मतपत्र च्यातेको विषयमा छानविन टोलीले बुझायो आयोगलाई प्रतिवेदन

प्रकाशित मिति : २०७४ जेष्ठ १७

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवादपछि मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएको छ ।

आइतबारराति मतपत्र च्यातिएपछि सो विषयमा छानविन गर्न आयोगले सोमबार नै समिति बनाएको थियो । सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।

टोलीले सोमबार नै काम थालेर मंगलबार काम सकी बुधबार आयोगलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन आएपछि अब आयोगले तत्कालै बैठक बसेर यसबारे निर्णय लिने प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन् ।

टोलीले आफ्नो राय दिन नमिल्ने भएकाले भेट गरेका व्यक्तिले जे–जस्तो बताएका छन् तिनै भनाइलाई प्रतिवेदनमा समावेश गरिएको टोलीमा सहजकर्ताका रुपमा सहभागी उपसचिव कृष्ण अधिकारीको भनाई छ ।

समितिले राजनीतिक दलका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँग छलफल गरेको थियो ।