
बाहिरबाट हेरे जस्तो छैन उत्तर कोरिया । बाहिरबाट बुझे जस्तो छैन उत्तर कोरिया । बाहिरबाट अनुमान गरे जस्तो छैन उत्तर कोरिया । साम्राज्यवादी तथा पुँजीवादी संचार माध्यमहरुले अर्थात पहिलेदेखि नै पश्चिमा संचार माध्यमहरुले आफ्नो अनुकूल दुश्प्रचार गर्दै आए जस्तो छैन उत्तर कोरिया । उत्तर कोरियामा म आफै पुगेर, भित्रैसम्म पसेर त्यहाँको समग्र क्षेत्रको अध्ययन गर्दा र गहिरो गरि बुझ्ने क्रममा पहिलेदेखि पश्चिमा संचार माध्यमहरुले जुन प्रचार गर्दै आएका छन्, त्यसको ठिक उल्टो पाएँ मैले । उत्तर कोरियालाई हेर्ने दुइवटा पाटाहरु छन् – भित्री पाटो र बाहिरी पाटो । कुनै पनि चिजलाई हेर्ने र बुझ्ने सवालमा बाहिरी पाटोलाई भन्दा भित्री पाटोलाई मुख्य मानिन्छ । किनकि माक्र्सवादी द्वन्द्ववादले सिद्ध गरि सकेको कुरा हो, विज्ञानले प्रमाणित गरिसकेको कुरा हो हरेक वस्तुको बाहिरी पाटो गौन हो र भित्री पाटो नै मुख्य हो । यसका आधारमा हेर्दा बाहिरी पाटो रुप हो भने भित्री पाटो त्यस वस्तुको सार हो ।
पश्चिमी संचार माध्यमहरुले पहिलेदेखि नै उत्तर कोरियाको बारेमा दुश्प्रचार गर्दै आएको कुरा के हो भने उत्तर कोरियामा राजतन्त्रात्मक शासन प्रणाली छ । बाबुपछि छोरो र छोरोपछि नाती राष्ट्र प्रमुख हुने व्यवस्था छ । यस प्रकारको व्यवस्था भनेको राजतन्त्रात्मक व्यवस्था हो भन्ने अत्यन्तै चर्को स्वरमा प्रचार गर्दै आएका छन् । जनवादी गणतन्त्र कोरियाका संस्थापक नेता किम इलसङ उत्तर कोरियाको पहिलो राष्ट्रपति बने । उनको मृत्युपछि उनको छोरो किम जुङ इललाई राष्ट्रपति बनाइयो र उनको निधन पछि उनकै छोरो, अर्थात किम इल सङको नाति किम इल उनलाई राष्ट्राध्यक्ष बनाइएको छ । यसलाई आधार बनाएर उत्तर कोरियामा राजतन्त्रात्मक शासन प्रणाली छ भनेर पश्चिमा संचार माध्यमहरुले प्रचार गर्दै आएका छन् ।
उत्तर कोरिया प्रति लगाइदै आएको अर्को आरोप हो– त्यहाँ मानव अधिकार व्यापक रुपमा हनन् गरिएको छ । त्यस्तै उत्तरको बारेमा लगाइएको आरोप र कुप्रचार के हो भने त्यहाँको कम्युनिष्ट सरकारले जनतालाई खान, लाउनबाट वञ्चित गरिदै आएको छ र जनतालाई भोकभोकै मारिन्छ भन्ने हो । यससँगै जोडिएको अर्को दुश्प्रचार के हो भने जनताले उचित मात्रामा पोषणयुक्त खाना खान नपाएर, कुपोषणले गर्दा ख्याउटे छन् त्यहाँका जनता भन्ने प्रचार गरिदै आएको छ । पश्चिमा संचार माध्यमहरुले दुश्प्रचार गर्दै आएको अर्को आरोप के हो भने उत्तर कोरियामा सैनिक शासन छ । जनतालाई चुसम्म पनि बोल्न, लेख्न र विरोध गर्न पाइन्न भन्ने छ । व्यापक रुपमा प्रचार गरिएको अर्को आरोप के हो भने सूचनाको हकबाट कोरियन जनतालाई पुरै बन्धक बनाइएको छ भन्ने आदि–इत्यादि । बाहिरी पाटोबाट हेर्दा खेरी पश्चिमा संचार माध्यमहरुले साम्राज्यवादी तथा पुँजीवादी वर्गको स्वार्थको अनुकुल र कम्युनिष्ट शासन प्रणाली, वैज्ञानिक समाजवादी राज्यव्यवस्था र शासन प्रणालीका विरुद्ध, कम्युनिष्टहरुलाई बदनाम गर्ने, विश्वस्तरमै सर्वहारा श्रमिक जनसमुदायका बीचमा कम्युनिष्ट शासन प्रणाली र वैज्ञानिक समाजवाद प्रति घृणा पैदा गराएर आम श्रमिक जनतालाई निरास तुल्याउने उद्देश्यले षडयन्त्रपूर्ण ढंगले गरिएका गलत प्रचार मात्रै थियो । किनकि उत्तर कोरियामा म स्वयम् भौतिक रुपमा उपस्थित भएर सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको जगमै पुगेर भित्री पाटोबाट हेर्दा र गहन ढंगले वर्कर्स पार्टी कोरियर, लामो समय पहिलैदेखि र आजको २१ औं शताब्दिको आफ्नो विशेषताहरुसहित जनवादी गणतन्त्र कोरिया सरकारले सञ्चालन गर्दै आएको समाजवादी व्यवस्था, जनताको उच्च प्रकारको जीवनस्तर, मुलुकको आधुनिकीकरण र विकास निर्माण, भौतिक संरचनाहरुको निर्माण र प्रयोग, जनताको उच्चस्तरको वैज्ञानिक चेतनाको विकास, वर्गीय भावना, वर्गीय प्रेम, कम्युनिष्ट जीवनशैली उच्च छ ।
जनताको राष्ट्रियताप्रति उच्च समर्पणभाव, गास, वास, कपास र शिक्षा, स्वास्थ्य, यातायातका क्षेत्रमा जनताको ग्यारेन्टी राज्यले लिएको अवस्था आदि विषयमा त्यही पुगेर स्वयम आफ्नै आँखाले हेर्ने मौका पाए पछि आजसम्म पश्चिमा संचार माध्यमहरुले गरेका प्रचारहरु सव गलत रहेछन् । साम्राज्यवादी तथा पुँजीवादीहरुले शुरुदेखि नै चारैतिरबाट नाकाबन्दी लगाएर, विश्वरंगमञ्जबाटै एकलो पारेर उत्तर कोरियामा त्यहाँका कम्युनिष्टहरुले आफ्नै विशेषतासहितको समाजवादका विरुद्धमा एकलौटी रुपमा पुँजीवादी, साम्राज्यवादी स्वार्थ पुरा गराउने उद्देश्यले संचालन गरिएका पश्चिमा संचार माध्यमले उत्तर कोरिया प्रति लगाइएका सम्पूर्ण आरोपहरु विश्वमजनताका बीचमा भ्रम छर्नका लागि गरिएको कु प्रचार रहेछ । समाजवादका विरुद्धमा, कम्युनिष्ट क्रान्तिकारीहरुका विरुद्ध गरिएको गतल र झुट प्रचार मात्रै रहेछ । आन्तरिक पाटोबाट उत्तर कोरियामै पुगेर हरक्षेत्रको अध्ययन गर्ने क्रममा यी तथ्यहरु प्राप्त गरे मैले ।
उत्तर कोरियाका कम्युनिष्टहरुले शुरुदेखि नै कम्युनिष्ट पार्टी नराखेर पार्टीको नाम वर्कर्स पार्टी कोरिया राख्दै आएका छन् । वर्कर्स पार्टीको पथप्रदर्शक सिद्धान्त, मार्गदर्शन सिद्धान्त माक्र्सवाद–लेनिनवाद–जुछेविचारधारा (आत्मनिर्भरताको सिद्धान्त) हो । जुछेविचारधारा कमरेड किल इल सङले प्रतिपादन गरेको विचार प्रणाली हो । सन् १९४५ मा जापानी साम्राज्यवाद र घरेलु सामन्तवादलाई ध्वंश गरेर कोरियाको उत्तरी भूभागमा समाजवादको स्थापना गरिएको थियो भने दक्षिणी भूभाग (आधाभूभाग) अमेरिकी साम्राज्यवादको सेनाको उपस्थिति र सहयोगमा पुँजीवादको स्थापना गरिएको थियो । त्यसदेखि यता उत्तरकोरिया र दक्षिण कोरियाको नामाकरण गरियो । विपरित विचार र सिद्धान्तका आधारमा शासन प्रणालीहरु संचालनमा रहदै आएका छन् । पानमानजोङ भन्ने स्थानले सिमा छुट्याएको छ । सन् १९४५ देखि यता उत्तर कोरियामा निरन्तर रुपमा वैज्ञानिक समाजवादलाई आजको २१ औं शताब्दिका विशेषतासहितको र कोरियन विशेषता सहितको समाजवादलाई अभ्यासमा ल्याइएको छ भने दक्षिण कोरियामा भने अमेरिकी साम्राज्यवादको सेनाको उपस्थिति र सहयोगमा एक प्रकारको विकृत र कुरुप पुँजीवादको स्थापना र विकास गर्दै ल्याइएको छ । अहिले उत्तर कोरियामा वैज्ञानिक उच्चस्तरबाट विकास गरिएको छ भने दक्षिण कोरियामा अमेरिकी साम्राज्यवादको सहयोग र आडभरोसामा संसारमै एउटा विकृत र कुरुप प्रकारको पुँजीवादको विकास गरिएको छ । सन् १९५० देखि १९५३ सम्म उत्तर कोरिया र अमेरिकाका बीचमा भीषण युद्ध चल्यो । त्यसलाई कोरिया र अमेरिकी युद्ध भनिन्छ । त्यस युद्धमा १५ लाख जति उत्तर कोरियाका जनताले ज्यान गुमाएका थिए भने करिब ५ लाख जति चिनीयाँ स्वयम् सेवकहरुको हत्या भएको थियो । कोरिया युद्धमा चिनीया नेता कमरेड माओको जेठो छोरा आङछिङको पनि मृत्यु भएको थियो । रसीयाले सैनिक साहेता सहित उत्तर कोरियालाई त्यस युद्धमा ठूलो सहयोग गरेको थियो । कोरियन युद्धमा करीब ६० हजार जति सेनाहरु मारिएका थिए र कोरियाले त्यस युद्धमा अमेरिकी साम्राज्यवादलाई खरानीमा परिणत गरि दिएको थियो । कोरिया–अमेरिकी युद्धमा राजधानी प्योङयाङ बम, गोलाबारुदले ध्वंश बनाएर खरानीमा परिणत हुन पुगेको थियो, पछि कोरियनहरुले प्योङयाङ उपत्यकालाई पूर्णरुपमा पुननिर्माण गरेर आधुनिकरण गरेका रहेछन् ।
अहिले प्याङपोङ उपत्यका संसारकै एउटा अत्याधुनिक शहरका रुपमा निर्माण र विकास गरिरहेछन् कोरियनहरुले । अहिले पनि जनवादी गणतन्त्र कोरिया सरकारले दक्षिण र उत्तर कोरियाको एकीकरणको अभियानलाई प्रमुख प्राथमिकतामा राखेको रहेछ । दक्षिण कोरियालाई अमेरिकाले सहयोग गर्दै आएको र ठूलो संख्यामा सेना समेत तैनाथ गर्दै आएकोले उत्तरकोरिया र अमेरिकाका बीचमा पुनः अर्को पटक भीषण युद्ध हुन सक्ने आँकलन गर्न सकिन्छ । त्यसो भएर उत्तर कोरिया सरकारले अत्याधुनिक हतियार, मिशाइल र क्षप्रयास्त्रको निर्माण र परिक्षण गरिरहेको छ । शुरुदेखि नै कोरियन कम्युनिष्टहरुले कम्युनिष्ट पार्टीको वर्कर्स पार्टी कोरिया राख्दै आएका छन् र कमरेड किमइल सङको नेतृत्वमा कोरियन क्रान्ति सम्पन्न भयो र उहाँकै नेतृत्वमा वैज्ञानिक समाजवादको स्थापना र विकास गरियो । त्यसपछि उहाँकोे छोरा किम जुङ इल र नाती किम इल उनको नेतृत्वमा कोरियामा समाजवाद उच्चस्तरमा विकास गरिरहेको पाइयो त्यहाँ । जनवादी गणतन्त्र सरकारले सम्पूर्ण जनताको गास, वास र कपासको पूर्ण ग्यारेन्टी गरेको रहेछ । शिक्षा, स्वास्थ्य, यातायात जनताका लागि निःशुल्क गराइएको रहेछ । नीजि सम्पत्ति छैन । बैंकहरु छैनन् । सम्पूर्ण जिम्मा राज्यले लिएको रहेछ । पैसो चल्तीमा छैन । जनताका सम्पूर्ण आवश्यकताहरु खाने, ल्याउने र आवासको ग्यारेन्टी राज्यले लिएको रहेछ । जनताले कुनै पनि नीजि मामिला बेहोर्नु पर्ने रहेनछ । जनताले ८ घण्टा अनिवार्य रुपमा श्रम गर्नु पर्ने व्यवस्था रहेछ उत्तर कोरियामा ।
अहिले वर्कर्स पार्टी कोरियाको केन्द्रीय कमिटी ३०० जना सम्मको रहेछ । ५० वर्षभन्दा मुनि उमेरको कोही पनि केन्द्रीय समितिमा पुग्न सक्दो रहेन्छ । पार्टीका सम्पूर्ण स्तरका नेताहरुले पार्टी र राज्यको काम बाहेक ८ घण्टा अनिवार्य रुपमा श्रममा (उत्पादनमा) मा भाग लिनु पर्ने व्यवस्था रहेछ । केन्द्र, क्षेत्र, जिल्ला र स्थानीय स्तर गरि पार्टि र राज्यमा पार्टीगत तथा प्रशासनिक विभाजन गरिएको रहेछ । शहरी क्षेत्रमा करीब ५०।६० तलका भवनहरु निर्माण गरेर एक परिवारलाई एक फ्ल्याट निःशुल्क रुपमा वितरण गर्ने व्यवस्था मिलाइएको गाउलाई पनि लगभग शहरीकरण गरि सकेको रहेछ र बाँकी गाउँहरुमा किसानहरुका लागि एकै आकारका तीन तले घरहरु निर्माण गरेर निःशुल्क रुपमा वितरण गरिएको रहेछ । बैंकहरु छैनन्, नोटहरु चल्दैनन् । तर जनताका कतिपय व्यक्तिगत चाहना पूर्तिका लागि ८ घण्टा श्रमको एउटा सानो हिस्साको रुपमा पैसा उपलब्ध गराउने व्यवस्था रहेछ । गाउमा किसानले उत्पादन गरेको कृषि उपजबाट विक्रीका सानो अंश किसानलाई उपलब्ध गराउने व्यवस्था रहेछ । सानो देखि ५०००।– सम्मका नोटहरु सरकारले काटेको रहेछ । तर बैंकहरु छैन । जनताका बिचमा ती नोटहरु प्रचलनमा पनि छैन । उत्तर कोरियामा अमेरिकी डलर, युरो डलर र चाइना डलर चल्तीमा ल्याइएको रहेछ ।
उत्तर कोरियामा मुख्य खेती धान रहेछ । मकै, गहुँ, जौं र अन्य बालीनाली र फलफूल तथा तरकारी खेती गरिँदो रहेछ । नपुगे पछि खाद्यान्न अन्य वस्तुहरु चीनबाट पनि आयात गरिदो रहेछ, शिक्षा सतप्रतिशत रहेको छ । बाल शिक्षण अस्पतालहरु पनि संचालन ल्याइएको रहेछ । खेलकुद र मनोरञ्जनलाई जनताको चाहनाको प्राथमिकता राखिएको रहेछ । जनवादी, शिपमुलक, प्रयोगात्मक र वैज्ञानिक शिक्षा अनिवार्य गराइएको रहेछ शिक्षा सम्पूर्ण रुपमा निःशुल्क रहेछ । सरकारी छात्रावृत्तिमा विविध विषयमा विद्यार्थीहरुलाई विश्वका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गर्न जाने र आर्जित सीपलाई बोकेर स्वदेशमै फर्कने व्यवस्था रहेछ । समाजवाद र जुछेविचारधाराको बारेमा विरोध गर्न पाइदैन । १८ वर्ष भाषिका आम जनतालाई सैनिकीकरण गरिएको रहेछ । हरेक जनता सैनिक तालिम प्राप्त हुनै पर्ने रहेछ । स्वास्थ्य राम्रो छ । जनताको जीवनस्तर उच्च रहेको छ । सम्पूर्ण जनता कालो सुटकुटमा सजिएका हुन्छन् । महिलाका लागि मिनी स्कटको व्यवस्था पनि रहेछ । जनता अत्यन्तै हाँसी खुसी र उमंग देखिन्छ र राष्ट्र निर्माणमा समर्पित भएको पाइयो । जनताका राष्ट्रियताको सवाल ज्यादै बलियो देखिन्छ ।
उत्तर कोरियामा राजतन्त्रात्मक शासन प्रणाली छ भनेको साम्राज्यवादी, पुँजीवादी र सवैखाले संशोधनवादीहरुले लगाउदै आएको झुटो आरोप मात्रै रहेछ । किम इल सुङको परिवारले कोरियन मुक्ति युद्ध र समाजको निर्माण र विकासमा पु¥याएको योगदानलाई कोरियन जनताले सम्मान स्वरुप पनि राष्ट्र चलाउने क्षमता भएका सन्तान रहेसम्म सङको परिवारलाई नछोड्ने देखिन्छ त्यहाँ । किल इल सङ, किम इल जुङहरुले आफूहरुले राम्रो खाएको र राम्रो लगाएको देखिन्थे । यो काम आफहरुले मात्र नगरेर आजजनतालाई राम्रो खान, राम्रो लगाउन सिकाए र बस्ने खाने व्यवस्था पनि राम्रो गरि दिएको पाइयो । यसले गर्दा पनि उनीहरु कोरियन जनताका बीचमा निकै लोकप्रिय र आस्था तथा भरोसाका केन्द्रविन्दु बन्न पुगेका रहेछन् । सूचनाको हकमा उत्तर कोरियाले आफ्नै प्रकारको गुगलको विकास गरेको रहेछ । फोन, मोबाइल, नेट, इन्टरनेट जनताका लागि निःशुल्क रहेछ भने विदेशीहरुका लागि ज्यादै महंगो छ । पर्यटकहरु बढि देखिन्छन् उत्तर कोरियामा । व्यक्तिगत भीसा दिदोरहेन्छ । साम्राज्यवाद विरोधी तथा जुछेविचारधारा समर्थक संघ संस्था जो सम्बन्धित देशको राजदूतावासले अनुमोदन गरे पछि कोरियाका भीषा प्राप्त हुदोरहेछ । त्यहाँ पुगे पछि पनि सरकारको निगरानीमा रहनु पर्छ र २ जना सम्म गाइडरको व्यवस्था मिलाइदिएको हुन्छ । जनतालाई खान, लाउन, बस्न र नीजी मामिलामा कुनै चिन्ता र झन्जट छैन । सम्पूर्ण जनताको ग्यारेन्टी राज्यले लिएको रहेछ । नीजि सम्पत्ति र नीजि मामिला बेहोर्न नपरे पछि जनताले आकास चुम्ने र नौलो संस्कार निर्माण गर्ने सपना देख्दो रहेछ भन्ने एउटा नमूनामा उत्तर कोरियामा दश दिनसम्म बस्दा अध्ययन गर्ने मौका मिल्यो मलाई ।
उत्तर कोरिया अहिले पनि समाजवादको अनुपम नमूना विश्वका सर्वहारा श्रमिक जनताका लागि एउटा शिक्षाप्रद देश रहेछ । हामी पनि कम्युनिष्ट पार्टी आबद्ध भएर देश, जनता र क्रान्तिका लागि सपथ खाएर घर परिवार श्रीसम्पत्ति, श्रीमति, बाबुआमा, कलिला छोराछोरी र लालाबालाहरुलाई छोडेर पूर्णकालिन कार्यकर्ता बनेर घर परिवारबाट निस्कने बेलामा परिजनलाई “भोली पार्टीले क्रान्ति सम्पन्न गर्नेछ, छोराछोरी र यी लालाबालाहरुको पालन–पोषण र शिक्षा दिक्षा पनि हाम्रो सरकारले गर्नेछ” भन्ने सपना सुनाउदै लक्ष्यप्रति ढुक्क र प्रतिबद्ध भएर घरबाट निस्काथियौं । पार्टी कार्यकर्ता र जनतालाई यही कुरा सुनाउथियौं र क्रान्ति पछि सम्पूर्ण जनताको जिम्मा कम्युनिष्ट सरकारले लिनेछ भनेर । घर, परिवारजन र जनता पनि विश्वस्त र आशावादी बन्द थिए । यही सपना बढ्दै दश वर्षे जनयुद्ध पनि भयो । दशौं हजारले साहदत पनि प्राप्त गरे । तर नेतृत्वमा पैसा भएको विचलन र अवसरवादले गर्दा नेपाली क्रान्ति चक्नाचुर बन्न पुग्यो र अहिले नेपाली जनता विरास भएर कांग्रेस, एमाले र अन्य संशोधनवादीहरु थापेको संसदीय चुनावको ढवाङ आफ्नो मत खसालेर संसदीय व्यवस्थाका दलालहरुलाई अनुमोदन गर्न विवस छन् । नेतृत्वले गरेको बेमानी र धोकाले गर्दा २००६ साल देखि अहिलेसम्म आइपुग्दा नेपाली धेरै टाढाको वस्तु बन्न पुगेको छ । तर पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट बिलकुल निरास नभएर विगतको इतिहास देखि वर्तमानसम्मको कोरियन समाजवादबाट शिक्षा लिन जरुरी छ ।
सन् २०१७ अप्रिल १३ (२०७४ चैत्र ३१) सम्म उत्तर कोरियाको राजधानी प्योङपाङमा ‘साम्राज्यवाद विरोधी लेखक÷पत्रकारहरुको अन्तराष्ट्रिय सम्मेलनमा भागलिनका लागि नेपाल–कोरिया लेखक÷पत्रकार मञ्चको तर्फबाट त्यहाँ पुगेको थिए । हाम्रो टोलीमा ६ जना थियौ भने तीन समूहबाट गरि १५ जना नेपाल र चीन, जापान, नेपाल, भारत, बंगलादेश, पाकिस्तान, फिलेपिन्स, इन्डोनेसिया, वेलायत, आयरल्याण्ड, फिन्ल्याण्ड, जर्मनी, फ्रान्स, बेल्जियम, टर्की, पोल्याण्ड, ब्राजिल, रुस, चेकोस्लोभाकिया, कंगो, घाना, गिनी, अजेन्टीना लगायत ६० देशका करीब १५० जना लेखक पत्रकार त्यहाँ जम्मा भएका थियौं ।