काठमाडौं महानगरका नवनिर्वाचित सबै जनप्रतिनिधिले गरे सपथ ग्रहण

प्रकाशित मिति : २०७४ जेष्ठ १७

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित बिशेष समारोहमा काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराए ।
समारोहमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित १५९ जना स्थानीय प्रतिनिधिले सामूहिक सपथ ग्रहण गरे ।
सपथ ग्रहण पछि काठमाडौंका मेयर, उपमेयरले आजै अपराहृन काठमाडौं महानगरपालिका कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
मेयर र उपमेयरले सपथपछि शहीद स्मारक, गणेशमान शान्ति बाटीका, मंगलादेवी पार्क, पुष्पलाल स्मृति पार्क, मदन भण्डारीको शालिकमा माल्यर्पण तथा बसन्तपुरस्थित कुमारी घर पुग्नेछन् । वडाध्यक्षहरु भने सपथ ग्रहणपछि सम्बन्धित वडा कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।
मेयर र उपमेयरले पदभार ग्रहण गरेपछि काठमाडौं महानगरपालिकाको पहिलो नगरपालिकाको बैठक साँझ ५ बजे बस्नेछ ।
सपथ ग्रहण समारोहमा स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरका उम्मेदवारहरु विवेकशील नेपालीकी रञ्जु दर्शना र नयाँ शक्तिका पवित्र बज्राचार्यको पनि उपस्थिति थियो ।