एजेन्सी । सिरियामा राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारविरुद्ध सहयोग गरिररहेको अमेरिकाले अब विपक्षी समूहलाई सहयोग नगर्ने भएको छ ।
सन् २०११ को मार्च महिनामा सिरियामा राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारविरुद्ध सुरु भएको आन्दोलन त्यसको एक महिनापछि नै गृहयुद्धमा परिणत भएको थियो ।
सो गृहयुद्धमा अमेरिकाले विपक्षी समूहलाई सहयोग गर्दै आएको थियो । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सिरीयाली विपक्षी समूहलाई अमेरिकाले गर्दै आएको सहयोग रोक्न लागिएको हो ।
अमेरिकी गुप्तचर एजेन्सी सिआईएले सिरीयाली विपक्षी समूहलाई दिँदै आएको तालिम र सैन्य सामग्री तथा उपकरण सहयोग कटौती हुने भएको हो । अमेरिकाको पछिल्लो निर्णयसँगै सिरियामा ६ वर्षभन्दा लामो समयदेखि अमेरिकी सहयोगमा विध्वंस मच्चाइरहेको विपक्षी समूह कमजोर हुने छ ।
अमेरिकी सहयोगमा रहेको विपक्षी समूहल सिरियाको व्यापारिक राजधानीका रुपमा चिनिएको एलेप्पो क्षतविक्षत बनेको थियो भने सिरिया युद्धका क्रममा ३ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
अमेरिकाको पछिल्लो निर्णयसँगै सिरियाली सरकारलाई सहयोग गरिरहेको रुस र सिरियाली सरकारलाई प्रत्यक्ष रणनीतिक फाइदा पुग्नुका साथै सिरिया द्वन्द्व समाधानमा समेत सहयोग पुग्ने अनुमान गरिएको छ ।
रुसलाई खुशी पार्न ट्रम्प प्रशासनले यस्तो निर्णय गरेको अमेरिकी विश्लेशकहरुको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक भएपनि यसले सिरिया संकट समाधानमा भने सघाउ पुग्ने विश्वास गरिएको छ ।
सिरियाली शासक असदविरुद्धको आन्दोलनमा सघाउन सन् २०१३ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालामा तालिम तथा सैन्य सहयोग कार्यक्रम सुरु गरिएको थियो ।
सिरीयाली विपक्षी समूहलाई अमेरिका लगायतका पश्चिमाहरुको साथ रहँदै आएको छ भने सरकार पक्षलाई रुस, ईरानलगायतका मुलुकको साथ छ ।