पोखरा । खराको सस्तो बजारका स्वरोजगार व्यवसायीमाथि प्रहरीको ज्यादती  पोखरा सस्तो बजारका व्यवसायीमाथि प्रहरी प्रशासनले ज्यादती गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । वैकल्पिक व्यवस्थाविना विना कारण सस्तो बजारबाट आफूहरुलाई विस्थापित गराउन लागिएको भन्दै सैयौं व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् । शनिबार मध्यरातमा विना सूचना सस्तो बजारलाई सिल गरेपछि स्वरोजगार व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । 

पोखराबाट हाम्रा संवाददाताले जनाए अनुसार स्थानीय प्रहरी प्रशासनले सस्तोबजारभित्र बस्ने लक्ष्मी मण्डलको परिवारलाई लछारपछार गरी बाहिर निकालेर र सस्तोबजारका गार्डहरुमाथि अभद्र व्यवहार गरी बजारको मूलगेटमा ताला लगाएको छ । अहिले सस्तोबजारलाई प्रहरीले घेराहालेर राखेको छ भने स्वरोजगार व्यवसायीहरुले प्रहरी ज्यादतीको विरोधमा धर्ना दिंदै चर्को नाराबाजी गरिरहेका छन् ।

केही समय पहिले सस्तोबजार खाली गर्न गृहमन्त्रालयले पत्राचार गरेपछि आतंकित बनेका स्वरोजगार व्यापारीहरुले यस्तो जनविरोधी कुकृत्य नगर्न र नगराउने वातावरण बनाइदिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष अनुनय विनय गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीमार्फत् एक ध्यानाकर्षपत्र पठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनीहरुले यस्तो अनुरोध गरेका थिए । तर प्रचण्ड अध्यक्ष रहेकै माओवादी केन्द्रका गृहमन्त्री जनार्दन शर्मा प्रभाकर गृहमन्त्री बनेको एकाध महिना नबित्दै प्रशासनले व्यवसायबाट बेदखल गराउन हस्तक्षेप गरेपछि व्यवसायीहरु आक्रोसित बनेका छन् । 

आफूहरुले सञ्चालन गरेको सस्तो बजार खाली गर्दा सैयौ साना स्वरोजगार व्यवसायी र तिनमा आश्रति हजारौं मानिसहरुकोे रोजीरोटी खोसिनुका साथै फेरि सडकमा नै आउनुपर्ने बाध्यता आउने कुरा व्यवसायीहरुले बताउँदै आएका छन् । उनीहरुले यदि सस्तोबजार खाली गराउन वलप्रयोग गरिए हजारौं परिवारहरु शहीद बन्नु तयार रहेको पनि चेतावानी दिएका छन् । यस्तो परिस्थिति नआउने वातावरण बनाउनका लागि आम बुद्धिजीवि, व्यवसायी, कर्मचारी, राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता, मानवअधिकारवादी, सञ्चारकर्मी तथा पत्रकारहरुको पनि उनीहरुले ध्यानाकर्षण गराउँदै आएका छन् । 

पोखराको फुटपाथमा रहेका साना व्यवसायीहरुलाई व्यवस्थानपन गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय, तात्कालीन पोखरा उपमहानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ लगायतको पहलमा नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको नयाँबजारस्थित जग्गामा फुटपाथे व्यापारीलाई व्यवस्थित गरिएको थियो । तर अहिले आएर नेपाल वायु सेवा निगमले उक्त जग्गा टेण्डरमार्फत् सूर्यदिल इन्भेष्टमेन्ट प्रा.लि.लाई भाडामा दिएको छ ।पोखरा सस्तोबजारका साना स्वरोजगार व्यवसायीले उक्त टेण्डर रद्द गरी भाडा साना स्वरोजगार व्यवसायीहरुले सोझै बुझाउने व्यवस्था हुनुपर्ने माग गरिरहेका छन् । उनीहरुले यदि सस्तो बजारबाट विमुख गरिने हो भने साना स्वरोजगार व्यवसायीले रगत र पसिना बगाएर लगानी गरेको करीब ३६ करोड रुपियाँ बराबरको सम्पत्ति डुब्ने पनि जानकारी गराउँदै आएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर