क्रान्तिकारीहरुले गहिरो शिक्षा लिन जरुरी छ । त्यसबाट सिक्न उत्साही हुनु पर्दछ । हामी युवाहरुमा गर्दा गर्दै सिक्ने स्प्रिट हुन जरुरी छ । क्रान्तिमा जीत हार स्वभाविक प्रक्रिया हो । कयौं पटक हार हुुन्छ त्यसबाट युवाहरुले धेरै सिक्न सक्दछन्, सिक्नु पर्दछ । नेतृत्वको विकास यही प्रक्रियामा हुन्छ । पुष्पलाल कमरेडले २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गरेदेखि एकता, संघर्ष र फुट तथा रुपान्तरणको प्रक्रिया हुँदै आएको छ । आजसम्म आउँदा कम्युनिष्ट आन्दोलनभित्र अन्तर्संघर्ष पनि शत्रुवत् र मित्रवत् ढंगले संचालन हुँदा शत्रुवत ढंगले अन्तर्संघर्ष चल्नुले क्रान्तिकारीहरुले फाइदा लिन सकिन्न भन्ने कुरा सिक्नु पर्छ भने वर्ग संघर्षलाई उठाउने प्रक्रियामा पनि वर्ग समन्वयवादीहरुको नेतृत्वमा आन्दोलनको बागडोर पुग्दा क्रान्ति प्रतिक्रान्तिमा बदलिदो रहेछ भन्ने कुरा पनि सिक्नु पर्ने देखिन्छ । युवाहरुले यही दुई प्रक्रियामा गल्तीहरुलाई सच्याउने कोशिस गर्नुपर्दछ ।
हालसम्म कम्युनिष्टहरु कति पल्ट जुट्यौं र कतिपल्ट फुट्यौं त्यसको अध्ययन हुनुपर्दछ । सबै फुट गलत होइनन् र सबै पार्टी एकता सही हुँदैनन् भन्ने कुरा पनि क्रान्तिकारी युवाले बुझ्न आवश्यक छ । झापा विद्रोह र ०४६ सालको जनआन्दोलन, १० वर्षको जनयुद्ध र ०६२÷६३को जनआन्दोलनबाट हामीले सिक्नु पर्दछ । वर्ग संघर्षको उत्थान सशस्त्र ढंगले हुने र वर्ग संघर्षको उत्कर्षमा सशस्त्र ढंगले आन्दोलनको विकास नहुने जस्तो देखिने गरेको छ । के आन्दोलनलाई सशस्त्रीकरण गर्न नजानेका कारणले आन्दोलन सम्झौतामा गएर फँसेको हो ? त्यसो हो भने आन्दोलनलाई सशस्त्र ढंगले टुङ्ग्याउन कसरी सम्भव छ, हामी क्रान्तिकारी युवाले सिक्नु पर्दछ । तत्कालिन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आइसेकपछि नेकपा (एकताकेन्द्र–मसाल)संगको एकताले माओवादी आन्दोलनलाई फाइदा ग¥यो कि बेफाइदा, त्यसको मुल्यांकन गर्नु पर्दछ ।
शान्तिप्रक्रियामा आएपछि भएको ६ दिनको विद्रोहको रिहर्सलबाट क्रान्तिकारी युवाले धेरै कुरा सिक्नु पर्दछ । क्रान्तिकारी आन्दोलनलाई घेराबन्दीमा पार्न गैरक्रान्तिकारीलाई पार्टीभित्र भित्र्याउने, क्रान्तिकारीलाई अल्पमतमा पार्ने र क्रान्तिकारीहरुलाई छिन्नभिन्न स्थितितर्फ धकेल्ने विगतमा भएका प्रयत्नहरुलाई हामी सुक्ष्म ढंगले अध्ययन गर्न र त्यसबाट सिक्न जरुरी छ । २०७२ सालको संविधान सभाको चुनाव बहिष्कार र २०७४ सालको स्थानीय निर्वाचन उपयोगलाई युवाले कसरी बुझ्ने र घटनाबाट के सिक्ने ? संविधानसभाको चुनाव बहिष्कार पनि क्रान्तिकारी थियो र स्थानीय निर्वाचनको उपयोग पनि सही थियो । संविधानसभाको चुनावको बहिष्कार एउटा सशस्त्र विद्रोहको जिवित रिहर्सल थियो । जुन ६ दिनको आन्दोलनको निकालेको निष्कर्ष विपरीत थियो । अर्काे संविधानसभाबाट जनताका अधिकार कुण्ठित हुँदै थियो । त्यस्तै स्थानीय निर्वाचन बहिष्कार गर्ने अवस्था पैदा नहुनुको र चुनावमा भाग लिनुको अर्थ स्थानीय निर्वाचनबाट जनताको हक अधिकार पाइन्छ भन्नु थिएन । पार्टी र संगठनलाई गति दिनु थियो र प्रतिक्रियावादी षड्यन्त्रको भण्डाफोर गर्नु थियो ।
वर्तमान राज्यव्यवस्था दलाल तथा नोकरशाही पुँजीवादमा आधारित प्रतिक्रियावादी संसदीय व्यवस्था हो । जसको व्यवस्था उसैको पक्षमा चुनावी परिणाम आउनु कुनै नौलो अनौठो कुरा होइन । तर पनि विश्लेषण गर्दा के देखिन्छ भने एमालेको पक्षमा जनमत देखिनु भनेको उसले अगाडि सारेको खाक्रो सामन्ती राष्ट्रवादी प्रचार पनि हो । यसबाट के बुझिन्छ भने नेपाली जनतामा राष्ट्रवादी भावना प्रवल छ । यसको नेतृत्व क्रान्तिकारीहरुले गर्न सक्नु पर्दछ । स्थानीय तहको निर्वाचन सकिदै गर्दा हामी कुन निष्कर्षमा पुग्न सक्दछौं भने यो निर्वाचनले अहिले सिंहदरबारभित्र भइरहेको भ्रष्टाचार, कमिसनलगायतका बेथितिहरुलाई स्थानीय तहसम्म विस्तारित मात्र गर्दछ । क्रान्तिकारी युवाहरुले चुनाव बहिष्कार गर्दा र चुुनाव उपयोग गर्दाको कठिनाइहरुको पहिचान गर्न सिकेका छौं । यो पनि एउटा महत्वपूर्ण शिक्षा हो । क्रान्तिकारी युवाहरुले वर्ग संघर्ष, अन्तर्संघर्षबाट ठूल्ठूला शिक्षा हासिल गरेर मात्र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सकिन्छ । अझ त्यो भन्दा पनि सिकेका कुरालाई लागु गर्न र कमजोरीहरुलाई नदोहो¥याउनु झन् आधारभूत आवश्यकता हो । त्यसैले हामी युवाहरुले विगतका सबै आन्दोलनहरुबाट सकार र नकार शिक्षा लिदै विगतका गल्ती नदोहो¥याउने संकल्प यस घडीमा गर्नैै पर्दछ ।