काठमाडौं । माओवादी धाराका पत्रकारहरुले संयुक्त रुपमा कवि तथा पत्रकार कृष्ण सेन “इच्छुक” को स्मृति दिवस संयुक्त रुपमा मनाएका छन् ।
इच्छुकको १५ औं स्मृति दिवसको अबसरमा शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट माइतीघरसम्म प्रभातफेरी र कोणसभा सम्पन्न गरिएको छ । प्रभातफेरीमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटीमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रभातफेरी पछि आयोजित कोण सभामा बोल्दै कृष्णसेनकी जीवन संगिनी तक्मा केसीले जनपक्षीय पत्रकारहरुले इच्छुकका सपना र आदर्श विर्सन नहुने भन्दै आमूल परिवर्तनका पक्षधरहरुले इच्छुकका सपना र आर्दशलाई जीवन पद्धतिमा ढाल्नुपर्ने आवश्यकता औल्याइन् । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली पत्रकारिता जगतले जनपक्षिय पत्रकार कृष्ण सेनलाई कहिल्यै विर्सन नसक्ने र नहुने बताए । उनले मुलुकमा लोकतन्त्र र गणतन्त्रको स्थापना तथा प्रेस स्वतन्त्रताको लागि कृष्ण सेनले पु¥याउनु भएको योगदान सँधै स्मरणीय रहने बताए ।
कार्यक्रममा प्रेस सेन्टरका उपाध्यक्षहरु गोविन्द आचार्य र बलराम थापा, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने, प्रेस सोसाइटीका अध्यक्ष केशव अर्याल, फोनिज अध्यक्ष दण्ड गुरुङ लगायतले बोलेका थिए ।
प्राय बक्ताहरुले कृष्णसेनका हत्याराहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने जोडदार माग गरेका थिए । कृष्णसेनले नै आदर्श मानेका नेताहरु पटक पटक प्रधानमन्त्री र मन्त्री हुँदा पनि इच्छुकका हत्यारामाथि कारबाही नहुनु विडम्बना भएको भन्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष राउतले खेद प्रकट गरे । उनले नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना भएमात्र इच्छुकमाथि सच्चा सम्मान र सच्चा श्रद्धाञ्जली हुने भन्दै सबै धाराका जनपक्षीय पत्रकारहरुलाई यस दिशामा अगाडि बढ्न आव्हान पनि गरे ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले स्वर्गिय पत्रकार कृष्ण सेन इच्छुककी पत्नी तक्मा केसीलाई प्रशंसा पत्र सहित दोसल्ला ओडाएर सम्मान गरे भने जनयुद्धको बेला सिन्धुलीबाट बेपत्ता पारिएका पत्रकार चित्रनारायण श्रेष्ठकी पत्नी सावित्री श्रेष्ठ र जनयुद्धका घाइते पत्रकार दिपेन्द्र रावललाई कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट सम्मान गरियो ।

































