पोखरा । पोखराको पृथ्वी चोकस्थित सस्तो बजारका स्वरोजगार व्यवसायीमाथि भएको गृहप्रशासनको ज्यादतीका विरुद्ध मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एकै ठाउँमा उभिएका छन् । ती पार्टीहरुका कास्की जिल्लाका पार्टीका नेताहरुले संयुक्त रुपमा एक सार्वजनिक वक्तव्य जारी गर्दै पोखराको सस्तो बजारका स्वरोजगार व्यवसायीहरुलाई गरिखान पाउने अधिकारबाट बेदखल गर्न खोजेको भन्दै कडा निन्दा गरेका छन् । वक्तव्यमा यसरी निन्दा गर्नेमा राष्ट्रिय जनमोर्चाको समेत नाम भएपनि हस्ताक्षर भने गरिएको छैन । असार १८ मा जारी वक्तव्यमा ती पार्टीका नेताहरुले भनेका छन्, “नागरिकको जनधन, शान्ति सुरक्षा र व्यवस्थापनको जिम्मा लिने स्वयम् राज्यले नै जबर्जस्त वल प्रयोग गरेर गरिखान पाउने अधिकारलाई कुल्चनु निन्दनीय कार्य हो ।

विना विकल्प बजारमा तालाबन्दी गर्दा सडक पेटीका व्यवसायीहरु सडकमै फर्कनु पर्ने अवस्था आउने भएकाले यथाशिघ्र ताला खोलेर समस्याको समाधान गर्न पहल गर्न जरुरी छ ।”उनीहरुले वक्तव्यमा अगाडि भनेका छन्, “पसल भित्रका करोडौं मूल्यका दैनिक उपभोग्य वस्तुहरु कुहिएका छन् । त्यसको जिम्मा कसले लिने ? ३७ करोडभन्दा बढीका सामानहरु बजारभित्र छन्, ती हराए पराएमा कसले जिम्मा लिने ?”

समस्या समाधानका लागि सरोकारवाला स्थानीय निकाय, पक्ष तथा संघसंस्थासँग पहल गरिदिन अपील गर्दै ती पार्टीका जिल्ला नेताहरुले भनेका छन्, “भर्खरै स्थानीय तहको निर्वाचन समेत सम्पन्न भएको र महानगरपालिकाको जनप्रतिनिधि र स्थानीय तह समेत बनेकोले सस्तो बजारका व्यवसायीहरुमाथि जुन अन्याय भएको छ, उहाँहरुलाई न्याय दिलाउने क्षेत्राधिकार महानगरपालिकासँगै भएकोले महानगरपालिकाकै मध्यस्थतामा समाधान खोजियोस् र महानगर भित्रका सम्पूर्ण सरोकार पक्षलाई पनि उचित निकासका लागि हार्दिक अपील गर्दै यो प्रेस वक्तव्य जारी गर्दछौं ।” बजार बन्द भएपछि दैनिक उपभोग्य बस्तुहरु कुहिएर बजारको वरपरि दुर्गन्ध फैलिन थालेको छ । यसले वातावरणमा नकारात्मक असर पर्न सक्ने र हैजा फैलिन सक्ने त्रासम पोखराका स्थानीयबासी रहेका छन् । गृहप्रशासनको ज्यादतीका विरुद्ध १६ गते विहानैदेखि स्वरोजगार व्यवसायीहरुले प्रतिरोध आन्दोलनको उठान गर्दै गएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर