चितवनको माडीमा दुई बालिकाको बलात्कारपछि हत्या गरेको आशंका

चितवनको माडीमा दुई बालिकाको बलात्कारपछि हत्या गरेको आशंका

चितवन । शनिबार माडीको रामराज्यपुर स्थित मजुवा सिंचाइ पोखरीमा मृत अवस्थामा भेटिएका दुई बालिका डुबेर नभएर बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । माडी नगरपालिका वडा नम्बर ६ रामराज्यपुर स्थित मजुवा सिंचाइ पोखरीमा शनिबार विहान १० बजेको समयमा पिकनिक खान भनी घरबाट गएका बालबालिकाहरुमध्ये माया सुनारकी छोरी वर्ष १० की दिपिका सुनार र दिनेश परियारकी छोरी वर्ष ११ की दिपशिला परियारको दिउसो १ बजेको समयमा पोखरीमा मृत अवस्थामा फेला परेका थिए ।

बालिकाहरुको शारीरिक अवस्था र त्यहाँको तत्कालीन परिस्थिति बुझ्दा पोखरीमा डुबेर नभई बलात्कार गरेर बालिकाहरुको हत्या गरेको ठहर गर्दै स्थानीय राजनीतिक पार्टी, महिला सगठन र अधिकारकर्मीहरुले दोषीको पहिचान गरी कडा कारबाही गर्न दबाब सिर्जना गरेका छन् ।

अनेमसंघ (क्रान्तिकारी) केही केन्द्रीय महासचिव तथा नेकपा (क्रान्तिकारी माओवादी)की नेतृ अम्बिका मुड्भरीको अगुवाइमा जिल्लामा कार्यरत राजनीतिक पार्टी, महिला संगठनहरु, अधिकारकर्मी र पत्रकारहरुले संयुक्त रुपमा स्थानीय प्रशासनलाई दबाब दिइरहेका छन् ।

आइबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध विभिन्न संगठन र अन्य संगठन तथा अधिकारकर्मीहरुसहित संयुक्त रुपमा वक्तव्य जारी गरी दोषीको पहिचान गरी कारबाही गर्नुपर्ने माग राखेर धर्ना दिएका छन् ।

विभिन्न १९ वटा संगठन तथा अधिकारकर्मीले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा भनिएको छ, “यस घटनाको सम्बन्धमा तथ्यगत रुपमा अनुसन्धान गरी घटनामा संलग्नलाई खोजी, गहिरो अनुसन्धान गरी पीडित पक्षलाई न्याय महसुस गराउन र कानुनी राज्यको स्थापित गर्न गराउन प्रशासन समक्ष अनुरोध गर्दछौं ।”

पछिल्लो समय चितवनमा बालबालिकाहरु बाल यौन दुव्र्यवहार, बलात्कार, बलात्कार प्रयास, बेचविखन जस्ता गम्भीर अपराधको शिकार भइरहेको प्रति उनीहरुले गम्भीर रुपमा ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएका छन् ।

अम्बिका मुड्भरी– महासचिव, अनेमसंघ (क्रान्तिकारी), सरस्वति विष्ट– अध्यक्ष, अखिल नेपाल महिला संघ, चितवन, शर्मिला विक– उपाध्यक्ष, अनेमसंघ (क्रान्तिकारी), गीता लम्साल, अध्यक्ष, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, मीना खरेल, निमित्त अध्यक्ष, आदर्श नारी विकास केन्द्रलगायतले १९ वटा संगठनका प्रतिनिधिहरुले संयुक्त रुपमा वक्तव्यमा हस्ताक्षर गरेका छन् ।

मृतक बालिकाहरुको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । शव हेरेपछि शर्मा नारायणले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “माडिमा पोखरीमा डुबेर मृत्यु भएका भनिएका नानीहरूको शव भरतपुर अस्पतालको शवगृहमा गएर हेरियो ।

सानी नानीको अनुहारभरि चोट छ । रगत पनि छ । ठुली नानीको शरीरमा चोट छ र अलिक धेरै नै रगत बगेको छ । स्ट्रेचरभरि रगत बगेको छ । लासको प्रकृति हेर्दा कसैको पुरुषार्थ(?)को शिकार बनेको जस्तो देखिन्छ ।”

यसैबीच, क्रान्तिकारी माओवादी चितवन निकट अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष शुभलक्ष्मी खनाल, नेपाल दालित मुक्ति मोर्चाका अध्यक्ष बाबुराम प्यासी परियार, क्रान्तिकारी युवा लिगका सचिव इस्मत सुनार र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अमित सापकोटाले संयुक्त रुपमा एक वक्तव्य जारी गरी घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसमक्ष माग गरेका छन् ।

मृतका बालिकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

वक्तव्यमा उनीहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन जिल्लामा कार्यरत राजनीतिक पार्टी, अधिकारकर्मी, संचारकर्मीलगायतलाई सकारात्मक पहल गरिदिन आग्रह समेत गरेका छन् ।