संसदीय निर्वाचनसम्बन्धी दृष्टिकोण

प्रकाशित मिति : २०७४ असार ६

- मोहन वैद्य ‘किरण’

माेहन वैद्य ‘किरण’

अन्तर्राष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कम्युनिष्टहरुले संसदीय निर्वाचनको स्थिति अनुसार कुनै बेला उपयोग र कुनै बेला बहिष्कार गर्दै आएका छन् । हाम्रो पार्टीले पनि गत कालमा यस प्रकारका निर्वाचनहरुको कुनै बेला उपयोग र कुनै बेला बहिष्कार गर्दै आएको छ । तर पनि यसबारे विभिन्न खाले भ्रमहरु पैदा हुने गरेका छन् र संसदीय निर्वाचनका सन्दर्भमा स्पष्ट हुन जरुरी छ ।

संसदीय निर्वाचनबारे सामान्यतः तीन प्रकारका दृष्टिकोण पाइन्छन्, ती हुन्– संसवादी दृष्टिकोण, बहिष्कारवादी दृष्टिकोण र क्रान्तिकारी दृष्टिकोण । यी तीनवटै दृष्टिकोणका बीच अन्तर्राष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनमा पनि निकै विवाद र बहस चल्दै आएका छन् ।
संसदवादी दृष्टिकोण भनेको संसदीय निर्वाचनबारे अवलम्बन गरिने अवसरवादी दृष्टिकोण हो । यस दृष्टिकोणअनुसार प्रतिक्रियावादी संसदीय निर्वाचनहरुमा सदैव भाग लिनु पर्दछ र कम्युनिष्टहरुले संसदीय निर्वाचनको कहिल्यै पनि बहिष्कार गर्नु हुँदैन । यो वस्तुतः दक्षिणपन्थी संशोधनवादी दृष्टिकोण हो । यसले अन्ततः संसदीय बाटोबाटै नयाँ जनवाद वा समाजवाद आउने सपना देख्दै आएको पाइन्छ ।
कम्युनिष्ट आन्दोलनमा संसदवादी दृष्टिकोणका विपरीत बहिष्कारवादी दृष्टिकोण देखापर्ने गर्दछ । बहिष्कारवादी दृष्टिकोण अनुसार संसदीय निर्वाचनको कहिल्यै उपयोग गर्नु हुँदैन र कसैले क्रान्तिकारी ढंगले उपयोग गर्न चाहन्छ भने त्यो पनि अवसरवादी नै हो । बहिष्कारवाद रुपमा क्रान्तिकारी देखिए पनि सारमा त्यसले प्रतिक्रियावादलाई नै सघाउँछ । अन्ततः सदाबहार बहिष्कारवाद पनि अवसरवादकै एउटा रुप हो । कुनै बेला बहिस्कारवादले पनि प्रतिक्रियावादको रुप लिन सक्तछ ।

माक्र्सवादीहरुको संसदीय निर्वाचनप्रतिको दृष्टिकोण क्रान्तिकारी दृष्टिकोण हो । यो ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित हुन्छ । क्रान्तिकारी दृष्टिकोण अनुसार संसदवादी र बहिष्कारवादी दुवै दृष्टिकोण गलत रहेका छन् । माक्र्सवादीहरुले के ठान्छन् भने संसदीय निर्वाचनको उपयोग वा बहिष्कारको प्रश्न राजनीतिक कार्यनीतिको प्रश्न हो र यसलाई परिस्थितिको सापेक्षतामा देश, जनता तथा क्रान्तिको हितमाथि ध्यान दिंदै टुंगो लगाउनु पर्दछ ।

आज स्थानीय तहको निर्वाचनको सन्दर्भमा हाम्रो पार्टीले क्रान्तिकारी उपयोगको नीतिलाई सही ठानी देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुलाई समर्थन गरेको छ । परन्तु हाम्रो यो नीतिलाई कतिपय मानिसहरुले नबुझेको वा तोडमोड गरेको पनि पाइएको छ । उनीहरु निर्वाचनको क्रान्तिकारी उपयोग गर्नु र वर्तमान संविधानलाई स्वीकार गर्दै निर्वाचनमा भाग लिनुलाई एउटै कुरा ठान्दछन् । उनीहरु के भन्छन् भने निर्वाचनको उपयोग गर्ने क्रान्तिकारी माओवादी र निर्वाचनमा भाग लिने माओवादी केन्द्रबीच कुनै अन्तर छैन । यस्ता कुरा या त असाध्यै भोलाभाला मानिसहरु गर्दछन् या कुरा बुझेर पनि बुझ पचाउन खोज्नेहरु यस्तै भन्दछन् । तर, जेहोस् यसबारे सैद्धान्तिक तथा राजनीतिक रुपमा स्पष्ट हुन जरुरी छ ।

वर्तमान पश्चगामी राज्यसत्ता, व्यवस्था तथा संविधानलाई स्वीकार गरी तिनलाई स्थापित एवं चिरञ्जीवी बनाउनका लागि निर्वाचनमा भाग लिनु र ती सबैको विरोधमा जनताको राज्यसत्ता तथा व्यवस्थाको विकल्प लिएर त्यस प्रकारको निर्वाचनको उपयोग गर्नु गुणात्मक रुपमा भिन्न कुरा हुन् । हामीले जनयुद्धमा जानुभन्दा अगाडि तात्कालीन संविधानलाई अस्वीकार गरेर पनि संसदीय निर्वाचनको क्रान्तिकारी उपयोग गरेकै थियौं । त्यति मात्र होइन, हामीले पञ्चायती व्यवस्थालाई अस्वीकार गर्दथ्यौं, तर पनि कतिपय अवस्थामा पञ्चायती चुनावको पनि उपयोग गरेकै थियौं । लेनिनले पनि नेपालकोे पञ्चायत जस्तै रुसको दुमाको पनि उपयोग गर्ने नीति लिनुभएको थियो । त्यसैले हामीले चुनावको उपयोग गर्नु र अवसरवादी वा प्रतिक्रियावाद उन्मुख तत्वहरुले भाग लिनुका बिचमा गुणात्मक रुपमा नै फरक छ । यहाँ धेरै कुरा गरिरहनु भन्दा पनि माके र नेपाली कांग्रेसबीचको तालमेल र सत्ता गठबन्धनलाई हेरे छर्लङ्ग हुन्छ ।

निर्वाचनको प्रक्रियामा जाँदा स्वाभाविक रुपमा हारजीतको मानसिकता हुने नै गर्दछ । तर पनि उपयोग गर्नुको अर्थ जसरी पनि जित्नै पर्दछ भन्नु पनि सही होइन र हाम्रो पार्टीले त्यसरी सोचेको पनि छैन । प्रतिक्रियावाद र दक्षिपन्थी संशोधनवादको प्रभुत्व कायम भएको अहिलेको प्रतिक्रिया कालमा क्रान्तिकारीहरुका लागि जीत हासिल गर्नु निकै गाह्रो हुन्छ र भई रहेको पनि छ । मतदाता नामावलीमा ठूलो संख्यामा मतदाताहरुको नाम दर्ता गर्ने अवसर प्राप्त नहुनु, चुनाव चिन्हबाट बञ्चित हुनु, तीन चार दिनको अन्तरालमा स्वतन्त्र उम्मेद्वारको रुपमा निर्वाचन चिन्ह प्राप्त हुनु, निर्वाचनको क्रममा अनेकौं विकृति तथा विसंगति देखापर्नु र आवश्यक तयारी हुन नसक्नु आदि प्रतिकूलतालाई चिरेर जानु क्रान्तिकारीहरुका लागि निकै गाह्रो कुरा हो । तर पनि देशभक्त जनगणतान्त्रिक मोर्चाका साहसी उम्मेद्वारहरु यी सबै चुनौतीहरुको दृढतापूर्वक सामना गर्दै संघर्षको मैदानमा दृढतापूर्वक खडा भएका छन् । यो खुशी र गौरवको कुरा हो ।

निर्वाचन उपयोग गर्नुको असली उद्देश्य जनताको बीचमा जानु, वर्तमान पश्चगामी राज्यसत्ता, व्यवस्था तथा संविधानका अलोकतान्त्रिक चरित्रबारे आफ्ना धारणा राख्नु र आगामी क्रान्तिको लागि जनआधार निर्माण गर्नु हो । वर्तमान सत्ता र व्यवस्थाका पक्षधरहरु वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्ने गर्दछन् । परन्तु, प्रश्न छ– के चुनावमा जान चाहने राजनीतिक दलहरुका लागि दल दर्तालाई नै अघोषित प्रतिबन्ध लगाउनु र चुनाव चिन्ह नदिनु नै उत्कृष्ट संविधानको विशेषता हो ? राजनीतिक दलहरुका सन्दर्भमा थे्रस होल्डको व्यवस्था गर्नु पनि के साँच्चिकै लोकतन्त्र हो ? स्पष्ट छ, हाम्रो देशमा केही प्रमुख ठूला भनिने राजनीतिक दलहरुले लोकतन्त्रको नाममा लामो समयदेखि तीनदलीय अधिनायकवादको अभ्यास गर्दै आएका छन् । या कुरा अहिलेको स्थानीय निर्वाचनको प्रक्रियामा राम्रोसँग छर्लङ्ग हुँदै गइरहेको छ । हामी संसदीय निर्वाचन उपयोग र बहिष्कारका अनेकौं अनुभवहरुले समृद्ध बन्दै आएका छौं र अहिलेका अनुभवद्वारा पनि अझै समृद्ध बन्दै जानेछौं । नयाँ जनवादी क्रान्तिको अर्को तयारीका लागि फेरि पनि हामीहरुले अनेकौं चुनौतीको सामना गर्दै तथा सिक्दै जानु पर्दछ ।