दःुखकासाथ भन्नुपर्दछ कि यतिबेला आन्दोलनको स्थिति राम्रो छैन ।
१९७६ सालमा माओको मृत्यु भएपछि संशोधनवादीहरुले प्रतिक्रान्तिकारी ‘कू’मार्फत् समाजवादी चीनमा राज्यसत्ता कब्जा गरेर चीनलाई एउटा पुँजीवादी देशमा परिणत गरेका थिए । यसको फलस्वरुप विश्वमा समाजवादी देशको अस्तित्व रहेन र करीव ५० वर्षको लामो अवधिपछि साम्राज्यवादी र समाजवादी विश्व व्यवस्थाका बिचको अन्तरविरोध सकियो । यसले विश्व कम्युनिस्ट आन्दोलनमा एउटा ठूलो आधात पु¥याएको थियो ।
तर, विश्व कम्युनिस्ट आन्दोलनमा आईपरेको यहि नकारात्मक विकासको मुकाविला गर्नका लागि संसारका विभिन्न क्षेत्रका माओवादीहरुले एउटा अभियानलाई अगाडि बढाए र १९८४ मा विश्वभरिका माओवादीहरुको एकताको केन्द्रका रुपमा ‘रिम’ गठन गरे । भारत तथा फिलिपिन्सका माओवादीहरुको एउटा हिस्सा रिममा जोडिएन तर रिमको नेतृत्वमा माओवादीहरुले सिद्धान्त र प्रयोगको क्षेत्रमा र विशेषतः कम्युनिस्टहरुको एउटा अन्तर्राष्ट्रिय संगठन निर्माणको क्षेत्रमा महत्वपूर्ण अनुभव आर्जन गरे र पर्याप्त विकास गरे । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका विगतका अनुभवहरुको समीक्षा गर्दै, अन्तर्राष्ट्रिय आम कार्यदिशाको निर्माण गर्दै, नयाँ प्रकारको अन्तर्राष्ट्रिय निर्माणको क्षेत्रमा सकारात्मक अनुभव आर्जन गर्दै, पेरुमा जनयुद्धको विकास, नेपालमा जनयुद्धको विकास, भारत, फिलिपिन्स, बाङ्गलादेश तथा टर्की समेत विभिन्न देशका क्रान्तिकारी संघर्ष तथा जनयुद्धको क्षेत्रमा महत्वपूर्ण प्रभाव विस्तारलगायतको प्रक्रिया पारगर्दै दुई दशकसम्म रिम अगाडि बढ्यो । यो विकास अन्तरविरोध रहित भने थिएन र त्यस्तो हुनु संभव पनि थिएन । रिमले मुलतः एकताबद्ध रहेर यसले विभिन्न गलत कार्यदिशा र विचारधारका विरुद्ध भित्र र बाहिर महत्वपूर्ण लाईन संघर्ष चलायो ।
तर, रिमको यो अग्रगतिको बाटोमा पहिलो दशकको दोस्रो खण्डदेखि नै अडचनहरु देखापर्न थालेका थिए । यसको कारण रिमका नेतृत्वदायी कतिपय पार्टीहरुका बीचमा देखापरेका भडकाब र गलत कार्यदिशा थियो । रिमभित्र गंभीर मतभिन्नता देखाप¥यो, जुन पछिगएर दुई–लाईन संघर्षको रुपमा विकसित भयो । परिणामतः अन्तसम्म आईपुग्दा रिमपन्थीहरुको विचमा ठूलो विभाजन देखाप¥यो र रिम पूर्णतः निस्कृय भयो ।
वास्तवमा, जेलमा बन्दी बनाईएका नेता गोञ्जालोको नाम जोडेर पेरुको पार्टीमा दक्षिणपंथी अवसरवादी लाईन देखापरे लगत्तै रिमभित्र दुई–लाईन संघर्षको रुपमा ठूलो मतभिन्नता पैदाभएको थियो । तर, त्यही अवसरवादी लाईनको कारणले मात्र पेरुको क्रान्ति विचलित भएको थियो भन्न खोजिएको होइन । त्यो अवसरवादी लाईनकाविरुद्ध पार्टीको तात्कालिन केसले गलत अडान लियो । त्यो अवसरवादी लाईनलाई पार्टीभित्रको दुईलाईन संघर्षको रुपमा परिचालन नगरेर त्यसलाई दुश्मनले गरेको षड्यन्त्रका रुपमा मात्र लिए । यी दुईथरी विपरीत प्रकारका लाइनको एकता दुवै पक्षले गोञ्जालो विचारधाराप्रतिको समर्पण भएको देखिन्छ । तिनीहरु दुवै पक्षले अवलम्बन गरेको लाईनका प्रणेता गोञ्जालो नै रहे । दुश्मनको दमनका कारण कमजोर भएको पेरुको जनयुद्ध र क्रान्तिकारी संघर्षलाई यसले दिशाहीन र भ्रमित बनाई दियो । त्यति मात्र होइन, यसले रिमभित्र पनि विभिन्न गलत विचारहरुलाई जन्म दियो, फुटको बीउ रोपियो । तर, ९०को दशकभरी रिमका नेतृत्वदायी र अन्य सहभागी शक्तिहरुले पेरुको प्रश्नमा एउटा एकताबद्ध मान्यता ग्रहण गरेका कारण रिम अगाडि बढेको थियो ।
पेरुको समस्याको अर्को एउटा स्रोत खुद गोञ्जालोको व्यक्तिगत भूमिकालाई लिएर पैदा भएको तुवाँलो थियो, जसलाई पेरुको पार्टीका नेताहरुले नै सबैभन्दा बढी धुमिलो बनाईदिए । जतिबेला गोञ्जालोको नाममा “शान्ति प्रस्ताब” नामको दक्षिणपन्थी अवसरवादी लाइन अगाडि आयो त्यतिबेला पेरुको पार्टीको केस त्यस सम्बन्धमा अनुसन्धान गर्न समेत तयार भएन । तथापि रिम कमिटीको नेतृत्वमा जति अनुसन्धान भयो र पछि जुन तथ्यहरु बहिर आए त्यसबाट गोञ्जालो जनयुद्धलाई स्थगित गरेर कुनै न कुनै प्रकारको राजनीतिक संझौताको पक्षमा थिए भन्ने कुरामा शंकागर्ने ठाउँ थिएन । तर, वस्तुगत वास्तविकताबाट निर्णय नलिएर रिमभित्र पनि यस्तो एउटा “राजनैतिक सत्य” खोज्ने प्रयत्न गरियो कि गोञ्जालोले कुनै गल्ती गर्दैनन् किनभने उनी एउटा प्राधिकार (जेफे) नेतृत्व थिए । यहि जेफेतुराको सिद्धान्त नै गोञ्जालो विचारधाराको एउटा स्तम्भ थियो, जसले माक्र्सवादी वस्तुवादलाई भन्दा एउटा व्यक्तिवादी दृष्टिकोणलाई शक्तिशाली बनाएको थियो । यही अमाक्र्सवादी दृष्टिकोण पेरुको पार्टीभित्रको दुईलाईन संघर्षलाई अगाडि बढाउने र त्यसबाट क्रान्तिकारी कार्यदिशाको विकास गर्ने बाटोमा अवरोधका रुपमा देखा प¥यो, त्यसले नेता कार्यकर्ता साथै जनसमुदायलाई परिस्थितिबारे सचेत गराउन सकेन र परिणामतः पेरुको क्रान्तिमा एउटा विपत्ति आईलाग्यो । उपरोक्त जेफेतुरा विचारधारा क्रान्ति र पार्टीमा संकट पैदा भएको कुरालाई स्वीकृति दिनसमेत सकेन, जसको प्रभाव रिममा पनि परेको थियो । यी सबैकुरा पछि रिमको पुनर्गठनगर्ने प्रयास (पहिले रिमको सदस्य रहेका कमरेड अजितले नेतृत्व गरेको भारतको एनवि, ईटलीको माओवादी पार्टी र अफगान माओवादी पार्टीले २०११मा आयोजना गरेको एउटा स्पेशल मिटिङ्ग) गरिएकोे बेला पनि देखिएको थियो, जसमा हाम्रो स्पष्ट मतभिन्नता रहेको थियो ।
यहि गलत दृष्टिकोणको अंशका हिसावले ‘विचारधाराका’का सम्बन्धमा त्यति बेलाको रिमभित्र एउटा गलत चिन्तनको विकास भएको थियो, जसले प्रत्येक देशमा मालेमाको प्रयोग गर्ने सन्दर्भमा अलग–अलग विचारधारा आवश्यक हुन्छ भन्ने मान्दथ्यो । यसले मालेमा र कम्युनिस्टहरुको आदर्श अन्तर्राष्ट्रियतावादका विपरीत अन्धराष्ट्रवादी भडकाव पैदा गर्दछ, जसलाई हाम्रो देशमा पनि एसएस–विचारधारा र सिएम–शिक्षाका रुपमा प्रचार गरेको देख्न पाईन्छ । कम्युनिस्टहरु अन्तर्राष्ट्रियतावादी हुन्छन् र तिनीहरुको विचारधारा अन्तर्राष्ट्रियतावाद हो । त्यसकारण, कम्युनिस्ट विचारधाराले प्रत्येक देशमा अलग–अलग विचारधारा हुनुपर्छ भन्ने कुरा मान्दैन । उपरोक्त प्रकारको अन्धराष्ट्रवादी भड्काव २००१ देखि ‘प्रचण्ड पथ’को नामबाट नेपालको क्रान्तिमा पनि देखिन थाल्यो । ‘पथ’ भनिए पनि त्यो विचारधारा नै थियो । यसरी रिमभित्र समेत पेरुको विचारधारात्मक समस्याले व्यापक विस्तार ग¥यो जुन पछि गएर रिम लोप हुनुका पछाडिको एउटा महत्वपूर्ण कारण बनेको छ । रिम लोप हुनुका पछाडिको एउटा कारण पेरुको पार्टीको यो भडकाव थियो भन्ने कुरा नमान्नु अहिलेसम्म पनि एउटा समस्या रहेको छ । यो रिमको पुनर्गठनको सन्दर्भमा एउटा ठूलो अबरोध हो ।
माओवाद तथा जनयुद्धको सार्वभौमिकता ग्रहण गर्ने सन्दर्भमा गोञ्जालो र पेरुको पार्टीले ८०को दशकमा योगदान दिए पनि र तिनीहरु सुरुबाट नै रिमको सदस्य भए पनि रिममा तिनीहरुको भूमिका कहिल्यै पनि धारावाहिक र सुदृढ रहेन । त्यसरी नै, अन्तर्राष्ट्रिय सन्दर्भमा ‘मूख्यतः माओवाद’ र राष्ट्रिय सन्दर्भमा ‘प्रधानतः गोञ्जालो विचारधारा’को नयाँ सूत्र ल्याएर तिनीहरुले सिद्धान्त र विचार प्रतिको निष्ठा र मान्यताको क्षेत्रमा अर्को एउटा भ्रम सिर्जना गरे । जनयुद्धको सार्बभौमिकताको प्रश्नमा, पुंजीवादी–साम्राज्यवादी देश तथा साम्राज्यवादद्वारा उत्पीडित देशका सन्दर्भमा तिनीहरुमा अस्पष्टता देखियो, कुनै कुनै पार्टीले साम्राज्यवादी देशहरुमा पनि “दीर्घकालिन जनयुद्ध”को रणनीति लागु हुन्छ भन्ने भनाईमा हामीले त्यसको प्रभाव देख्यौं । यो सबै, रिमभित्र पहिल्यै देखि नै बहस–छलफलको विषयका रुपमा रहे पनि पछि रिम विभाजनका बेला अन्तर्राष्ट्रिय रुपमा र देश–देशमा यो सैद्धान्तिक बहसको ठूलो भूमिका रह्यो ।
त्यसकारण यो भन्न सकिन्छ कि रिमले पेरुको शान्ति–वार्ताका विषयमा एउटा क्रान्तिकारी धारणा बनाए पनि पेरुमा विकसित परिस्थितिका सबै विषयमा रिमभित्र एउटै एकताबद्ध धारणा थिएन । तर पनि रिम आधारभूत एकताका आधारमा अगाडि बढेको थियो र मतभिन्नतालाई निवारणगर्न रिम भित्र ‘स्ट्रगल’ नामको एउटा जर्नल प्रकासन गरेर दुई–लाईन संघर्षलाई विकसित र समाधान गर्न एउटा राम्रो विधी ग्रहण गरेको थियो । तर, यो केही दिन चलेपछि अन्य नकारात्मक विकासले यसलाई अडकाई दियो । यी नकारात्मक विकास मध्ये रिम भित्रको एउटा मूख्य पार्टी नेपालको पार्टीमा विकास भएको संशोधनवादी लाईन थियो, जसलाई पार्टीका मुल नेतृत्व प्रचण्ड र उनका सहयोगी भट्टराईले नेतृत्व गरेका थिए । प्रचण्ड–भट्टराई पेरुको पार्टीको ‘विचारधारा’को गलत सिद्धान्तबाट प्रभावित भएर २००१ देखि नै अन्तर्राष्ट्रियतावादबाट पछि हटन सुरुगरे र पार्टीमा अन्धराष्ट्रवादको विकास भयो । यही सेरोफेरोमा उनीहरुले ‘फिउजन’ सिद्धान्तको नामबाट वस्तुतः दीर्घकालिन जनयुद्धलाई कमजोरपार्न सुरुगरे । २००६मा राजतन्त्रको अन्त पछि यो प्रक्रियाले पूर्णता पायो । समाजवादी समाजमा जनवादको विकासको नाममा २००३ देखि नै वस्तुतः तिनीहरुले १८औं शताव्दीको वुर्जुवा क्रान्तिको सिद्धान्तलाई महिमामण्डित गरेर समाजवादी क्रान्तिको सिद्धान्त र प्रयोगबाट पर सर्न सुरुगरेका थिए । यसको संशोधनवादी सार २००४मा प्रकासित उनीहरुको मूखपत्र ‘वर्कर’को ‘नयाँ राज्य’ नामको लेखबाट व्यक्त भयो र यसले राज्यसत्ता सम्बन्धि माक्र्सवादी मान्यतालाई कमजोर बनाईदियो । यो भडकाव २००६ सालमा राजतन्त्रको अन्त भएपछि नेपालका दलाल पूंजीपतिसंग मित्रताको बाटोखोल्ने सैद्धान्तिक आधार बन्न गयो र नयाँ जनवादी क्रान्तिको ‘उपचरण’को नाममा वस्तुतः दलाल पूंजीपतिवर्गले आनो नौका पार लगाउने मौकापाए । नयाँ जनवादी क्रान्तिबाट यसरी माओवादीहरु पछिहटे । तर यो सबै उनीहरुले माक्र्सवादको विकासको नाममा गरेका थिए । परिणामतः नेपालको संभावनायुक्त क्रान्तिको विसर्जन भयो । विश्व क्रान्तिको एउटा अपूरणीय क्षति भयो ।
रिम भित्रका यी सबै नकारात्मक परिघटनाका विरुद्ध रिमको एउटा सँस्थापक पार्टी र नेतृत्व अमेरिकाको माओवादी पार्टी, आर.सी.पी.ले महत्वपूर्ण संघर्षको सुरुआत ग¥यो । तर छिटै,े मालेमाको विकासको नाममा उनीहरुले पहिल्यैदेखि उठाएको विषयले भडकावको बाटो पक्डिसकेको थियो । आर.सी.पी.ले “साम्यवादको नयाँ संश्लेषण”का नाममा एउटा नयाँ अवधारणा अगाडि ल्यायो । उनीहरुले १९१७को रुसी क्रान्ति अथवा, १८७१को पेरिस कम्युन अथवा १८४८मा कम्युनिस्ट घोषणापत्रको प्रकासन भएपछि सुरु भएको साम्यवादी आन्दोलनको प्रथम चरण १९७६मा माओको मृत्यु र चीनको प्रतिक्रान्तिसम्म पुग्दा समाप्त भएको दावीगरे । उनीहरुको विचारमा पहिलो चरणको सैद्धान्तिक आधारको हिसावले मालेमाको प्रधान एवं धेरै सकारात्मक योगदान थियो तर त्यसका साथै यो संघर्षमा यसका कतिपय गंभीर नकारात्मक पक्षहरु पनि थिए र यी सबै गल्तीबाट साम्यवादी सिद्धान्तलाई मुक्त गरे मात्र आन्दोलनलाई अगाडि बढाउन संभव छ । यसको अर्थ हो कम्युनिस्ट क्रान्तिलाई अगाडि बढाउनका लागि मालेमा अब पर्याप्त छैन । यो स्थितिमा नयाँ एउटा सैद्धान्तिक संरचना (ँचबmभधयचप)आवश्यक भएको छ, जसले विगतका समग्र सैद्धान्तिक संरचनालाई नयाँ गुणात्मक चरणमा अगाडि बढाओस् । यतिबेला आर.सी.पी.ले पार्टी अध्यक्ष वव अभाकियनद्वारा प्रस्तावित ‘नयाँ संश्लेषण’ (एन.एस.) त्यही नयाँ सैद्धान्तिक संरचना हो, यो अहिले नै पूर्ण भैसकेको छैन, त्यसलाई अरु विकास गर्दै लैजानु पर्दछ भन्ने कुरा गरेको छ ।
तिनीहरुको यो दावीले रिमभित्र व्यापक बहस र विभाजन सृष्टि गर्नपुग्यो । पेरुको क्रान्तिले धक्का खाएको र नेपाली क्रान्तिले पनि बाटो विराएको स्थितिमा आर.सी.पी.को यो अडानले रिम र विश्व माओवादी आन्दोलनमा देखा परेको प्रतिकुलतालाई समाधान गर्नुको सट्टा आन्दोलनलाई अरु कमजोर बनायो । भ्रम र विभाजन व्यापक भयो । विशेषतः आर.सी.पी.को यो दावीका कारण उनीहरु रिमको पुरानो आधार, मालेमा र रिमले आर्जन गरेको अनुभवको आधारमा रिमलाई अगाडि बढाउन अस्वीकार गर्नेतिर लागे । अर्कोतिर, नयाँ संश्लेषणको विरोध गर्दै जांदा रिमभित्रका एनबी र नेपालका केही महत्वपूर्ण शक्ति समेत भिन्न तरिकाले रिमका उपलव्धीलाई त्याग्नेतिर उद्यत भए । रिममा पैदाभएकोे प्रतिकुलता, विभाजन र निस्कृयता आदिका कारण पहिलेदेखि रिम भन्दा बाहिर रहेका माओवादी शक्तिहरु मध्येका केही पार्टीले रिमको गठनको विरोधलाई सही ठह¥याए, जसमध्ये भारतको माओवादी पार्टी पनि पर्दछ । यसरी विश्व माओवादी आन्दोलन तथा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा एउटा गंभीर प्रतिकूल स्थिति पैदा भयो । यो स्थितिलाई एङ्गेल्सको मृत्युपछि दोस्रो अन्तर्राष्ट्रियका संशोधनवादीहरु माक्र्सवादका विपरित चल्न सुरुगरेको तात्कालिन प्रतिकुल अवस्थासंग तुलना गर्न सकिन्छ । त्योबेला महान लेनिनको नेतृत्वमा सैद्धान्तिक तथा वर्ग संर्घषको प्रक्रियाबाट कम्युनिस्ट आन्दोलनले गति प्राप्त गरेको थियो र रुसमा क्रान्ति सम्पन्न भएको थियो । अथवा, यो स्थितिलाई माओको मृत्युपछिको महासंकटको बेला क्रान्तिकारी कम्युनिस्टहरुले रिम गठन गरेर संकटको समाधान गर्न अगाडि बढेको स्थितिसंग पनि तुलनागर्न सकिन्छ । यसरी, क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लाईन–संघर्षले माथि उल्लेखित दुई स्थितिमा जस्तै महत्वपूर्ण र व्यापक एउटा महाविवादको सृष्टि गरेको छ । विश्व कम्युनिस्ट आन्दोलनको अग्रगति यही विवादको क्रममा लिईने निष्कर्षमा भरपर्नेछ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विगतको अनुभवले भन्दछ कि कम्युनिस्ट आन्दोलनकोे पुनः विकास हुनु अनिवार्य छ तर त्यो कति छिटो हुन्छ भन्ने कुरा सच्चा माओवादीहरुले लिने निर्णयमा निर्भर हुन्छ ।
यसमा कुनै सन्देह छैन कि मालेमा एउटा विज्ञानसम्मत विचार भएको हुनाले यो एक ठाउमा थामिईरहन सक्दैन र त्यसको निरन्तर विकास गर्नु पर्दछ । वास्तवमा माओको मृत्युपछि रिम गठनको प्रक्रियाद्वारा माओवादीहरु यही बाटोमा अगाडि बढेका थिए । रिमले तेस्रो ‘अन्तर्राष्ट्रिय’को विघटनको प्रारम्भिक समीक्षा गरेर नयाँ अन्तर्राष्ट्रिय गठनगर्ने दिशामा अगाडि बढेको थियो, दोस्रो विश्वयुद्धका बेला तेस्रो अन्तर्राष्ट्रियले लिएको फासिवाद विरोधी लाईनमा अन्तर्निहित अन्धराष्ट्रवादी तथा बुर्जुवा गणतान्त्रिक भडकावको समीक्षा गरेको थियो, माओवाद ग्रहण गरेको थियो, जनयुद्धको सार्वभौमिकता ग्रहण गरेको थियो र सिद्धान्त, लाईन तथा प्रयोगका थुप्रै अनुभव बटुल्दै अगाडि बढेको थियो । रिमभित्रका मुख्य नेतृत्वदायी पार्टीहरुका बीचमा मतभिन्नता थियो, तर त्यही कारणले मात्र रिमलाई अगाडि बढाउन संभव थिएन भन्ने हामीलाई लाग्दैन । आर.सी.पी.ले यस क्षेत्रमा विकासको नाममा नीतिगत मान्यतालाई नै कमजोर बनाई दिएको छ र वर्तमान कम्युनिस्ट आन्दोलनको एउटा महत्वपूर्ण खम्वा रिमलाई नै छाडिदिएको छ । र यो काममा तिनीहरुलाई नयाँ संश्लेषणले उक्साई रहेको छ । त्यसकारण नयाँ संश्लेषणमाथि गंभीर छलफल गर्नु विश्व कम्युनिस्ट आन्दोलनमा अपरिहार्य भएको छ ।
हामीले नयाँ संश्लेषणको केही विश्लेषण र मुल्याँकन गरेका छौं जसलाई अन्तर्राष्ट्रियरुपमा अन्य सच्चा मालेमावादीको सहयोग लिएर अगाडि बढाउन, त्यसका सीमा तथा संभाव्य दुर्वलता, अपूर्णता वा भडकावलाई हटाउन आवश्यक छ । यसबारे आर.सी.पी.संग पनि हामीले बहस–छलफल गर्नुपर्दछ । हाम्रो बुझाईमा नयाँ संश्लेषणको कमजोरी वर्गीय दृष्टिकोण अर्थात वर्गीय मान्यतालाई कमजोर पार्नु रहेको छ । कम्युनिस्ट आन्दोलनको समीक्षा गर्ने क्रममा माक्र्सवादी मेथोडोलोजीबाट हटने, नीतिबाट परसर्ने, विगतका अनुभवको नकारात्मक पक्षका कारण आन्दोलनका विभिन्न स्तरका अनुभवलाई सरलरेखीय तरिकाले स्थापना गर्ने, ती सबैलाई मिलाई एउटा पुरानो चरणका रुपमा ईङ्गित गर्ने र यसरी अतीतलाई नकार्ने कुरामा तिनीहरुलाई यही नयाँ संश्लेषणले परिचालित गरेको छ । तर, मालेमाको विश्लेषण तथा व्याख्या र विगतको कम्युनिस्ट आन्दोलनका समृद्ध अनुभवहरुको अन्वेषण तथा मुल्यांकनको प्रक्रियाबाट आउने दिनमा कम्युनिस्ट क्रान्तिलाई दरो जगमा उभ्याउने उनीहरुको धारणा भने गलत होईन ।
नयाँ संशलेषण र मालेमावादका बीचमा भिन्नता थुप्रै छन् । तर, ती मध्ये मूल विषयहरु निम्नानुसार रहेका छन् ।
सर्बहारा वर्ग र उत्पीडित जनताको मुक्तिको विचारका रुपमा रहेको मालेमावादी मान्यताका ठाउँमा नयाँ संश्लेषणले ‘मानवमूक्तिको विचार’को चेतनालाई अगाडि सारेको छ । वर्गस्वार्थ तथा वर्गसंघर्षलाई गौण गराएर ‘विज्ञान’लाई तिनीहरुले केन्द्रीय प्रश्नका रुपमा अगाडि ल्याएका छन् । यसले वस्तुगत वास्तविकताको सत्यलाई स्थापित गर्ने नाममा चेतनालाई अर्थात वस्तुगत वास्तविकताको सही प्रतिविम्वका हिसाबले चेतनाको सत्यतालाई कमजोर गराएको छ र यसरी चेतनालाई, विभिन्न वर्गका विभिन्न सत्यको वस्तुगत नियमलाई अर्थात ‘वर्गसत्य’ वा ‘राजनीतिक सत्य’को महत्वलाई खारेज गरिदिएको छ । जनसमुदाय तथा उत्पीडित वर्गको क्रान्तिकारी संघर्ष र जनयुद्धलाई केन्द्रविन्दु नबनाई, वैज्ञानिक सच्चाईमा आधारित हुने नाममा तिनीहरु वस्तुतः जनसंघर्षबाट परसरेका छन् । नयाँ संश्लेषणले ‘कस्तो समाज खोजेको छ’ भन्ने वैचारिक–राजनीतिक विषयलाई यसरी उठाएको छ कि यसमा जनयुद्ध र क्रान्तिकारी संघर्षको प्रश्न संबन्धित देशको क्रान्तिको केन्द्रीय प्रश्न हो भन्ने तथ्य कमजोर बन्नगएकोे छ । अन्तर्राष्ट्रियतावादको नाममा निर्दिष्ट देशको क्रान्तिको मूर्त प्रश्नलाई तिनीहरुले कमजोर बनाएका छन् । ‘पुरानो प्रकारको समाजवाद अव चाहिंदैन’ भनेर समाजवादको क्रान्तिकारी विरासत महान सर्बहारा सांस्कृतिक क्रान्तिलाई नकारिएको छ । वर्तमान विश्व परिस्थिति बारे छलफलको क्रममा तिनीहरुले ‘दुई अचल’को सूत्र अगाडि सारेर मौलावादको प्रश्नलाई एकातिर साम्राज्यवाद संगै समान हैसियतको शत्रुका रुपमा प्रस्तुत गरेका छन् भने अर्कोतिर साम्राज्यवादका विरुद्धको लडाईमा जनताको धर्मीय भ्रमबाट पैदा भएको भूमिकालाई अवमूल्यन गरेका छन् र उनीहरु धर्मको अनैतिहासिक मूल्यांकनद्वारा परिचालित भएका छन् । क्रान्तिको मूल कार्यक्रमलाई पक्डने नाममा प्रधान दुश्मनकाविरुद्ध आक्रमण केन्द्रितगर्ने माओवादी कौशललाई छाडेर तिनीहरुले प्रधान अन्तर्विरोधको सिद्धान्तलाई त्यागेका छन् । कम्युनिस्ट क्रान्तिको अन्तिम उद्देश्यलाई महत्वदिने कुरा छाडेर समाजवाद वा नयाँ जनवादका रुपमा सर्बहारा वर्गको अधिनायकत्व वा सर्बहारा वर्गको नेतृत्वमा जनवादी अधिनायकत्वको चरणको रणनैतिक महत्वलाई गोलमटोल गरिदिएका छन् ।
आर.सी.पी.ले भनेको छ कि नयाँ संश्लेषणको प्रक्रिया अहिले पनि चालु छ । उनीहरुले यसमाथि छलफल चलाउन चाहेका छन् । र आउने कम्युनिस्ट क्रान्तिलाई सही जगमा उठाउन कै लागि उनिहरुले यो प्रयास थालेका हुन । आशा गरौं तिनीहरुले छलफल अगाडि बढाउन कदम चाल्ने छन् र केबल नयाँ सश्लेषणलाई मात्र अगाडि सार्ने छैनन् । तर तिनीहरुको सीसीले हालसालै ग्रहण गरेको ६ वटा निर्णयका आधारमा भने त्यस्तो अपेक्षा गर्न सकिन्न । आर.सी.पी. अन्तिमसम्म सर्बहारा क्रान्तिको बाटोमा हिड्छ कि मानवतावादी साम्यवादको नाममा बुर्जुवा बुद्धिजीबी विज्ञानको बाटोमा हिंड्छ भन्ने कुरा यसैमा निर्भर गर्दछ ।
त्यसकारण हामीलाई लाग्छ कि नयाँ संश्लेषण, गोञ्जालो विचारधारा र प्रचण्डपथ लगायतका सैद्धान्तिक विषयहरु रिमभित्र ठोस निर्णय नलिईएका विषय थिए । यी विषयले अहिले व्यापक बहसको जन्म दिएका छन् र विश्वभरीका माओवादीहरुको बीचमा एउटा दीर्घकालिन र व्यापक कमरेडली बहसको आवश्यकता परेको छ । यो बहसको बीचबाट कम्युनिस्ट क्रान्तिका बर्तमान प्रतिकुलताका कारणहरु अरु सुस्पष्ट र राम्रोगरी बाहिर आउने छन् र आउने दिनमा कम्युनिस्ट क्रान्ति नयाँ उचाईमा पुनः विकसित हुनेछ । साथै, हामीलाई लाग्छ कि रिमको सैद्धान्तिक आधार मालेमा तथा त्यसका उपलव्धीका जगमा क्रान्तिकारी कम्युनिस्टहरुको विश्वस्तरमा पुनः एकतावद्ध हुनु आजको एकमात्र माग हो । क्रान्तिकारी कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय एकता प्रयासका साथै दक्षिण एशियामा क्रान्तिकारी शक्ति र क्रान्तिकारी संघर्षलाई, विशेषतः जनयुद्धलाई एकतावद्ध गराउने कार्यक्रमलाई पनि पुनः गति दिनुपर्दछ । यसभन्दा अगाडि ‘कम्पोसा’को गठन यो क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि थियो, जुन रिमको संकटको प्रक्रियामा यतिबेला गतिहीन बन्न गएको छ । यसलाई पुनर्जीवन दिनको लागि पनि हामीले प्रयत्न गर्नु पर्दछ । एकताका लागि गरिने यी सबै संघर्ष र त्यसका बीचमा हुने बहसको विकासले कम्युनिस्ट आन्दोलनलाई पुन अग्रगतिको बाटोमा स्थापित गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौ ।
यहाँनेर भन्नैपर्ने कुरा यो छ कि सुरुबाट नै रिमबाहिर रहेका र अहिले पनि रिम गठनलाई समर्थन नगर्नेहरुमा भारत र फिलिपिन्सका माओवादी पार्टी जस्ता महत्वपूर्ण पार्टीहरु छन् । तिनीहरुलाई हामीले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कै अँश हुन् भन्ने ठान्दछौं । त्यसकारण, उपरोक्त विषयहरुमा तिनीहरुसंग पनि बहस गर्न र एकता प्रयासलाई अगाडि बढाउन आवश्यक छ । तर, एकता कै लागि रिम–लाईन र रिमका उपलव्धीलाई छाडेर पछाडि फर्कनु ठीक हुन्छ भन्ने हामीलाई लाग्दैन । त्यसो गर्नु एउटा एकतावादी र सारसंग्रहवादी काम हुनजान्छ । यो स्थितिमा जति सुकै सानो भए पनि अग्रगामी र रिमद्वारा स्वीकृत गरिएका लाईनलाई स्वीकार्नेहरुको बीचबाट काम सुरु गर्नु पर्दछ, जस्तो १९८४मा माओवादीहरुले रिम गठनको प्रक्रियामा गरेका थिए । साथै, बाहिर रहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरुसंग भाईचारा सम्बन्धका आधारमा संयुक्त कार्यक्रम संचालन गरेर उच्चस्तरको एकताका लागि प्रयास गर्नु पर्दछ । विगत ८० र ९० को दशकमा रिमले यस्तै गरेको थियो । यहि प्रक्रियाबाट हामीले विश्वका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरुलाई एउटा सही र विकसित लाईनमा क्रमशः एकताबद्ध गर्दै जान सकिन्छ भन्ने विश्वास लिएका छौं ।