काठमाडौं । उनी भन्छन्, “प्लेनमा उड्ने र कारमा गुड्नेहरुले विराटनगरपालिकामा बसोबास गर्ने वास्तविक जनसमुदायको नेतृत्व र प्रतिनिधित्व गर्न सक्दैनन्, त्यसका लागि उपयुक्त पात्र म हुँ ।” उनको दावी छ– “म यही जन्मेर हुर्केको गरिब परिवारको मान्छे हुँ, मलाई विराटनगरमा बस्ने, खेती किसानी गर्ने, खुद्रा व्यापार व्यवसाय गर्ने, सानोतिनो जागिर खाएर जीविकोपार्जन गर्नेहरुको पीडाको गहिरो अनुभूति छ । ठूला भनिएका पार्टी र ठालुहरुले पटक पटक जितेर गए, तर विराटनगरलाई बर्बाद पारेर छाडे । अब जनता उनीहरुको रोजाइमा पर्दैनन्, जनताले आमूल परिवर्तन चाहेका छन् । त्यसको लागि म नै निर्विकल्प उम्मेदवार हुँ ।”
सन्तोष सरकार । कमल मसी उनको चुनाव चिन्ह । नेकपा (क्रान्तिकारी माओवादी)को देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार । ०४९ सालदेखि वामपन्थी राजनीतिमा लागेका उनी एमाले, माले हुँदै माओवादी आन्दोलनमा सक्रिय छन् । उनले सँधै वामपन्थी राजनीतिभित्र क्रान्तिकारी धारमा आफूलाई उभ्याउँदै आएका छन् । उनले अन्य संसदवादीहरुले जस्तो महत्वकांक्षी र असम्भव एजेण्डाहरु अगाडि सारेका छैनन् । उनले गरिखाने श्रमजीवि जनताको लागि आवश्यक पर्ने बिराटनगर महानगरपालिकाको फोहर, ढल, खानेपानी, सडकको व्यवस्थापनका कुरा अगाडि सारेका छन् । उनले भनेका छन्– ‘मैले देखे भोगेका समस्याहरुलाई उजागर गरेको छु, स्मार्ट सिटी र ग्रिन सिटीको प्रचार गरेको छैन ।’
उनले आफ्नो प्रतिस्पर्धी कांग्रेस एमाले भएपनि आफ्नै जित हुने दावी गरेका छन् । सँगै उनले भनेका छन्, “मैले जसरी पनि चुनाव जित्नुपर्छ भनेर संसदवादीहरुले जस्तो साम, दाम, दण्ड, भेद गरेको छैन, मुख्यतः संसदवादीहरुको भण्डाफोर गर्नु र संगठनको आधार बनाउनु मेरो उम्मेदवारीको प्रमुख उद्देश्य हो । जिते जनताको काम, हारे क्रान्तिको अभियान ।”
सन्तोष सरकार राजनीतिज्ञ मात्र होइनन्, एउटा कुशल कलाकार तथा फिल्मका डाइरेक्टर पनि हुन् । होस्टेल टेलिसिरिएलमा मुख्य भूमिकामा देखिएका उनी मैथली चलचित्रका चर्चित निर्देशक पनि हुन् ।