काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले प्रतिक्रियावादी संसदीय राज्यव्यवस्थामा गम्भीर संकट आएको बताएका छन् । १२८ औं मई दिवसको अवसरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले ललितपुरको कुपण्डोलमा सोमबार आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष बैद्यले यस्तो बताएका हुन् ।
“नेपाली राजनीतिको पछिल्लो घटनाक्रमले प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थामा गम्भीर संकट आयो ।” बैद्यले भने, “व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको असन्तुलनले प्रतिक्रियावादीहरुका बीच संकट चुलिएर गएको छ । यो संकटको दीर्घकालीन समाधान नयाँ जनवाद र वैज्ञानिक समाजवाद भन्दा अरु कुनै पनि व्यवस्थाले दिन सक्दैन ।”
माक्र्सवादको सारतत्व सर्वहारावर्गको अधिनायकत्व हो भन्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनवाद स्थापना गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने जनयुद्धको लक्ष्यमाथि प्रचण्ड बाबुरामहरु प्रतिक्रियावादीहरुको मतियार बनेर गद्दारी गरेपछि रक्षात्मक अवस्थामा पुगेको क्रान्तिकारी माओवादी आन्दोलनलाई सुदृढ बनाएर अगाडि बढाउनुपर्ने दायित्व क्रान्तिकारीहरुको काँधमा आएको अध्यक्ष किरणले बताए ।
अध्यक्ष किरणले भने, “साम्राज्यवाद कम्युनिष्टहरुलाई फुटाउने सवालमा सफल भयो तर कम्युनिष्टहरु साम्राज्यवादीहरुलाई फुटाउने सवालमा सफल हुन सकेनन । यसको वैज्ञानिक ढंगले विश्लेषण गरेर अघि बढ्नु पर्दछ ।”
कार्यक्रममा अतिथिको रुपमा उपस्थित क्रान्तिकारी माओवादीका कार्यालय सदस्य रामसिंह श्रीसले मजदुर वर्गको मुक्तिका निम्ति अन्तिम लक्ष्य सर्वहारावर्गको राज्यसत्ता स्थापना नगरी हुन्न भन्दै नेता श्रीसले त्यसको लागि क्रान्ति÷आन्दोलनको विकल्प नरहेको कुरामा जोड दिए ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य संयोजक एवम् पुराना मजदुर नेता दिनेश शर्मा‘सागर’ले मजदुर आन्दोलन अगाडि बढाउन ‘नो वर्क, नो पे’ लाई मुद्दाको रुपमा अगाडि सारेर मजदुर आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने आवश्यतामाथि जोड दिए ।
‘दलाल ट्रेड यूनियनहरुको भण्डाफोर गरौं !, क्रान्तिकारी मजदुर आन्दोलनको विकास गरौं !!’ भन्ने मूल नाराका साथ आयोजना गरिएको “१२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवस समारोह” कार्यक्रममा क्रान्तिकारी माओवादीका सचिवालय सदस्यहरु पवनमान श्रेष्ठ, नगेन्द्र राई लगायत नेताहरुको उपस्थिति रहेको थियो भने इश्वर तिमिल्सिनाले कार्यक्रमको अध्यक्षता र फुर्नाम्गेल मोक्तानले संचालन गरेका थिए । कार्यक्रमलाई मजदुर नेता ठमानसिंह तामाङले स्वागत गरेका थिए ।