
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को आधिकारिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल निर्वाचन आयोगमा राजनीतिक दलको रुपमा दर्ता भएको छ ।
निर्वाचन आयोगको असार २८ गते बसेको बैठकले मोर्चालाई राजनीतिक दलको रुपमा दर्ता गर्ने निर्णय गरेपछि औपचारिक रुपमा देजमो राजनीतिक दलको रुपमा आयोगमा दर्ता भएको हो ।
आयोगले देजमो राजनीतिक दलको रुपमा दर्ता भएको जानकारी दिँदै नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र सो अन्तर्गत बन्ने राजनीतिक दल सम्बन्धी नियमावलीले व्यवस्था गरेका प्रावधानहरु पालना गर्ने सर्तमान नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५ बमोजिम देजमोलाई दर्ता गर्ने र कार्यकारी समिति, विधान र झण्डालाई प्रमाणित गर्ने निर्णय भएको जनाएको छ ।
आयोगले दलको विधानमा उल्लेखित प्रावधान नेपालको संविधान र प्रचलित कानुनको प्रतिकुल भएमा स्वतः अमान्य हुने उल्लेख गरिएको छ । देजमोले स्थानीय तहको पहिलो चरणको निर्वाचनअघि नै दल दर्ताका लागि निवेदन दिएको थियो ।
निर्वाचन आयोगले सो समयमा दलका रुपमा मान्यता नदिनुका साथै निर्वाचन चिन्ह समेत प्रदान नगरेपछि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र हैसियतमा निर्वाचनमा सहभागी भएको थियो ।