काठमाडौं । जनपक्षीय कवि, सांस्कृतिककर्मी तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को १५ औं स्मृति दिवसका अवसरमा राजधानीमा शनिबार बिहान संयुक्त प्रभातफेरी गरिएको छ ।

काठमाडौंको नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी माइतघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटीमा आबद्ध पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरी पछि आयोजित कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली पत्रकारिता जगतले जनपक्षीय पत्रकार कृष्ण सेन ‘इच्छुक’ लाई कहिल्यै विर्सन नसक्ने बताए ।

देशमा लोकतन्त्र र गणतन्त्रको स्थापना तथा प्रेस स्वतन्त्रताका पक्षमा सेनले पु¥याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरे ।

पत्रकार सेनकी जीवन संगिनी तक्मा केसीले सेनका हत्यारालाई कारबाही गर्न थप आवाज उठाउनुपर्ने र संगठित भएर जानुपर्नेमा जोड दिइन् ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले कृष्ण सेन ‘इच्छुक’ महान आदर्शबाट कहिल्यै पनि बिचलित नहुने बताउँदै सेनका सपना साकार पार्नका लागि संगठन सधैं क्रियाशील रहने उल्लेख गरे ।

सेनलाई सम्झिइरहँदा आफूले आफैंलाई हेर्नुपर्ने र समीक्षा गर्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै उनले सेनको आदर्शबाट बिचलित हुनेहरु क्रान्तिकारी बन्न नसक्ने र त्यो महान आदर्श र लक्ष्यलाई चुम्न नसक्ने उल्लेख गरे ।

प्रेस सेन्टरका उपाध्यक्ष गोबिन्द आचार्यले सेनको आदर्श रक्षाका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने, प्रेस सोसाइटीका केशव अर्याल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डन्ड गुरुङ लगायतले सेनको व्यक्तित्व र पत्रकारितामा सेनको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले स्वर्गिय पत्रकार कृष्ण सेन इच्छुककी पत्नी तक्मा केसीलाई प्रशंसा पत्र सहित दोसल्ला ओडाएर सम्मान गरे ।

कार्यक्रमा जनयुद्धको बेला सिन्धुलीबाट बेपत्ता पारिएका पत्रकार चित्रनारायण श्रेष्ठकी पत्नी सावित्री श्रेष्ठ र जनयुद्धका घाइते पत्रकार दिपेन्द्र रावललाई कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार २०७४ समेत प्रदान गरिएको थियो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले इच्छुक स्मृति दिवसका अवसरमा राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर