काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सीटीईभीटी अन्तर्गत डिप्लोमा/प्रमाणपत्र तहको पूर्ण शुल्कीय प्रवेश परीक्षा पुनः गराउन ध्यानाकर्षण गराएको छ ।
क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले एक ध्यानाकर्षणपत्र जारी गर्दै २०७४ को प्रवेश परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै यस कार्यमा संलग्नहरुमाथि कारबाही गरी पुनः परीक्षा गराउन माग गरेका हुन् ।
परीक्षा नियन्त्रकलाई सम्बोधन गरी भण्डारीद्वारा जारी ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘सीटीईभी अन्र्तगत आसन्न डिप्लोमा/प्रोफिसियन्सी सर्टिफिकेट तहको पूर्ण शुल्कीय परीक्षा २०७४ को प्रवेश परीक्षा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको हुँदा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । सीटीईभीटीकै केन्द्राध्यक्ष र निजी कलेज सञ्चालकको मिलेमतोमा आर्थिक चलखेल गरी उक्त प्रश्नपत्र बाहिरिएकाले निजहरुलाई कारबाही गरी परीक्षा पुनः हुनेगरी सो परीक्षा रद्द गर्न आग्रह गर्दछौं ।’
क्रान्तिकारीले यो घटनाका दोषीहरुलाई कारबाही नगरी परीक्षा नगर्न आग्रह गर्दै आफूहरुका मागलाई बेवास्ता गरी अघि बढेमा पर्न जाने असरप्रति सीटीईभीटी स्वयम् जिम्मेवार हुने चेतावनी समेत दिइएको छ ।