इच्छुकको आदर्श वर्गचेतनाको आदर्श हो, त्यो खलबलिएको छैन : किरण

इच्छुकको आदर्श वर्गचेतनाको आदर्श हो, त्यो खलबलिएको छैन : किरण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले नेपाली जनवादी क्रान्तिको साँचो आदर्श अझै नखलबलिएको बताएका छन् ।

महान् सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसको अवसरमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले इच्छुक जस्ता सहिदको आदर्शबाट सबैले सिक्नुपर्ने बताए ।

उनले नेपालका माओवादीहरु विभिन्न धारामा विभाजित भएको प्रसंग उल्लेख गर्दै विचारमा आएको स्खलनका कारण आन्दोलन विभाजित हुन पुगेको र नेपालमा जनवादी क्रान्तिलाई पूर्णता दिनका लागि आफूहरु लागिपरेको स्पष्ट पारे ।

केहीले निरपेक्ष एकताको कुरा गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘एकताका लागि हामी तयार नै थियौं, तर किन र के का लागि एकता गर्ने, क्रान्तिका लागि कि बाँडीचुडी खानका लागि ? त्यस्तो एकताको पक्षमा हामी छैनौं ।’

उनले नेपालमा जनवादी क्रान्ति पूरा गर्नका लागि वर्गदुश्मनलाई ठोस गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘इच्छुकको आदर्श भनेको वर्ग चेतनाको आदर्श हो । त्यसको मर्म भुल्नेहरुले उहाँलाई सम्मान गरेको ठहर्दैन । क्रान्तिका लागि वर्ग दुश्मन ठोस गर्नुपर्छ । काँग्रेस–एमालेजस्ता प्रतिक्रियावादी शक्तिसँग तालमेल गरेर क्रान्ति कसरी हुन्छ ? पहिले वर्गदुश्मन ठोस गरौं, अनी बहस गरौं ।’

माओवादी आन्दोलनबाट आएको ठूलो पंक्ति नै क्रान्तिको आदर्शबाट बिचलित भएको र वर्ग दुश्मन छुट्याउँन नसक्दा क्रान्तिको गतिमा अवरोध उत्पन्न भएको उनको भनाई थियो ।

देशका प्रतिक्रियावादी/संसदवादी शक्ति विरुद्ध अबको आन्दोलनलाई केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । इच्छुकका आदर्शलाई पछ्याउनु नै उनीप्रतिको सच्चा श्रद्धान्जलि हुने उनको भनाई थियो ।

कार्यक्रममा ‘इच्छुक स्मृति पुरस्कार–२०७४’ कवि अनिल श्रेष्ठ र पत्रकार नविन विभासलाई संयुक्त रुपमा प्रदान गरिएको छ । इच्छुक स्मृति पुरस्कारको राशी एक लाख रहेको छ ।

यसैगरी इच्छुक प्रतिभा पुरस्कार साहित्यतर्फ खोटाङकी पञ्चकुमारी परियारलाई दिइएको छ भने कलातर्फको इच्छुक प्रतिभा पुरस्कार सिन्धुपाल्चोक चौताराका च्याङ्वा योन्जन ‘अनिस’ लाई प्रदान गरिएको छ । यी दुवै पुस्कारको राशी २५÷२५ हजार रहेको छ ।

इच्छुक स्मृति पुरस्कार पाएका अनिल श्रेष्ठले भने आफूले पाएको ५० हजार राशीको पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानमा इच्छुक संग्रहालय निर्माणका लागि प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा इच्छुककी जीवन संगिनी तक्मा केसी, छोरीसहित साहित्यिक क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।