काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले निर्वाचन उपयोगमार्फत पार्टीले लिएको भण्डाफोरको नीतिमा आंशिक रुपमा सफल भएको बताएका छन् ।
नेवाः राज्य कार्यालय कुपण्डोलमा शुक्रबार उपत्यकाका उम्मेदवारलाई बधाई दिन आयोजित अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै उनले पार्टीले चुनावको उपयोगमार्फत प्रतिगामी संविधानको भण्डाफोर तथा जनअधिकार स्थापनाका लागि लिएको कार्यनीति कतिपय ठाउँमा प्रभावकारी रुपमा अघि बढेको र केही स्थानमा त्यसले गति लिन नसकेको उल्लेख गरे ।
अध्यक्ष किरणले संसदीय परिपाटीमा हुने निर्वाचनमा क्रान्तिकारीले भण्डाफोरको नीति लिएर निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै यस्ता निर्वाचनमा क्रान्तिकारीहरुले मूलभुत रुपमा जित्ने अवस्था कमजोर नै हुने उल्लेख गरे ।
उनले अहिले आएको परिणामले क्रान्तिकारीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको स्पष् पार्दै उनले भने, ‘निर्वाचनमा गएर हामीले धेरै कुरा सिकेका छौं, हारेका सिपाहीले धेरै सिक्छन् भन्ने लेनिनको भनाईलाई आत्मसात गर्नु जरुरी छ ।’
पार्टीका हरेक योजना कार्यान्वयनका लागि संगठन चाहिने उल्लेख गर्दै उनले संगठनलाई बलियो बनाउन सकेमात्रै निर्वाचनलाई उपयोग या बहिस्कार प्रभावकारी बनाउन तथा क्रान्तिलाई अघि बढाउन सकिने बताए ।
उनले पार्टीका तर्फबाट उम्मेदवार बनेर जनताको घरघरमा पुग्ने उम्मेदवारहरुलाई धन्यवाद ज्ञापन समेत गरे । उनले उम्मेदवारहरुलाई चुनावमा विजय वा पराजयलाई नहेरी पार्टीका काममा निरन्तर लाग्न निर्देशन समेत दिए ।
रुसमा लेनिनको पार्टीले संविधान सभाको निर्वाचनमा पराजय बेहोरेको उदाहरण दिँदै उनले संसदीय चुनावले विजय वा पराजयको निर्धारण नगर्ने स्पष्ट पारे ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य तथा नेवाः राज्य संयोजक दिनेश शर्मा सागरले निर्वाचनमा जित हार भन्दा पनि जनताको घरदैलोमा आफ्ना एजेन्डालाई पु¥याउन सक्यौं या सकेनौं भन्ने कुरालाई मूल्यांकनको मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका काठमाडौं र ललितपुरका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर÷अध्यक्षका उम्मेदवारहरुले निर्वाचन अभियानका क्रममा देखिएका चुनौतीसहितको रिपोर्टिङ राखेका थिए । सो कार्यक्रममा गोर्की श्रेष्ठ, शारदा महत, विष्णु कार्की, बद्री चापागाईं, केशर प्रधान, देवीप्रसाद अधिकारी, श्याम केसी, विजय खड्गी, अर्जुनलाल श्रेष्ठ, श्रीकृष्ण सुलुलगायतले प्रनिधिमूलक रिपोर्टिङ राखेका थिए । उक्त कार्यक्रमको अध्यक्षता पार्टीका सचिवालय सदस्य तथा देजमोका कार्यालय सदस्य पवनमान श्रेष्ठले गरेका थिए भने संचालन पार्टी तथा देजमोका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले गरेका थिए ।