
काठमाडौं । माओवादी केन्द्रको शनिबार सम्पन्न बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा पुष्पकमल दाहाल‘प्रचण्ड’ले मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपालगायतलाई एकताका लागि आव्हान गरे लगत्तै प्रतिक्रिया दिंदै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ माओवादी केन्द्रसँग एकता असम्भव रहेको बताएका छन् । वर्गदृष्टिसँग कुरा गर्दै अध्यक्ष किरणले भने, “माओवादी केन्द्रको राजनीतिक लाइन हामीसँग होइन, कांग्रेस एमालेसँग मिल्छ, त्यसकारण उनीहरुले एकताको लागि हामीसँग होइन, एमाले कांग्रेससँग आव्हान गरे हुन्छ ।” उनले अगाडि थपे, “एकताको लागि हामीले ६ बुँदे शर्त अगाडि सारेका छौं । यी शर्त मान्ने कम्युनिष्ट क्रान्तिकारीहरुसँग मात्र हाम्रो एकता हुन्छ ।”
वर्तमान प्रतिक्रियावादी संसदीय व्यवस्था, सत्ता र संविधानको विरुद्धमा नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको क्रान्तिकारी माओवादीसँग माक्र्सवाद–लेनिनवाद–माओवादलाई पार्टीको मार्ग निर्देशक सिद्धान्त भएको दावी गरेपनि त्यही मार्गनिर्देशक सिद्धान्तको मूल मर्मविपरीत वर्तमान प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नै सुदृढ गर्ने र शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिक लाइन लिने निर्णय गर्न पुगेको माकेको एकता हुने स्थिति कुनै पनि कोणबाट देखिन्न । प्रचण्डले यो यथार्थ बुझ्दा बुझ्दै क्रान्तिकारी पंक्ति र जनतामा भ्रम सिर्जना गर्न एकताको कार्ड फ्याँकेको क्रान्तिकारी माओवादीका एक केन्द्रीय सदस्यले दावी गरे । हेटौडा महाधिवेशनबाट जनवादी क्रान्ति पूरा भएको भन्दै समाजवादी क्रान्तिको कार्यदिशामा अगाडि बढ्ने निष्कर्ष निकाल्दै आएको माओवादी केन्द्रको सम्पन्न बैठकले चुनावमा पराजयको कारण पार्टी विभाजन हुनुलाई निकालेको छ । तर क्रान्तिकारी माओवादीका नेताहरु भने वर्गीय र राष्ट्रिय रुपमा आत्मसमर्पण गर्न पुग्नुलाई नै माकेको पराजयको प्रमुख कारण मान्दछन् । माओवादी केन्द्रले जनयुद्धका मुद्दाहरु परित्याग गर्दै पछिल्लो स्थानीय तहसम्मको निर्वाचनसम्म आइपुग्दा थुप्रै जनघात र राष्ट्रघातका चाङ लगाएको मात्र छैन राजनीतिक लाइन, कार्यशैली, जीवनशैली, सोच, चिन्तन, साँठगाँठ र गठनबन्धनका हिसाबले कांग्रेस र एमालेभन्दा फरक अस्तित्व देखाउन सकेको छैन । ४ हजार बढी संख्याको केन्द्रीय समितिको विघटन गरेपछि माकेभित्र अहिले भाँडभैलो र रुवाबासी मच्चिएको माकेका एक कार्यालय सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताए । कतिपय इमान्दार र क्रान्तिकारी सोच राख्ने नेता कार्यकर्ताहरुले माकेको विकल्प खोज्न थालेको पनि ती नेताले दावी गरे ।
यता नेकपा (क्रान्तिकारी माओवादी)को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले लिएका निर्णयहरु एक प्रेस विज्ञप्ती मार्फत् सार्वजनिक गर्दै अध्यक्ष मोहन वैद्य‘किरण’ले क्रान्तिकारी कम्युनिष्ट पक्ष र समूहसँग एकता तथा ध्रुवीकरणका लागि सार्वजनिक आव्हान गरेका छन् । एकताका लागि ६ बुँदे शर्त तथा आधार प्रस्तुत गर्दै अध्यक्ष किरणले ‘दशवर्षको जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरुले गम्भीर धक्का खाएको, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गम्भीर बन्दै गएको र दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रभावी रहेको अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यमाथि आवश्यक ध्यान दिंदै क) माक्र्सवाद–लेनिनवाद–माओवाद अवलम्बन गर्ने, ख) नयाँ जनवादी क्रान्तिको कार्य्दिशा स्वीकार गर्ने, ग) क्रान्तिमा बलप्रयोगको सिद्धान्तलाई मान्ने, घ) वर्तमान पश्चगामी संविधानलाई अस्वीकार गर्ने, ङ) वर्तमान सत्ता तथा व्यवस्थाको मन्त्रीपरिषद्मा नरहने र च) जनवादी–केन्द्रीयताको सिद्धान्तलाई सवीकार गर्ने सैद्धान्तिक, राजनीतिक तथा सांगठानिक मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आव्हान गर्ने निर्णय लिइएको छ ।’ जारी विज्ञप्तीमा उल्लेख गरेका छन् ।
असार २५ देखि ३० गतेसम्म बसेको बैठकले यही असोजको चौथो सातामा आयोजना गरिएको राष्ट्रिय सम्मेलनको तयारीका लागि अध्यक्ष किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र तथा नेपाली समाजको स्वरुप तथा पार्टीको आम कार्य्दिशा– शीर्षक रहेका दुई राजनीतिक प्रस्ताव तथा नेता राम सिंह श्रीसद्वारा प्रस्तुत पार्टी विधान सम्बन्धी प्रस्ताव प्रस्तुतको मूल प्रवृत्ति तथा स्प्रिटलाई पारित गरेको छ ।
बैठकमा प्रस्तुत सो प्रस्तावमा देश अर्ध सामन्ती, अर्ध औपनिवेशिक तथा नव औपनिवेशिक अवस्थामा रहेको स्थितिमा नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको र समाजवाद हुँदै साम्यवादमा जाने पार्टीको लक्ष्य रहेको उल्लेख गरिएको छ । यसैगरी सो पार्टीले स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुलाई समर्थन गर्ने निर्णय सही भएको र अपेक्षकृत परिणाम नआउनु स्वभाविक रहेको निष्कर्ष निकालेको समेत वक्तव्यमा उल्लेख गरिएको छ ।
अध्यक्ष किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चुनावमा प्रतिक्रियावादी तथा संसदवादी राजनीतिक दलहरुबाट एकातिर अनेकौं विकृति, विसंगति तथा धाँधली भएका छन् भने अर्को्तिर उनीहरुले आफ्ना राजनीतिक एजेण्डाहरुलाई तिलाञ्जली दिएर आपसमा विभिन्न रुपमा अपवित्र तालमेल गर्न पुगेका छन् । यसलाई वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको राजनीतिक पहिचानको संकटको रुपमा लिनु पर्दछ ।’
उता प्रचण्डले भने ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको वर्तमान चरणमा पार्टीले निर्वाचनलाई लेनिनले ‘दुमा’को उपयोग गरेको अर्थमा नलिई सर्वहारा श्रमजीवी वर्गको संघर्षले ल्याएको उपलब्धिलाई संस्थागत र उपयोग गर्ने नयाँ चरणको क्रान्तिको तयारीको अर्थमा ग्रहण गर्नुपर्छ’, भन्ने दस्तावेज सचिवालय बैठकबाट पारित गराएका छन् ।
माओवादी केन्द्रले पनि यसअघि निर्वाचनलाई मात्र उपयोगका रूपमा लिँदै आवश्यक परे फेरि क्रान्तिमै फर्किने बताउँदै आएको थियो । तर, शनिबार पारित दाहालको राजनीतिक प्रतिवेदनपछि भने वैधानिक रूपमा नै अबदेखि उसले निर्वाचनलाई रणनीतिक रुपमा प्रयोग गर्ने स्पष्ट गरेको छ ।