एजेन्सी । अमेरिकी टेनिस स्टार भेनस विलियम्सको कारसँग ठोकिएर एक ७८ वर्षीय बृद्धको मृत्यु भएको छ । गएको ९ जूनमा भएको घटनामा घाइते भएका जेरोम बार्सन नामका बृद्धको अस्पतालमा उपचार कै क्रममा २ हप्ता पछि मृत्यु भएको हो । बार्सनकी पत्नीलाई पनि घाइते भएर अस्पताल भर्ना गरिएको थियो, उनी भने बाँच्न सफल भएकी छिन् ।
फ्लोरिडाको पाम बीच गार्डन्सको प्रवक्ताले यो घटनासँग भेनसको सम्बन्ध कस्तो रहेको छ भनेर अनुसन्धान भइरहेको भनेर बताएका छन । प्रहरीको भनाई अनुसार यो घटनामा भेनसको गल्ती छ भने भेनसको वकिलको दाबी छ यो दुर्घटना मात्र हो ।
घटनाको प्रत्यक्षदर्शीका अनुसार जेरोम बार्सन र उनकी पत्नी कारमा जाँदै गर्दा चौबाटोमा अचानक आएको भेनसको कारसँग ठोकिएको थियो । भेनसको कार जामको कारण चौबाटोमा अगाडि बढ्न नसकेको प्रत्यक्षदर्शीको भनाई छ ।
भेनसमाथि अर्काे ड्राइभरलाई बाटो छोडिदिनुपर्ने नियम उल्लंघन गरेको आरोप लगाएको छ यद्यपी उक्त घटनामा ड्रग्स, मदिरा वा मोवाइल जस्ता ध्यान विकेन्द्रीत बनाउने कारक नभएको रिपोर्टमा बताइएको छ ।