धान दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

धान दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

 

काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । जनसर्वसाधारणले आज दहि च्युरा खाने, रोपाइ जात्रा, हिलो खेल्ने गतिविधि गरी मनाउने गर्दछन् ।
वि.सं. २०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । ४३ राष्ट्रहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय धान वर्ष घोषणाको अनुरोधलाई संयुक्त राष्ट्रसंघले घोषणा गरेपछि नेपालमा राष्ट्रिय धान दिवस मनाउन शुरु गरिएको हो ।
नेपालको कुल ग्राहस्र्थ उत्पादनमा ४० प्रतिशतसम्म योगदान दिने कृषि क्षेत्रको लागि धान उत्पादन महत्वपूर्ण छ । यस कारणले पनि असारमा धान रोपाइँ तथा धान दिवस मनाउनुको महत्व छ । नेपालमा सिँचाई सुविधा कुल उत्पादन योग्य जमिनको २१ प्रतिशतमा मात्रै सुविधा रहेको छ बाँकी भू–भागमा आकाशे पानी कै भर पर्नु पर्ने स्थिति छ ।
राष्ट्रिय धान दिवसलाई एक दिने मनाउने दिवसमा सिमित नपारी बिउ–बिजन, सिँचाई, मल, बैज्ञानिक प्रविधि र औजारको व्यवस्था र सुविधा कृषकलाई सरकारले उपलब्ध गराउन सके समग्र कृषि क्षेत्र र कृषक मात्र नभई देशलाई लाभान्वित हुने र धान दिवस मनाउनुको सार्थकता हुने विज्ञहरुको भनाइ छ ।
यस दिन देशैभरि विभिन्न संस्थाहरुले धान रोप्ने, हिले दौड प्रतियोगिता, दहि च्युरा खाने जस्ता कार्यक्रमहरु आयोजना गर्ने गर्दछन् ।