दार्जिलिङ । गोर्खाल्याण्डको माग गर्दै आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको आन्दोलनमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
आन्दोलनका क्रममा सिंगामारीमा प्रहरीले आन्दोलनकारीमाथि ब्यापक धरपकड गरेको हो । आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडप भएका छन् ।
गोर्खा जनमुक्ति मोर्चाका नेता विनय तामाङले आन्दोलनका क्रममा आफ्ना दुई जना कार्यकर्ता मारिएको बताएका छन् । आन्दोलनका क्रममा प्रहरी आक्रामक रुपमा प्रस्तुत भएपछि आन्दोलनकारीले पनि प्रहरीको सवारी साधनमा आगो लगाइदिएका थिए ।
यता मुख्यमन्त्री ममता बनर्जीले भने प्रहरीले आन्दोलनकारीमाथि गोली नचलाएको दाबी गरेकी छन् । उनले गोर्खाल्याण्ड माग गर्दै आन्दोलन गरिरहेका नेपालीभाषीको आतंककारीसँग सम्बन्ध रहेको आरोप लगाएकी छन् ।
शनिबार प्रहरीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा, पानीका बोत्तल प्रहार गरेका थिए भने प्रहरीले मोर्चाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो । सो क्रममा आन्दोलनकारीको ढुंगा लागेर इन्डियन रिजर्भ बटालियनका एक सहायक कमाण्डर गम्भीर घाइते भएको बताइएको छ ।

आन्दोलन बढ्दै जाँदा सो क्षेत्रको पुरै इलाकामा निशेषआज्ञा जारी गर्दै कसैलाई पनि भेला, जुलुस गर्न रोक लगाइएको छ । प्रहरी र आन्दोलनकारीबीचको झडप जारी रहँदा गोर्खाल्याण्डको माग गर्दै सुरु भएको अनिश्चितकालीन बन्द जारी छ ।
मुख्ममन्त्री बनर्जीले गोर्खाल्याण्डको माग गरिरहेको गोजमोको आतंकवादीसँग सम्बन्ध रहेकै कारण गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जेटीए) को चुनावअघि अशान्त फैलाएको आरोप लगाएकी छन् ।
उनले भनिन्, ‘पाँच वर्षसम्म मोर्चाले आनन्द लियो, जब चुनाव आयो अनी हिंसा सुरु गरिएको छ, किनकी यहाँ उसले आफ्नो जनमत गुमाएको छ । यहाँ जे भइरहेको छ, त्यसका पछि गहिरो षढयन्त्र छ ।’
उनले गोर्खाल्याण्डको माग गरिरहेको गोर्खा जनमुक्ति मोर्चा र नेपाली भाषी समुदायले हतियार जम्मा गरेको समेत आरोप लगाएकी छन् । प्रहरीले पनि सो क्षेत्रमा आन्दोलनकारीले गोली चलाएको आरोप लगाएको थियो ।
समाजवादी पार्टीका अखिलेश चुतुर्वेदीले गोजमोका समर्थकले ¥यालीका क्रममा गोजमो समर्थकमाथि नै हमला गरेपछि आईआरबी दोस्रो बटालियन सहायक कमाण्डर किरण तामाङको हत्या गरेको दावी गरेका थिए । तर मुख्यमन्त्री बनर्जीले त्यसलाई खारेज गर्दै तामाङ गम्भीर घाइते मात्रै भएको बताएकी छिन् ।
उनले राज्य सरकार गोजमोसँग वार्ता गर्नका लागि तयार रहेको बताउँदै हिंसाबाट यो समस्याको हल हुन नसक्ने बताएकी छन् । उनले भनिन्, ‘हामी उनीहरुसँग वार्ता गर्नका लागि तयार छौं, तर हामी संविधानको उल्लंघनको समर्थन गर्न सक्दैनौं ।’
यता प्रहरीले भने सिंगामडी घटनापछि स्थानीयबासीको घरमा समेत छापा मारेर सर्वसाधारणलाई त्रसित पारेको छ । मोर्चाका नेता विनय तामाङले भने गोर्खाल्याण्डको आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
पश्चिम बंगाल सरकारले नेपाली भाषीको बाहुल्यता रहेको दार्जिलिङ र पहाडी क्षेत्रमा समेत बंगाली भाषा १० कक्षा सम्म अनिवार्य गर्ने निर्णय गरेपछि नेपाली भाषामाथि अतिक्रमण भएको भन्दै आन्दोलन सुरु गरेको थियो । सो आन्दोलनमा प्रहरीले व्यापक दमन गरेपछि त्यसले पुनः गोर्खाल्याण्ड आन्दोलनको रुप लिएको हो ।































