मतगणनाको माग गर्दै एमालेद्वारा संसद अवरुद्ध, सडकबाटै विजयी घोषणा गर्ने चेतावनी

मतगणनाको माग गर्दै एमालेद्वारा संसद अवरुद्ध, सडकबाटै विजयी घोषणा गर्ने चेतावनी

काठमाडौं । व्यवस्थापिका संसदको प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेको छ ।

एमालेले पुनः मतदान गराउने निर्णय गरे एकतर्फी रुपमा आफ्ना उम्मेदवारलाई विजयी घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

संसदको बुधबारको बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले भरतपुर काण्ड जनताको सार्वभौम अधिकारमाथिको बलात्कार भएको टिप्पणी गरे ।

एमाले उम्मेदवार देवी ज्ञवाली जिततर्फ उन्मुख भएपछि प्रतिनिधि बनेर गएका माओवादी केन्द्रका कार्यकर्ताले सुनियोजित ढंगले मतपत्र च्यातेको भन्दै उनले यसलाई मतगणनास्थल कब्जा भन्न नमिल्ने बताए ।

तत्काल मतगणना सुरु गर्न माग गर्दै उनले यदि अन्यथा निर्णय भएमा एमालेले यो नजिता विजयी भयो भनेर स्वयंम घोषणा गर्न बाध्य हुने चेतावनी दिए ।

भरतपुरमा पुनः मतदान गरे नेपालभर अर्को चुनाव हुन नसक्ने उनको चेतावनी थियो । उनले भने, ‘यो कुरा बुझिराखे हुन्छ भन्दै उनले भने, हार्न लागेपछि ५ वटा मतपत्र च्यातेपछि पुनः मतदानमा जाने हो भने निर्वाचन आयोगले सधैं भरी चुनाव मात्र गरेर बस्नुपर्नेछ । ५ वर्ष चुनाव गर्नुपर्ने स्थिति हुनेछ ।’

एमालेको अवरोधपछि संसदको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।